• १२ साउन २०८१, शनिबार

कात्तिकको सुरुमै दोस्रो पटक हिमपात

blog

अपिमा हिमपात भएपछि लेकमबाट देखिएको दृश्य। तस्बिर : लोकेन्द्र जोशी/दार्चुला।

दार्चुला, कात्तिक २ गते । दार्चुलामा कात्तिकको सुरुमै दोस्रो पटक हिमपात भएको छ। अपिहिमाल गाउँपालिका र व्यास गाउँपालिकामा मंगलबार र बुधबार हिमपात भएको छ। गत साता व्यास र अपिहिमालमा पहिलो पटक हिमपात भएको थियो।

मंगलबार मौसममा आएको बदलीका कारण हिमपात, असिना र वर्षा भएको स्थानीय पार्वती रोकायले जानकारी दिनुभयो। मौसम बदली भएपछि अपिहिमाल गाउँपालिका वडा नम्बर १, २ र ६ को उच्च भेगहरूमा हिमपात भएको उहाँले बताउनुभयो। 

गाउँपालिकाको घुसा, क्षेत्री, सिति र खात्ती लगायतका स्थानको माथिल्लो भेगमा हिमपात भएको स्थानीयले बताएका छन्। व्यास गाउँपालिकाको छाङरु र तिङ्करमा पनि हिमपात भएको छ। व्यासको वडा नम्बर १ मा पर्ने छाङरु र तिङ्करमा हिमपात भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म छाङरुका गुल्मपति ईस्वर भट्टले जानकारी दिनुभयो।

हिमपात भएपछि सदरमुकाम खलङ्गासहित जिल्लाभरी चिसो बढेको छ। यो वर्ष कात्तिकको सुरुमै दोस्रो पटक हिमपात भएपछि चिसो ह्वात्तै बढेको व्यास गाउँपालिका-१ का स्थानीय योगेश बोहराले बताउनुभयो। चिसो बढेसँगै व्यासवासी बेँसी झर्ने तयारी गर्न थालेका छन्। मौसममा सुधार भए मङ्सिर पहिलो साता तथा चिसो बढ्दै गएमा कात्तिकको अन्तिमसम्ममा व्यासको वडा नम्बर १ का सबै स्थानीय सदरमुकाम खलङ्गा बसाइसराई अर्थात् कुञ्चा सर्ने तयारीमा रहेको उहाँले बताउनुभयो।  

छाङरु र तिङ्करका स्थानीय गर्मीको समयमा छ महिना मात्रै गाउँमा बस्ने गरेका छन्। बाँकी छ महिना हिमपातको समयमा लालाबाला र बस्तुभाउसहित बेँसी झर्ने गरेका छन्। अधिकांश व्यासवासीको दार्चुला सदरमुकाम खलङ्गा र छाङरु, तिङ्करमा दोहोरो बसोबास रहेको छ।