केदार तिमल्सिना
बनेपा, वैशाख २९ गते । बुद्ध जयन्तीको अवसरमा काभ्रे सेवा समाजले काभ्रेपलाञ्चोकको पनौतीदेखि नमोबुद्धसम्म ‘शान्ति पदयात्रा’को आयोजना गरेको छ । पनौती र नमोबुद्धका साथै समग्र जिल्लाको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पदयात्राको आयोजना गरिएको हो ।
पदयात्राको सोमबार पूर्व राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्नुभएको हो । शान्ति पदयात्राको उद्घाटन गर्नुहुँदै पूर्व राष्ट्रपति डा. यादवले भगवान बुद्धको सन्देशहरू जीवन उपयोगी रहेकोले बुद्धका सन्देश पालना गर्नेतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो । काभ्रे सेवा समाजका अध्यक्ष पुरुषोत्तम नेपालले विश्वभर शान्ति र सद्भावको सन्देश फैलाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्ने तथा स्थानीय कला, संस्कृतिको सम्बद्र्धन गर्नका लागि पदयात्रा आयोजना गरिएको बताउनुभयो ।
उहाँले पदयात्राले सबै धार्मिक, सांस्कृतिक तथा जातजातिबिच एकता कायम गराउन मद्दत गर्ने बताउनुभयो । पनौतीको मानेश्वरीहुँदै पुरानो बजार परिक्रमा गर्दै नमोबुद्ध चैत्यसम्म साढे नौ किलोमिटरको दुरीमा पदयात्रा गरिएको थियो । पदयात्रामा करिब पाँच सयको उपस्थिती रहेको थियो ।
पदयात्राका लागि बागमती प्रदेश सरकारबाट तीन लाख रुपियाँ सहयोग प्राप्त भएको थियो भने जिल्लाका स्थानीय तह, विभिन्न सङ्घसंस्थाबाट सहयोग प्राप्त भएको आयोजक काभ्रे सेवा समाजले जनाएको छ । पनौती विश्व सम्पदा सूचीका लागि सुचिकृत हुन पहल गरिएको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक नगर हो भने नमोबुद्ध भगवान गौतम बुद्धको पहिलो जन्म थलोको रूपमा परिचित छ।
पदयात्रामा जिल्लाका जनप्रतिनिधि, काभ्रेपलाञ्चोक जिल्लाबाट विभिन्न निकायको जिम्मेवारी सम्हाल्नु भएका विशिष्ट व्प्यक्तित्व, राजनीतिक दल, समाजसेवी, व्यवसायी र पर्यटन व्यवसायी, सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । समाजले यस अघि २०८० असोज ६ गते विश्व पर्यटन दिवसको अवसर पारेर पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्राको आयोजना गरेको थियो ।