• ११ मंसिर २०८१, मङ्गलबार

सोनवर्षा बाँध तत्काल मर्मत गर्न स्थानीयको माग

blog

बाढी र कटानले भत्काएको बाँधको निरीक्षण गर्दै प्रजिअलगायतको टोली । तस्बिर : सिराज खान

सिराज खान

नेपालगञ्ज, असोज २८ गते । करिब एक साताको अविरल वर्षाका कारण आएको बाढीले नरैनापुर सोनवर्षामा भत्काएको बाँध तत्काल मर्मत गर्न स्थानीयले माग गरेका छन् । सो बाँधलगायत नरैनापुर क्षेत्रमा आएको बाढी र डुबानको स्थलगत निरीक्षण गर्न नरैनापुर पुग्नु भएका बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीसहितको टोलीसँग पीडित स्थानीयले सो माग गरेका हुन् । 

बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा ७ र नरैनापुर गाउँपालिकाको वडा ६ मा सिक्टाले बनाएको बाँध भत्किन थालेर गाउँहरूमा बाढी छिरेपछि स्थानीयहरू त्रसित बनेका छन् । सो बाँध भत्किएकाले थप वर्षा भएमा सो क्षेत्रमा ठूलो क्षति हुने सम्भावना देखेर स्थानीयले प्रशासनसँग सो माग गर्नुभएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले बताउनुभयो । 

राप्तीसोनारी र नरैनापुरका नागरिकले बाढी, डुबान र कटानको समस्या झेल्दै आएको जानकारी गराउँदै दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गरेको उहाँले जानकारी दिनुभयो । जनप्रतिनिधि र स्थानीय बासिन्दाको माग सुनेर अवलोकन गर्न पुग्नुभएका प्रजिअ खत्रीले तत्काल बाँधको तटबन्ध मर्मत र निर्माण गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

स्थानीयहरूसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी खत्रीले नरैनापुरको अवस्था दर्दनाक रहेकाले गृह मन्त्रालयमार्फत बाढी प्रभावितहरूको समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । 

सिक्टाले बनाएको बाँध पूर्णरुपमा फुटेको खण्डमा ठूलो मानवीय क्षति हुनसक्ने भएकाले सो बाँध मर्मतका लागि प्राविधिक तत्काल खटाउनु पर्ने अधिकांश स्थानीयको माग छ । बाढी र डुबानका कारण नरैनापुरमा तीन हजार घरधुरी बाढी तथा डुबानबाट पीडित भएका छन् ।