• २० असोज २०८१, आइतबार

इन्धन आयातबाट चौध अर्ब राजस्व

blog

काठमाडौँ, असोज ३० गते । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा इन्धन आयातबाट झन्डै १४ अर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ । 

नेपाल आयल निगमले चालू आर्थिक वर्षको साउनदेखि असोज २७ गतेसम्म छ लाख किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इनधन र ग्यास) आयात गरेर १४ अर्ब  ३७ करोड रुपियाँ राजस्व सङ्कलन भएको हो ।  

सो अवधिमा ६८ अर्ब ९६ करोड ८३ लाख ४३ हजार रुपियाँ बराबरको छ लाख ३२८ किलोलिटर इन्धन आयात भएको निगमले जनाएको छ । सो अवधिमा एक लाख ७४ हजार एक सय किलोलिटर पेट्रोल, दुई लाख ६४ हजार ३६२ किलोलिटर डिजेल आयात भएको छ । यस्तै मट्टीतेल दुई हजार ३८० किलोलिटर, हवाई इन्धन ३६ हजार किलोलिटर र ग्यास एक लाख १८ हजार २९५ मेट्रिक टन ग्यास आयात भएको निगमको तथ्याङ्क छ । बजारमा खपत बढेसँगै इन्धनको आयात बढ्दै गएको निगमको भनाइ छ ।साउनदेखि हालसम्म इन्धन आयात गरेर भन्सार शुल्कबापत आठ अर्ब ५० करोड रुपियाँ सङ्कलन भएको निगमले जनाएको छ । यस्तै पूर्वाधार करबापत चार अर्ब ३८ करोड ४६ लाख २० हजार रुपियाँ, सडक मर्मत दस्तुरबापत एक अर्ब २२ करोड र प्रदूषण करबापत ६५ करोड रुपियाँ राजस्व सङ्कलन भएको निगमले जनाएको छ । पेट्रोलियम पदार्थ आयात गरेबापत भन्सार बिन्दुमा कर सङ्कलन हुने गर्छ । 

प्रतिलिटर पेट्रोलमा कुल राजस्व ६३ रुपियाँ ३६ पैसा, डिजेलमा ४७ रुपियाँ ०३ पैसा, मट्टीतेलमा १३ रुपियाँ ७५ पैसा, हवाई इन्धनमा २६ रुपियाँ ३० पैसा र खाना पकाउने ग्यास प्रतिसिलिन्डरमा ३११ रुपियाँ सङ्कलन हुने गर्छ । भन्सार बिन्दुमा सङ्कलन भएको राजस्व सरकारको खातामा जम्मा हुने गर्छ ।

भन्सार शुल्कबापत प्रतिलिटर पेट्रोलमा २५ रुपियाँ २० पैसा, डिजेलमा १२ रुपियाँ, मट्टीतेलमा १२ रुपियाँ, हवाई इन्धनमा दुई रुपियाँ १० पैसा र ग्यासमा ९१ रुपियाँ ८२ पैसा सङ्कलन हुने गर्छ । मूल्य अभिवृद्धि कर (भ्याट)बापत पेट्रोलमा २० रुपियाँ ८२ पैसा, डिजेलमा १९ रुपियाँ ७९ पैसा, हवाई इन्धनमा २१ रुपियाँ ८६ पैसा र ग्यासमा २०१ रुपियाँ सङ्कलन हुने गर्छ । भ्याट इन्धनको मूल्यअनुसार परिवर्तन हुने गर्छ । 

यस्तै पूर्वाधार करबापत प्रतिलिटर डिजेल, पेट्रोलमा १० रुपियाँ सङ्कलन हुने गर्छ । सडक मर्मत दस्तुुरबापत पेट्रोल प्रतिलिटरमा चार रुपियाँ र डिजेल प्रतिलिटरमा दुई रुपियाँ सङ्कलन हुने गर्छ । वातावरण शुल्कबापत प्रतिलिटर डिजेल र पेट्रोलमा एक रुपियाँ ५० पैसा सङ्कलन हुने गर्छ । यस्तै मूल्य स्थिरीकरण कोषमा पेट्रोल प्रतिलिटरमा एक रुपियाँ ८१ पैसा, डिजेल प्रतिलिटरमा एक रुपियाँ ५० पैसा र ग्यास प्रतिसिलिन्डरमा १८ रुपियाँ सङ्कलन हुन्छ । 

विभिन्न शीर्षकमा कर कटाएर निगमले इन्धनमा उपभोक्ता मूल्य निर्धारण गर्छ । विभिन्न शीर्षकमा लगाइएको उच्च करका कारण उपभोक्ता मूल्य बढी पर्ने गरेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै गएको छ ।