• २१ जेठ २०८१, सोमबार

वित्तीय क्षेत्रका समस्या समाधान गर्न आग्रह

blog

काठमाडौँ, कात्तिक १ गते । नेपाल उद्योग वाणिज्य महासङ्घले तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व, बाह्य क्षेत्र व्यवस्थापन एवं मूल्य स्थिरताका लागि नेपाल राष्ट्र बैङ्कलाई विशेष पहल गर्न आग्रह गरेको छ । 

महासङ्घका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले राष्ट्र बैङ्कका कार्यवाहक गभर्नर डा. नीलम ढुङ्गानासहितका उच्च अधिकारीलाई भेटेर उक्त आग्रह गरेको हो । 

ज्ञापनपत्र बुझाँउँदै गोल्छाले नेपालको निजी क्षेत्र हालसम्मकै कठिन अवस्थाबाट गुज्रिरहेकाले ब्याजदर स्थायित्व चालू पुँजी कर्जासम्बन्धी नयाँ व्यवस्था स्थगन गरेर केन्द्रीय बैङ्कले अर्थतन्त्र चलायमान बनाउन आग्रह गर्नुभएको थियो ।

महसङ्घले दिएको सुझावमा पछिल्लो समय पुँजीको लागत अत्यधिक बढेको र बजारमा लगानीयोग्य रकमको अभाव हुँदा ब्याजदर बढिरहेको उल्लेख गरेको छ । 

कच्चा पदार्थ, इन्धनलगायतको मूल्यसमेत बढेकाले बजार भाउ निरन्तर उकालो लागिरहेको र लामो समयदेखि धेरै वस्तुको आयात प्रत्यक्ष एवं परोक्ष रूपमा रोकिएकाले राजस्व असुली पनि करिब २० प्रतिशतले घटेकोतर्पm महासङ्घले सचेत 

गराएको छ । 

“निक्षेपको ब्याजदर बढ्दा पनि निक्षेप नबढेको र कर्जाको ब्याज महँगिएर निजी क्षेत्र नकारात्मक रूपमा प्रभावित भएकाले  ब्याजदरलाई वाञ्छित सीमाभित्र राखी अर्थतन्त्र चलायमान हुने नीति अवलम्बन गरिनुपर्छ,” महासङ्घले भनेको छ । 

महासङ्घले बैङ्क तथा वित्तीय संस्थाको आधारदर वृद्धि हुने क्रमसँगै प्रिमियमसमेत अस्वाभाविक रूपमा वृद्धि भइरहेको र  ब्याजदर आकाशिएर उद्यम व्यवसायको लागत निकै बढेको औँल्याएको छ ।