• १९ असोज २०८१, शनिबार

विद्युतीय भुक्तानीको विस्तार तीव्र

blog

काठमाडौँ, कत्तिक ६ गते । नेपालमा नगदरहित कारोबार तीव्र रूपले विस्तार भइरहेको छ । सजिलो इन्टरनेट पहुँच र बढ्दो विद्युतीय साक्षरता तथा नेपाल राष्ट्र बैङ्कलगायत विभिन्न वित्तीय संस्थाकै प्रवद्र्धनात्मक कार्यक्रमका कारण पछिल्लो समय भुक्तानीमा मोबाइल बैङ्किङ, कनेक्ट आईपीएस, वालेट तथा क्यूआर कोडजस्ता विभिन्न विधि प्रयोग बढेको छ । 

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यस वर्षको भदौमा मात्र दुई खर्ब ९२ अर्ब ५४ करोड ५० लाख रुपियाँ कनेक्ट आईपीएसमार्फत कारोबार भएको छ । 

अघिल्लो वर्षको भदौमा दुई खर्ब ३२ अर्ब ५४ करोड ३० लाख रुपियाँको कारोबार भएको थियो । २०७९ भदौमा कनेन्ट आईपीएसमार्पmत ३८ लाख २१ हजार २७७ वटा कारोबार भएका थिए । अघिल्लो वर्षको भदौमा ३२ लाख २४ हजार १७५ वटा कारोबार कनेक्ट आईपीएसबाट भएका थिए । 

मोबाइल बैङ्किङमार्पmत यस वर्षको भदौमा एक खर्ब ४६ अर्ब १४ करोड ३० लाख रुपियाँको कारोबार भएको छ । जुन अघिल्लो वर्षको भदौभन्दा दोब्बर हो । २०७८ भदौमा ७४ अर्ब ३१ करोड रुपियाँको कारोबार मोबाइल बैङ्किङबाट भएको थियो ।

पछिल्लो समय तीव्र प्रगति भएको विद्युतीय मध्यममा क्यूआर कोड पनि परेको छ । यो प्रयोगकर्ताका हिसाबले तीन गुणा र रकमका हिसाबले एक वर्षमा साढे दुई गुणा बढेको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाउँछ । २०७९ भदौमा क्यूआर कोडमार्फत १५ अर्ब दुई करोड ८० लाख रुपियाँ भुक्तान भएको छ । २०७८ भदौमा पाँच अर्ब ८५ करोड ७० लाख रुपियाँ थियो । यो वृद्धि भनेको २.५६ गुणा हो ।

२०७८ भदौमा कुल १५ लाख ७७ हजार ५६१ कारोबार क्यूआरमार्फत भएकामा २०७९ भदौमा ५२ लाख रुपियाँ हजार ८०४ वटा भएको देखिन्छ । यो वृद्धि भनेको तीन गुणाभन्दा धेरै (३२९ प्रतिशत) हो । २०७८ असारमा आठ लाख ५५ हजार कारोबार भएका थिए । राष्ट्र बैङ्कले क्यूआर कोड भुक्तानीको आँकडा राख्न थालेको पनि २०७८ असारदेखि हो ।

ई–सेवा खल्ती आईएमई पे, फोन–पेजस्ता डिजिटल वालेटबाट गत वर्षको भदौमा १७ अर्ब ६३ करोड ५० लाख रुपियाँको कारोबार भएको थियो । यो २०७८ भदौमा १४ अर्ब ४२ करोड ७० लाख रुपियाँको थियो ।

आईपीएस र इन्टरनेट बैङ्किङमा गिरावट

आईपीएसमार्पmत २०७८ भदौमा एक खर्ब ६८ अर्ब ९५ कोड ६० लाख रुपियाँ कारोबार भएकामा यो भदौमा घटेर एक खर्ब ५८ अर्ब ११ करोड ८० लाखमा सीमित भएको छ । आईपीएसको कारोबार सङ्ख्या पनि अघिल्लो भदौको तुलनामा यो भदौमा ५१ हजार २८८ ले कम कारोबार भएको छ । 

राष्ट्र बैङ्कको विवरणअनुसार इन्टरनेट बैङ्किङमार्फत हुने कारोबार पनि घटेको छ । यस वर्षको भदौमा १२ अर्ब १९ करोड ३० लाख रुपियाँको कारोबार भएको छ । २०७८ भदौमा यसको प्रयोग गरी १३ अर्ब ५० करोड रुपियाँ थियो । इन्टरनेट बैङ्किङको कारोबार रकम एक अर्ब ३१ करोड रुपियाँले कमी आएको छ ।