• २२ असोज २०८१, मङ्गलबार

युगस्रष्टा महाकवि देवकोटा

blog

प्रतिभापुञ्ज महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली वाङ्मयका प्रज्वल आलोक हुनुहुन्छ, विश्वकै एउटा महान् प्रतिभा हुनुहुन्छ । आफ्नो सम्पूर्ण जीवन उहाँले नेपाल र नेपालीको सेवा तथा नेपाली साहित्यको श्रीवृद्धिका लागि समर्पित गर्नुभयो । साथै शान्ति, एकता र विश्वबन्धुत्वको भावना विश्वभरि फैलाउन प्रयत्नशील रहनुभयो । 

विराट् काव्य प्रतिभाका धनी नेपाली वाङ्मयका प्रज्वल आलोक, विश्वकै एउटा महान् प्रतिभा, युगद्रष्टा एवं युगस्रष्टा महाकवि देवकोटा (वि.सं. १९६६–२०१६) स्वतन्त्रता तथा समानताका हिमायती, प्रजातन्त्रप्रेमी तथा मानवतावादी कवि हुनुहुन्थ्यो । नेपाली काव्य–साहित्यका सगरमाथा महाकवि देवकोटा हाम्रो राष्ट्रका गौरव हुनुका साथै अन्तर्राष्ट्रिय साहित्य जगत्का एक प्रतिभाशाली विद्वान्को रूपमा चिनिने एउटा प्रख्यात विभूति हुनुहुन्थ्यो ।

वास्तवमा एउटा असल कवि युगद्रष्टा र भविष्यस्रष्टा हुन्छ । यस मान्यताको साकार रूप हामी महाकवि लक्ष्मीप्रसादमा ज्वलन्त रूपमा हेर्न सक्दछौँ । भूमानवका मङ्गलपथलाई आलोकमय बनाउनका लागि नेपाली वाङ्मयका वरद्पुत्र महाकवि लक्ष्मीप्रसाद देवकोटाले मृत्युपर्यन्त रोग, भोक र शोकसँग सङ्घर्षमय जीवन बिताउँदा पनि आफ्नो कविकर्मलाई पूर्ण रूपमा सार्थक तुल्याउनु भयो । ‘साहित्यमा शिवत्व’ शीर्षक निबन्धमा देवकोटाले साहित्यको उद्देश्यबारे स्पष्ट भन्नुभएको छ, “यसको (साहित्यको) अस्तित्वको समर्थन नै सामाजिक चक्षुको उन्मिलन, हृदयको विकास र त्यसद्वारा बुद्धिको उद्बोधनमा अडेको छ, यो युगको प्रतिविम्ब हो ।” 

साहित्य र समाजमा गहिरो र अटुट सम्बन्ध हुन्छ । तसर्थ सामाजिक दायित्वप्रति सचेतता नै असल साहित्यकारको पहिचान हुन्छ । साहित्यलाई जीवनका पथप्रदर्शकको रूपमा लिनुपर्छ, साहित्यले सामाजिक, राष्ट्रिय, अन्तर्राष्ट्रिय समस्याहरू र सङ्घर्षहरूलाई सशक्त वाणी दिनुपर्छ र समस्या–समाधानका लागि बाटो देखाउनुपर्छ । कलामा, साहित्यमा सत्यम्, शिवम्, सुन्दरम्का साथै शिवम् पनि अवश्य अभिव्यक्त हुनुहुपर्छ । यस सन्दर्भमा महाकवि देवकोटाले वि.सं. २०१४ मा साहित्यजगत्लाई दिनुभएको सन्देश अत्यन्त उपयोगी र अनुकरणीय सिद्ध भएको देखिन्छ, “अब जनताको ध्यान बढी उच्चस्तरीय मूल्यतर्फ र बढी व्यापक क्षितिजतर्फ आकर्षित गर्नको निम्ति लेखकले बढी फलदायी ढङ्गबाट काम गर्नुपरेको छ । उसले (लेखकले) जनतामा भिज्नु पर्छ, जनताबाट सिक्नुपर्छ । समस्त मानव जातिको जीवनबोधका लागि र सबै वर्तमान समस्या तथा घटनाको अनुबोधका लागि आत्मा खोतल्नु पर्छ ।’ 

महाकवि देवकोटा शान्तिका योद्धा हुनुहुन्थ्यो, स्वतन्त्रता र सामनताका पुजारी हुनुहुन्थ्यो । त्यसैले शान्ति खलबलाउने र विश्वलाई युद्धको विनाशमा डुबाउन खोज्ने शक्तिप्रति निर्भीकतापूर्वक आफ्नो असन्तोष र रोष अभिव्यक्त गर्दै देवकोटाले स्पष्ट रूपमा भन्नुभएको छ कि सामन्तवाद र साम्राज्यवाद तथा उपनिवेशवाद हाम्रो देशलाई मात्र होइन, एसियालाई नै पूर्ण हानिकारक छ, हामीलाई अन्धकारको गर्भमा पु¥याउने शत्रु हुन् । अतः यस राष्ट्रिय, अन्तर्राष्ट्रिय सङ्घर्षलाई समाधानतर्फ लैजाने दिशामा साहित्यकारलाई आह्वान गर्दै महाकवि देवकोटाले भन्नुभएको छ, “जीवनको निम्ति र विनाशको विरुद्ध, सहअस्तित्वको निम्ति र सैनिक आक्रमणको विरुद्ध, राष्ट्रिय स्वाधीनताको निम्ति र उपनिवेशवाद र साम्राज्यवादको विरुद्ध आधुनिक मानव जातिको महान् सङ्घर्षले जागरुक जनतामा शक्तिशाली समर्थन पाउन थालेको छ । यस अवस्थामा साहित्य माथिल्लो वर्गको सोखको विषय बन्न सक्दैन । अब यो समाज र जनताको हातमा एउटा ठूलो हतियार भएको छ ।” 

वस्तुतः साहित्य जीवनको सुन्दर अभिव्यक्ति हो, साहित्य मानवीय मूल्यको उद्बोधक शक्ति हो । जसले हाम्रो जीवनमा प्रेरणा, उल्लास र प्रकाश दिन्छ । त्यसैले देवकोटाले ‘साहित्य जीवनका लागि’ नै हुनुपर्छ भन्ने कुरामा पूर्ण विश्वस्त हुँदै भन्नुभएको छ, “जनता नै देश हो, जनताको जीवन नै साहित्यको मूल हो ।”

महाकवि देवकोटा दूरदर्शी हुनुहुन्थ्यो । उहाँले आफ्नो सुदूरव्यापिनी दृष्टिबाट भविष्यमा आउने समस्याहरूलाई पनि नजिकबाट देख्नुभएको, बुझ्नुभएको थियो । सूक्ष्म र तीक्ष्ण चक्षुबाट उहाँका दूरदर्शी कवि हृदयले आफ्नो युगभन्दा धेरै अगाडि बढेर विचार गरेको, चिन्तन गरेको हामी पाउँछौँ । 

महाकवि देवकोटा जीवन पर्यन्त प्रजातन्त्रको प्राप्ति र रक्षाका लागि सङ्घर्षरत रहनुभएको थियो । देशको सुरक्षा, जनताको हित, स्वतन्त्रता र समानताको संरक्षणका लागि उहाँ सधैँ चिन्तित हुनुहुन्थ्यो । प्रजातन्त्र प्राप्त भए पनि उहाँ प्रजातन्त्रको स्थायित्वप्रति बेचैन हुनुहुन्थ्यो किनकि तत्कालीन राजनीतिक नेताहरूको कार्यव्यवहारप्रति उहाँ सन्तुष्ट हुनुहुन्थेन । प्रजातन्त्रको सुरक्षा र संवद्र्धनका लागि चिन्तित देवकोटाले आफ्नो जीवनका उत्तराद्र्धमा जुन निडर, तटस्थ र चिन्तनशील अभिव्यक्ति दिनुभएको छ, त्यो अत्यन्त मननीय छ र आजको वर्तमान स्थितिमा पनि त्यत्तिकै प्रासङ्गिक र यथार्थपूर्ण छ । महाकवि देवकोटाले युगको अर्थनीति, राजनीति, समाजनीति, शिक्षानीति, सभ्यता, संस्कृति, साहित्य सबै क्षेत्रमा गहन चिन्तन–मनन गरेर एवं समाजका साना–ठूला समस्यामाथि आवाज उठाउनु भयो । असन्तुलित सामाजिक व्यवस्था र अन्तर्विरोधबाट निर्मित उहाँको व्यक्तित्वले कवितामा असीमित मानवीय भावना सिर्जना गरेर देवकोटालाई महाकवि मात्र होइन, महामानवको उच्च सिंहासनमा पनि प्रतिष्ठित ग¥यो । 

कविता यात्राको प्रारम्भदेखि नै उहाँका कवितामा जुन उदारतावाद र दीनदुःखीको सेवा भावना एवं कल्याण कामना देखिएको हो, उहाँको परवर्ती रचनाहरूमा यो मानवतावादी भावना क्रमशः बढ्दै गएको पाइन्छ । उहाँले आफ्नो सम्पूर्ण जीवन जनकल्याणकारी भावनाको प्रचारप्रसारमै लगाएको देखिन्छ । मानववादी भावनाका कट्टर समर्थक महाकवि देवकोटाले मानवीय सेवालाई नै सबैभन्दा ठूलो कर्म ठान्नुभएको थियो । मन्दिर धाउनुभन्दा दीनदुःखीको सेवा गर्नेतर्फ उत्प्रेरित गर्दै कवि भन्नुहुन्छ – 

“फर्क फर्क हे 

जाऊ समाऊ 

मानिसहरूको पाउ ।” 

त्याग नै जीवनको सच्चा सुख निहित छ । कविका अनुसार – 

“खोज्छन् सबै सुख भनी, सुख त्यो कहाँ छ ? 

आफू मिटाई अरूलाई दिनु जहाँ छ ।” 

यस्ता अमर भावनाका रचयिता मानवप्रेमी देवकोटा साँच्चिकै मानव कल्याणका लागि समर्पित कवि हुनुहुन्थ्यो । 

प्रजान्त्रप्रेमी, स्वतन्त्रता तथा समानताका हिमायती, मानववादी कवि देवकोटाले वि.सं. २००४ मा ‘युगवाणी’ को सम्पादन (बनारसबाट) गरेर नेपाली जनताको सङ्घर्षलाई वाणी दिनुभयो । वि.सं. २००५ मा ‘पहाडी पुकार’द्वारा कविले सामाजिक विकृतिका यथार्थ चित्रण गरेर ती विकृतिलाई समाप्त गर्नका लागि समाजलाई उद्घोषित गर्दै भन्नुभयो – 

मर्नु त एक दिन अवश्यै पर्छ 

पशुझैँ न जिऊँ 

मानिस हुँ भने, मानिसझैँ जिऊँ 

मानिसको हक लिऊँ ।” 

त्यस्तै ‘रावण–जटायु युद्ध’ मा पनि कविले असत्य र अन्याय जति शक्तिशाली भए पनि विजय सत्य र न्यायकै हुन्छ, भन्ने शाश्वत सत्यलाई जनसमक्ष ल्याउनु भयो । महाकविको ‘झझाप्रति’, ‘बाढीको विष्णुमती’, ‘बाघले बच्चा किन खान्छ’, आदि कविताले जनजीवनमा क्रान्तिकारी चेतना र सङ्घर्षलाई उत्कर्ष प्रदान गरेको पाइन्छ । 

युगका अग्रदूत कवि देवकोटाका उत्तरवर्ती रचनामा सामाजिक असङ्गति, अन्यायप्रति विद्रोह, व्यङ्ग्यका स्वर झन्झन् टड्कारो हुँदै गएको देखिन्छ । कविका ‘हुरीको गीत’, ‘दाल भात डुकु’, ‘प्रमिथस’, ‘छहरा’, ‘हुरीको गीत’, जस्ता अनेकानेक कविताको माध्यमबाट उहाँ मानवमाथिको अन्याय अत्याचार विरुद्धका आवाजलाई सशक्त अभिव्यक्ति प्रदान गर्नुभएको छ । समाजको प्रगति, देशको उन्नति, दीनदुःखीको कल्याण, नेपालीको सुन्दर भविष्य, विश्वशान्ति र मानव जातिका कल्याणका मङ्गलमय चाहनामा उहाँ सधैँ प्रयत्नशील रहनुभयो । यस सन्दर्भमा प्रसिद्ध साहित्यकार केदारमान व्यथितको विचार अत्यन्त महìवपूर्ण छ, “मलाई जहाँसम्म लाग्छ, देवकोटाले धर्म, सम्प्रदाय, जाति, वर्ग, लिङ्ग आदिमा आधारित अन्याय, अत्याचार, शोषण र उत्पीडनपूर्ण सामन्तवादी व्यवस्थाबाट समाजलाई उन्मुक्त तुल्याइ न्यायपूर्ण र शोषणरहित समाज व्यवस्थाको जग बसाल्ने महìवाकाङ्क्षा नै अँगालेका थिए । अन्याय, अत्याचार, शोषणका विरुद्ध प्रतिरोध एवं व्यङ्ग्य–विद्रोहको ज्वाला ओकेल्ने उहाँका ‘साँढेँ’, ‘प्रभुजी ! भेडो बनाऊ’, ‘झञ्झावीर’ जस्ता कविताले पनि उहाँको यही महान् आकाङ्क्षा नै त मुखरित गरेका छन् । 

कवि देवकोटाले आफ्ना कविताद्वारा देशका अनेकानेक समस्याको यथार्थ र सजीव चित्रण प्रस्तुत गरेर देशवासीलाई जागृत गर्ने दिशामा सशक्त प्रयास गर्नुभएको छ । सामाजिक विकृतिमाथि प्रहार गर्दै समाजमा सुधारको आवश्यकता बारेमा जोड दिनुका साथै आफ्ना अनेकानेक ओजपूर्ण कविता सिर्जना गरेर जनचेतनालाई झङ्कृत गर्नुभएको छ, समाजलाई उद्बोधनात्मक सन्देश दिनुभएको छ । 

सङ्क्षेपमा भन्न सकिन्छ कि देवकोटा–काव्यका केन्द्रबिन्दु नै मानववादी भावना हुन् । आफ्नो समाज, आफ्नो देशप्रति जागरण, चेतनासहित विश्वशान्ति, स्वतन्त्रता, समानता तथा विश्वभ्रातृत्वका अमर भावना उहाँका कवितामा सर्वत्र प्रकट भएको पाइन्छ । 

समाजमा व्याप्त अन्याय र अत्याचारका विरुद्ध मानववादी कवि देवकोटाले विद्रोहका यस्ता हुङ्कार पनि गर्नुभएको छ – 

“जब मानवले मानवलाई मानव ठान्दैन 

साथी 

तब कडकडाउँछन् मेरो बत्तीसदन्ते बङ्गारा 

मन तन खाने आगोझैँ बहुला हुन्छु ।” 

वस्तुतः कविको क्रान्ति र विद्रोही चेतनाले उहाँको मानवतावादी भावनालाई नै उत्कर्ष प्रदान गरेको देखिन्छ – 

‘नेपाली भनेको त्यो हो जसले 

हाँसी हाँसी उत्री उठ्दछन् खतरा पार । 

जसले उठाउँदछ विश्व जगाई 

आजको युगको विश्वको भार ।’ 

आफ्नै पङ्क्तिहरूलाई आफ्नो जीवनमा चरितार्थ गर्ने महाकवि देवकोटालाई हिन्दीका विख्यात विद्वान् साहित्यकार राहुल सांकृत्यायनले भनेका कथन – आजकल, हिन्दी मासिक, १ मई १९५३) कति महìवपूर्ण र सान्दर्भिक ठहरिन आउँछ– “देवकोटा नेपाली के पन्त, प्रसाद, निराला तीनों है, इसमें अतिशयोक्ति नहीं है ।”

अन्ततः हामी यस निष्कर्षमा पुग्छौँ कि महाकवि देवकोटा एक मानवतावदी कविको रूपमा हाम्रोसामु मानव एकता, मानव समानता र विश्व–बन्धुत्वको आदर्श लिएर विश्व–कल्याण कामनामा समर्पित हुनुभएको देखिन्छ । मानव कल्याणका लागि उहाँले देखाउनुभएको मार्गले हामीलाई युगयुगसम्म दिशानिर्देश गरिरहनेछ ।  महाकवि देवकोटाका महान् व्यक्तित्वलाई विश्व–साहित्यमाझ उभ्याउनेतर्फ हामीले प्रयास गर्नुपर्छ । देवकोटा साहित्यको महìवलाई बुझेर देवकोटाका अप्रकाशित कृति प्रकाशित गर्ने, अनुसन्धान गर्ने, अनुवाद गर्ने र यसलाई प्रोत्साहित गर्ने दायित्वबोध हामी सबैमा आउनुपर्छ ।