• २० असोज २०८१, आइतबार

निजी क्षेत्रको योगदानबारे अध्ययन गर्ने सहमति

blog

काठमाडौँ, असोज ३० गते । निजी क्षेत्रले अर्थतन्त्रमा पु-याएको योगदान अध्ययन गर्न नेपाल उद्योग वाणिज्य महासङ्घ र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बीच सहमति भएको छ । 

दुवै संस्थाको सहकार्यमा तयार हुने यो प्रतिवेदनले निजी क्षेत्रको लगानीबाट मुलुकको विकासमा पारेको प्रभावबारे अध्ययन, विश्लेषण हुने र नीतिगत सुझाव प्रस्तुत गर्ने बताइएको छ । यो प्रतिवेदनले निजी क्षेत्रको योगदान सम्बन्धमा नीतिगत बहसका लागि आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्य लिएको महासङ्घले जनाएको छ । 

सन् १९९० यता नेपालको निजी क्षेत्रको वृद्धि गुणात्मक रहेको छ । औपचारिक व्यवसायमध्ये ९९ प्रतिशतभन्दा बढी निजी क्षेत्रको स्वामित्वमा रहेको र यसमा शिक्षा तथा स्वास्थ्यजस्ता सामाजिक क्षेत्रमा उल्लेख्य लगानी भएको महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पुँजी निर्माण तथा रोजगारीका अवसर सिर्जनामा निजी क्षेत्रको बढ्दो उपस्थिति रहेको छ । 

महासङ्घका अध्यक्ष शेखर गोल्छाले नेपालका विकाससम्बन्धी लक्ष्य हासिल गर्न निजी क्षेत्रको थप विकास तथा सुदृढीकरण आवश्यक रहेको बताउनुभयो । 

अन्तर्राष्ट्रिय वित्त निगमका नेपालका लागि आवासीय प्रतिनिधि बाबाकार एस. फायेले सार्वजनिक–निजी क्षेत्रबीचको नीतिगत बहसलाई थप सुसूचित गर्नुका साथै नेपाली नागरिकको हितका लागि निजी क्षेत्रले विकासमा पार्ने प्रभाव अभिवृद्धि गर्र्न निजी क्षेत्रको अवस्थाबारे सघन रूपमा अनुसन्धान गरिएको विश्लेषणात्मक आवधिक प्रतिवेदन महत्वपूर्ण हुने बताउनुभयो ।