• १९ असोज २०८१, शनिबार

त्रिविले कर्मचारीलाई गरायो सचेत

blog

काठमाडौँ, कात्तिक २ गते   । त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको कार्यक्रम तथा प्रचारप्रसारमा सहभागी नहुन सचेत गराएको छ। 

विश्वविद्यालयका शिक्षक तथा कर्मचारी पेसागत मर्यादालाई भुलेर राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसारमा लागेको, उम्मेदवारको पक्ष र विपक्षमा खुलेको, दलको महाधिवेशनको समयमा केन्द्रीय समितिमा उम्मेदवार भएको तथा महाधिवेशन प्रतिनिधि हुनेलगायतका विषयमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेर कारबाही गर्न त्रिविलाई निर्देशन दिएको थियो। 

आयोगले भदौ १२ गते त्रिविलाई निर्देशन दिँदै यस्ता शिक्षक कर्मचारीबारे छानबिन गरेर कारबाहीसम्बन्धी प्रतिवेदन पेस गर्न भनेको थियो। अख्तियारको निर्देशनपछि त्रिविले उजुरी परेका शिक्षक तथा कर्मचारीका विषयमा अध्ययन गरेको थियो। 

सम्बन्धित दललाई पत्राचार गरेर सत्यतथ्य जानकारी गराउन पनि अनुरोध गरेको थियो। “तर, जति अध्ययन गरे पनि अधिकांश घटनामा प्रमाण भेट्न निकै मुस्किल पर्छ। हामीले जे पाउँछौँ त्यही प्रतिवेदन बनाएर आयोगलाई बुझाउने गरेका छौँ,” त्रिवि रजिस्ट्रार कार्यालयका प्रमुख विष्णुप्रसाद 

अर्यालले भन्नुभयो। 

उक्त कार्यालयले मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सन्दर्भमा कुनै दलको कार्यक्रममा सहभागी भएको पाइएमा कारबाही गर्ने चेतावनीसमेत दिएको छ।