• २० वैशाख २०८१, बिहिबार

प्राथमिकतामा संविधान, लोकतन्त्र र सङ्घीयता कार्यान्वयन

कांग्रेसको घोषणापत्र आज सार्वजनिक हुँदै

blog

नेपाली कांग्रेस पार्टी कार्यालय । फाइल तस्बिर

ललितपुर, कात्तिक ६ गते । नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ। प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले साँझ घोषणापत्र सार्वजनिक गर्नुहुने भएको हो।

घोषणापत्र तयारी समितिका सदस्य गेजा शर्मा वाग्लेका अनुसार सभापति देउवाले डिजिटल प्रविधिमार्फत र अन्य पदाधिकारी पार्टी कार्यालय सानेपामा उपस्थित भएर घोषणापत्र सार्वजनिक गर्नुहुनेछ।

उहाँका अनुसार, निर्वाचनमा संविधान कार्यान्वयन, लोकतन्त्र सुदृढीकरण र सङ्घीयताको प्रभावकारी कार्यान्वयनलाई मुख्य मुद्दा बनाउने भएको छ। कांग्रेसले तयार गरेको घोषणापत्रमा अस्थिर राजनीतिको अन्त्य गर्दै संविधान र लोकतन्त्र रक्षार्थ गर्नुपरेको आन्दोलनलाई ध्यानमा राखेर स्थायित्वको मुद्दालाई प्राथमिकता दिइएको छ।

यसअघि, असोज २८ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्री एवम् घोषणापत्र तयारी समिति संयोजक विश्वप्रकाश शर्माले घोषणापत्रको मस्यौदामा प्रस्तुत गर्नुभएको थियो। बैठकबाट मस्यौदा अनुमोदन भएपछि अन्य सुझावलाई समावेश गरेर घोषणापत्र तयार गरिएको छ।

कांग्रेसले संसदीय शासन प्रणालीमाथि हुनसक्ने खतराका बारेमा दृष्टिकोण अगाडि सारिएको छ। कांग्रेसका सहमहामन्त्री जीवन परियारले ‘निरन्तरतामा नवीनता’ भनिएको घोषणापत्रमा संविधान र लोकतन्त्रको रक्षाको प्रतिबद्धता व्यक्त गरिएको बताउनुभयो।

उहाँले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकारका संसदीय शासन प्रणालीविरुद्ध विभिन्न गतिविधिलाई ध्यानमा राखेर कांग्रेस नेतृत्वको सरकारले जारी गरेको संविधानको अपनत्व ग्रहण गर्ने गरी घोषणापत्र बनाइएको बताउनुभयो।

उहाँका अनुसार, घोषणापत्रमा २०४८ सालपछि कांग्रेसले सुरु गरेका महत्त्वपूर्ण कामहरू सङ्क्षिप्त रूपमा समावेश गरिएको छ। उहाँले पाँच वर्षकै लागि सरकार सञ्चालन गर्ने लक्ष्यका साथ घोषणापत्र आउने बताउनुभयो।

समुन्नतिको खाका

घोषणापत्र तयारी समिति सदस्य अर्थविद् डा. स्वर्णिम वाग्लेले घोषणापत्र तीन खण्डमा निर्माण भएको जानकारी दिनुभयो। उहाँले स्थानीय तह निर्वाचनकै निरन्तरताको रूपमा आउने घोषणापत्रमा पहिलो खण्डमा समसामयिक विषयमा दृष्टिकोण रहने बताउनुभयो।

उहाँका अनुसार, उक्त खण्डमा गणतन्त्र, संविधान र सुशासनका बारेमा कांग्रेसको दृष्टिकोण आउनेछ। उहाँले कांग्रेस नेतृत्वको सरकार आएपछि कोभिड डिप्लोमेसी र संविधानलाई फेरि ट्र्याकमा ल्याइएको विषय आउने बताउनुभयो।

उहाँले भन्नुभयो, “ठूला रूपान्तरणका बारेमा कांग्रेसले लिएको अडान र सफलता तथा नागरिकता विधेयकसहित संसद् पुनर्बहाली भएपछि जीवन्त तुल्याउनका लागि पारित दर्जनौँ विधेयकका बारेमा घोषणापत्रमार्फत कांग्रेसको धारणा आउने छ।”

डा.वाग्लेले दोस्रो खण्डमा समुन्नत नेपालको मार्गचित्र प्रस्तुत गर्ने बताउँदै लोकतान्त्रिक प्रणालीभित्रै समुन्नतिको मार्गचित्रको सैद्धान्तिक आधार प्रस्तुत गर्ने र लोकतान्त्रिक व्यवस्थाको शुद्धीकरण तथा सुशासनको मुद्दा उठान गरिने जानकारी दिनुभयो।

उहाँका अनुसार, फराकिलो आर्थिक सामर्थ्य र समन्यायिक समाज र नेपालको सांस्कृतिक सहअस्तित्व पनि सोही खण्डमा हुनेछ। जलवायु परिवर्तन, वन वातावरण र विपद् व्यवस्थापनलाई प्राथमिकता दिइएको घोषणापत्रमा सार्वभौमिक समानता र अन्तर्राष्ट्रिय भूमिकाको बारेमा कांग्रेसको दृष्टिकोण प्रस्तुत गरिएको छ।

तेस्रो खण्डमा क्षेत्रगत प्राथमिकता राखिएको छ। डा. वाग्लेका अनुसार मानव संशोधन वा शिक्षा, स्वास्थ्य र पोषण, जलवायु परिवर्तन, ऊर्जा तथा भौतिक पूर्वाधारसहित १० वटा विषयमा उक्त खण्डमा राखिएको छ। उहाँले सोही खण्डमा वित्तीय व्यवस्थाको प्रक्षेपण पनि गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “अग्रगामी आर्थिक रूपान्तरणका विषयमा घोषणापत्रमा प्रस्ट विषय आएका छन्।”

समिति सदस्य गेजा शर्मा वाग्लेले घोषणापत्रमा राष्ट्रियता, राष्ट्रिय सुरक्षा नीति र विदेश नीति राष्ट्रिय सहमतिको दस्ताबेज हुनुपर्ने कांग्रेसको दृष्टिकोण आएको बताउनुभयो। उहाँले भन्नुभयो, “तत्कालीन नेकपा सरकारको अन्तर्राष्ट्रिय सम्बन्ध असान्दर्भिक थियो। त्यसकारण वैदेशिक लगानी आकर्षित गर्न सकेन। कांग्रेस नेतृत्वको सरकार बनेपछि कूटनीतिक सम्बन्ध राम्रो बनेको छ। यस विषयमा कांग्रेसको दृष्टिकोण, प्राथमिकता र सिद्धान्त प्रस्तुत घोषणापत्रमार्फत प्रस्तुत गरिनेछ।”

मार्गचित्र मिल्छ

कांग्रेस केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेलले कांग्रेसको मार्गचित्र अरू राजनीतिक दलसँग मिल्ने बताउनुभयो। उहाँले सैद्धान्तिक र व्यावहारिक रूपमा नेकपा (माओवादी केन्द्र) र सत्ता गठबन्धनमा भएका दलहरूका कार्यक्रमहरू संविधान कार्यान्वयन, सङ्घीयतालाई सबल बनाउने र आर्थिक विकास रहेकाले कांग्रेसको घोषणापत्र कार्यान्वयन हुने बताउनुभयो।