• १९ असोज २०८१, शनिबार

सुनचाँदी पसलमा भीड

blog

काठमाडौँ, कात्तिक ६ गते । चाडपर्वमा सुनचाँदीको माग निकै धेरै हुन्छ, त्यसमा पनि तिहारमा बढी हुने गर्छ । तिहारमा लक्ष्मी पूजाअघिका तीन/चार दिनमा सुनचाँदीका गरगहना र सामानको माग उच्च हुने व्यवसायीले बताएका छन् ।

यस वर्ष सोमबार लक्ष्मीपूजा गरिँदै छ । सुनचाँदी र तामा समान किनेर लक्ष्मीपूजाका दिन पूजा गर्ने प्रचलनअनुसार अहिले यी समानका पसलमा भीड लाग्ने गरेको छ । 

शनिबार एक हजार केजी चाँदी र ३५ केजी सुनका गहना र सामान खरिदबिक्री भएको सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । 

अन्य समयको तुलनामा तिहारमा सुनको खपत दोब्बर र चाँदीको खपत तेब्बर हुने गर्छ । एक साताअघिदेखि नै सुनचाँदीका गहनाको माग बढ्ने भए पनि तिहारको तीन दिन बढी कारोबार बढी हुने व्यवसायीको भनाइ छ ।  

मुख्य चाडपर्व, तीज, दशैँ र तिहारसँगै बिहेको सिजनमा बजारमा सुनको खपत धेरै हुने गर्छ । 

सुनचाँदीको अभाव

आयात कम हुँदा बजारमा सुनचाँदीको अभाव भएको छ । चाडपर्वका बेला बजारमा सुनचाँदीको माग धेरै भए पनि आपूर्ति थोरै भएकाले अभाव सिर्जना भएको छ । 

तिहारमा गरगहनाका लागि र लक्ष्मीपूजा गर्न सुनचाँदीको माग धेरै हुने भए पनि आयात कम हुँदा मागअनुसार आपूर्ति हुन नसकेको नेपाल सुुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बजारमा सुनको अभाव हुँदा मागअनुसार वितरण गर्न नसकिएको बताउनुभयो । “दुई÷तीन दिनअघिदेखि सुनचाँदीका सामानको माग उच्च छ, बजार मागअनुसार आपूर्ति न्यून हुँदा ग्राहकको आवश्यकताअनुसार सामान उपलब्ध गराउन सकिएको छैन,” शाक्यले भन्नुभयो । 

छ महिनाअघिदेखि सुन आयातमा कडाइ हुँदा व्यवसायीसँग भएको सुनको मौज्दात सकिएकाले अहिले बजार व्यवस्थापन गर्न कठिन भएको उहाँले जानकारी दिनुभयो । 

अहिले बजारमा दैनिक ४० देखि ५० केजी सुनको माग रहेकोमा आपूर्ति १० केजी मात्र रहेको उहाँले जानकारी दिनुभयो । सामान्य अवस्थामा चाँदीको माग दैनिक दुई सयदेखि तीन सय केजी चाँदीको माग हुने गरेकोमा अहिले बढेर एक हजार केजीसम्म चाँदीको माग पुगेको जनाइएको छ ।

बजारमा सुनचाँदीको अभाव हुँदा माग बढे पनि कारोबार बढ्न नसकेको महासङ्घले जनाएको छ । एक साताअघि महासङ्घले बजारमा सुनको अभाव भएपछि आयात बढाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष ज्ञापनपत्रसमेत बुझाएको थियो ।

सरकारले विदेशी मुद्रा सञ्चितिमा प्रभाव पारेको भन्दै गत वैशाखदेखि सुनको आयातमा कडाइ गरेर दैनिक १० केजीमा झारेको थियो । यसअघि दैनिक २० केजी सुन आयात हुँदै आएको थियो । वाणिज्य बैङ्कले सुनको आयात गर्दै आएका छन् । बजारमा प्रतितोला सुनको मूल्य ९४ हजार चार सय रुपियाँ र चाँदी प्रतितोला एक हजार २१५ रुपियाँ रहेको छ । 

दुई महिनामा झन्डै चार अर्बको सुनचाँदी आयात

भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको दुई महिना (साउन र भदौ)मा तीन अर्ब ६५ करोड तीन लाख ६३ हजार रुपियाँको ५११ केजी सुन आयात भएको छ । यस्तै सो अवधिमा १३ करोड २५ लाख ३२ हजार रुपियाँको एक हजार ४४५ केजी चाँदी आयात भएको छ । अस्टे«लिया, बहराइन, चीन, फ्रान्स, हङकङ, कोरियालगायतका देशबाट सुनचाँदी आयात हुने गर्छ ।