• २० असोज २०८१, आइतबार

आयात प्रतिबन्ध मङ्सिरसम्म

blog

काठमाडौँ, असोज २९ गते । विभिन्न चारवटा वस्तुमा लगाइएको आयात प्रतिबन्ध मङ्सिर मसान्तसम्म कायम हुने भएको छ । 

यसअघि असोज २८ गते शुक्रबारसम्मका लागि जारी भएको प्रतिबन्ध सरकारले लम्ब्याउने निर्णय गरेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । 

पछिल्लो निर्णयसँगै मङ्सिर मसान्तसम्म सबै प्रकारका तयारी मदिरा (औद्योगिक कच्चा पदार्थबाहेक), तीन सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन, जिप, कार र भ्यान (एम्बुलेन्स र शववाहनबाहेक) र १५० सीसीभन्दा माथिका मोटरसाइकल आयातमा लगाइएको प्रतिबन्ध निरन्तर हुनेछ । सरकारले त्यसअघि भदौ १४ गते १० वटा वस्तुमा लागेको आयात प्रतिबन्धमा संशोधन गर्दै यीनै चारवटा वस्तुको प्रतिबन्धलाई निरन्तरता दिएको थियो ।  

आयात बढ्दा विदेशी मुद्राको सञ्चिति घट्दै गएको निष्कर्ष निकाल्दै सरकारले वैशाख दोस्रो सातादेखि विभिन्न १० वस्तुमा आयात प्रतिबन्ध लगाउँदै आएको हो । बीचमा केही संशोधन गर्दै यो प्रतिबन्धलाई निरन्तरता दिँदै आएको थियो । यद्यपि व्यवसायीले पनि आयात प्रतिबन्धका कारण व्यापार व्यवसायमा ठूलो नोक्सानी बेहोर्नुपरेको भन्दै यसलाई हटाउन माग गर्दै आएका छन् ।