बुटवल, कात्तिक ५ गते । रुपन्देहीको निर्वाचन क्षेत्र नंं. ५ अहिले चर्चाको केन्द्रमा छ । उम्मेदवारी दिने क्रममा नेकपा (एमाले)को असावधानीका कारण राष्ट्रिय सभामा नेकपा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले पद मात्रै गुमाउनुभएन उम्मेदवार पनि बन्न पाउनुभएन ।
एमालेले पालैपालो एउटै क्षेत्रबाट प्रतिनिधि सभामा दुई जनालाई टिकट दिएपछि राष्ट्रिय सभाका प्रमुख सचेतक रहनुभएका खिमलाल भट्टराईले उम्मेदवारी गुमाउनुभयो । एमालेबाटै टिकट पाउनुभएका वासुदेव घिमिरेले भट्टराईले भन्दा करिब डेढ घण्टा अघि उम्मेदवारी मनोनयन गरेपछि निर्वाचन आयोगले पहिले उम्मेदवारी दिएका घिमिरेको उम्मेदवारी कायम गर्यो ।
एमालेका उम्मेदवारको उतारचढावका बीच अन्ततः रुपन्देही क्षेत्र नं. ५ को चुनावी प्रतिस्पर्धा रोचक बन्ने भएको छ । नेपाली काङ्ग्रेसबाट तीन पटक निर्वाचन जितिसक्नुभएका भरतकुमार शाहसँग घिमिरेको प्रतिस्पर्धा हुने भएको छ । शाह र घिमिरे दुवै जना निर्वाचित पर्व जनप्रतिनिधि भएका कारण चिरपरिचित उम्मेदवार हो ।
दुई नेता नै विकासप्रेमीकाे रूपमा परिचय बनाएका उम्मेदवार भएपछि रुपन्देही ५ अहिले चर्चाको केन्द्रमा छ । काँग्रेसका भरतकुमार शाहले यसअघि २०७४ को निर्वाचनमा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्रबाट चुनाव लडेका डिलाराम आचार्यलाई करिब १३ हजार मतान्तरले पराजित गर्नुभएको थियो ।
शाह त्यसअघिका दुई वटा निर्वाचनमा पनि फराकिलो मतान्तरले विजय हुनुको एउटै कारण थियो– निर्वाचन क्षेत्रमा विकासको लहर नै ल्याउनु । अहिले पनि शाहको त्यो पुरानो पहिचान अहिले पनि कायमै छ । उता तिलोत्तमा नगरपालिकाको प्रमुख हुँदा तिलोत्तमालाई दुई पटक देशकै उत्कृष्ट नगरपालिका घोषणामा वासुदेव घिमिरेको महत्त्वपूर्ण भूमिका छ ।
आफ्नो क्षेत्रमा विकास प्रेमी नेताको पहिचान बनाउँदै तीन पटक निर्वाचन जितेका काँग्रेसका साहसँग प्रतिस्पर्धा गर्न एमालेका घिमिरेलाई चुनौती छ तर घिमिरे पनि विकासप्रेमी नेताको रूपमा चिनिने हुँदा यहाँ दुई उम्मेदवारबीचको प्रतिस्पर्धा रोचक बन्ने आकलन गरिएको छ ।