• १३ साउन २०८१, आइतबार

लाम लगाएर जहाजको टिकट वितरण

blog

जुम्ला समाचारदाता

जुम्ला, कात्तिक १ गते । कर्णाली राजमार्ग पहिरोले बन्द भएपछि जुम्लाको हवाई टिकटमा चाप परेका कारण टिकट वितरणमा नयाँ व्यवस्था सुरु गरिएको छ । टिकटका लागि विमानस्थलमा भीड बढेको र टिकट प्रणाली व्यवस्थापन गर्न कठिन भएपछि पहिलो चरणमा विमानस्थलमा पुगेका नागरिकलाई लाम लगाएर ११ वटा टिकटको दरले सातवटा उडानको रकम समेत उठाइएको छ ।

नागरिक उड्डयन प्राधिकरण, नागरिक समाज, स्थानीय जनप्रतिनिधि, एयरलाइन्सका प्रतिनिधिहरू, स्थानीय अगुवा र युवा बसेर ११ वटा टिकट बाहिर बाँड्ने सहमति गरिएको छ । 

नागरिक समाजका अध्यक्ष राजबहादुर महतका अनुसार टिकट नागरिकले बाहिर नपाउने चर्को आलोचनापछि सहमति गरेर अबदेखि ११ वटा टिकट नागरिकलाई लाइन लगाएर दिन सुरु गरिएको छ । अन्य टिकटमा दुईवटा बिरामी, दुईवटा सरकारी सिट तथा विदेशी पर्यटकलाई प्राथमिकता दिन एयरलाइन्सका एजेन्ट पनि सहमत भएका छन् ।

सोहीअनुसार ७७ जना लाइनमा लागेका नागरिकलाई पहिलो चरणमा ११ जनाका दरले टिकट सुनिश्चित गर्न रकम उठाई सम्बन्धित निकायलाई बुझाइएको छ । विमानस्थलमा लाइन लागेका नागरिकको सूचीअनुसार प्राथमिकताका आधारमा सातवटा उडानका लागि नागरिकको नामावली बनाइएको छ ।

दुई जना बिरामी, दुई सरकारी सिट र अन्य आकस्मिक टिकट एयरलाइन्सले आफैँ कार्यान्वयन गर्ने भएको छ । विमानस्थलमा अघिल्लो चरणमा परीक्षा दिने विद्यार्थी, लोकसेवा, विदेश जाने नागारिकलाई पठाइसकेपछि बाँकी विद्यार्थी, कर्मचारी र अन्य नागरिकका लागि बाहिरै लाइन लगाएर टिकट दिने काम सुरु भएको छ । टिकटमा पहुँचवालाको हालीमुहाली हुने भयो भन्दै विद्यार्थीले आन्दोलन गरेको र व्यवस्थापन गर्न नसकिएपछि स्थानीय प्रशासनले समेत नागरिक समाजलाई अगुवाइ गर्न अनुरोध गरेको थियो ।

विमानस्थलमा १५६ जना पुरुष र ८८ जना महिला लाम लागेर नामावली तयार गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाइएको छ । सोअनुसार सातवटा उडानमा ७७ जना नागरिक उड्न पाउने सुनिश्चित भएको छ । उक्त नामावलीअनुसार जुन जहाज पहिला आयो त्यसमा उनीहरू चढ्न पाउनेछन् । केही दिनअघि स्थानीय प्रशासनमा लाम लागेर २०६ जनाको नामावली तयार भए पनि कार्यान्वयन हुन सकेको थिएन ।