• १२ मंसिर २०८१, बुधबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

घोषणापत्रमा संविधानको रक्षा पहिलो प्रतिबद्धता

blog

नेपाली कांग्रेसको मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति शेरबहादुर देउवासहित पार्टीका नेताहरु । तस्बिर : सुजन गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौं, असोज २८ गते । सत्तारुढ दल नेपाली कांग्रेसको शुक्रबारको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा आगामी निर्वाचनको घोषणापत्रलाई अन्तिम रूप दिने विषयमा छलफल भएको छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित घोषणापत्र तयारी समितिका सदस्य एवम् पदाधिकारी, पूर्व पदाधिकारीबीच शुक्रबार केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा बसेको बैठकमा सो छलफल भएको सह महामन्त्री जीवन परियारले जानकारी दिनुभयो ।

घोषणापत्र तयारी समितिका प्रवक्ता समेत रहनुभएका परियारले बैठकपछि सञ्चारकर्मीहरूसँग भन्नुभयो, “मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनका लागि कांग्रेसले घोषणापत्र, संकल्पपत्र तयार पार्दैछ । निरन्तरतामा नवीनता दिनेगरी घोषणापत्र तयार पार्ने गरी सङ्कल्प गरेका छौँ ।” महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरिएको छ । जसमा ४१ सदस्य हुनुहुन्छ । 

बैठकमा सभापति देउवासहित १२ जना पदाधिकारी, पूर्व पदाधिकारी र केन्द्रीय सदस्यबाट महत्त्वपूर्ण सुझावहरू सङ्कलन भएको परियारले बताउनुभयो । उहाँका अनुसार यसलाई छिटोभन्दा छिटो अन्तिम रूप दिइने छ । मूलतः २०७४ को निर्वाचनपछि नेकपा नेतृत्वको सरकारमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारको शासनविरुद्धमा र २०७२ सालमा जारी संविधानको रक्षा गर्ने पहिलो प्रतिबद्धता घोषणापत्रमा उल्लेख भएको उहाँको भनाइ छ ।

“२०७२ मा जारी संविधानको रक्षा गर्ने पहिलो प्रतिबद्धता महत्त्वपूर्ण विषय छ । मङ्सिर ४ गते हुने निर्वाचनमा कांग्रेसले विजय हासिल गरेपछि पाँच वर्षका निमित्त सरकार अगाडि बढ्ने कुरा जनताबीचमा सार्वजनिक गर्नेछौँ” परियारले भन्नुभयो । 

बैठकमा घोषणापत्र तयारी समितिका संयोजक महामन्त्री विश्वप्रकाश शर्मा र उपसमितिका संयोजक स्वर्णिम वाग्लेले बैठकमा घोषणापत्रका विषयहरू प्रस्तुत गर्नुभएको थियो ।