• १६ वैशाख २०८१, आइतबार

नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौं, असोज २८ गते । नेपाली खेलकुदको सबै भन्दा ठूलो घरेलु महाकुम्भ नवौँ राष्ट्रिय खेलकुदको औपचारिक शुभारम्भ कार्यक्रम पर्यटकीय नगरी पोखरामा सुरु भएको छ ।  राष्ट्रिय खेलकुद ३९ वर्षपछि पोखरा फर्किएको हो। यसअघि २०४० सालको दोस्रो संस्करण तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्र ९पोखरा० ले आयोजना गरेको थियो। देश सङ्घीय संरचनामा गएपछि गण्डकी प्रदेशले पाएको यो पहिलो अवसर हो। प्रतियोगिता सम्पन्न गर्न नेपाल सरकारले ६० करोड रुपियाँ बजेट दिएको छ।

प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक रूपमा उद्घाटन गर्ने कार्यक्रम छ। कार्तिक ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको समापन भने प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। प्रतियोगिता सम्पन्न गर्न राखेपले यसअघिकै विभिन्न १४ वटा समिति तय गरेर तयारी गरेको थियो। गण्डकी प्रदेशका आठ जिल्लाहरूमा सञ्चालन हुन लागेको प्रतियोगितामा विभिन्न ३६ र दुई प्रदर्शनी खेलमा प्रतिस्पर्धा हुँदै छ। प्रतियोगितामा देशभरबाट ६ हजार १५७ खेलाडीले चार सय चार स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दैछन्। 

यसैगरी चार सय चार नै रजत र ६ सय १ कांस्य पदकका लागि समेत ११ टोलीका खेलाडीबीच बलियो भिडन्त हुनेछ। प्रतियोगितामा सहभागी ११ टोलीहरूमा सात प्रदेश, विभागीय टोलीको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) रहेका छन्। 

यसअघि राखेपले राष्ट्रिय खेलकुदका लागि प्रत्येक टोलीका लागि व्यक्तिगत र समूहमा गरी सहभागी खेलाडीको कोटा सङ्ख्या सात सय नौ जना तोकेको थियो। जसमा तीन सय ७४ पुरुष र तीन सय ३५ महिला खेलाडीको पूर्ण कोटा निर्धारण गरिएको थियो। 

तर, नवौँको फितलो व्यवस्थापन र खेलाडी छनोटमै अल्झन आएका कारण सबै टोलीले पूर्ण कोटामा खेलाडी सहभागी गराउन सकेका छैनन्। नवौँमा सबैभन्दा बढी सङ्ख्यामा खेलाडी आयोजक गण्डकी प्रदेशले मैदानमा उतार्दै छ। गण्डकीबाट सात सय ६ जना खेलाडीले ३६ खेलमै प्रतिस्पर्धा गर्दैछन्। गण्डकी पछि सर्वाधिक खेलाडी आर्मीले सहभागी गराउँदै छ। ३६ वटै खेलमा भाग लिन लागेको आर्मीले ६ सय ६८ जना मैदानमा उतार्दै छ। 

त्यसपछि बागमती प्रदेशले ३६ खेलका लागि ६ सय ५६ जना, प्रदेश–१ ले ३५ खेलमा ६ सय ८४ जना, सुदूरपश्चिमले ३२ खेलमा ६ सय १८ जना, एपीएफले ३१ खेलमा पाँच सय ५८ जना, नेपाल पुलिस क्लबले २९ खेलमा पाँच सय ८७ जना र मधेश प्रदेशले २८ खेलमा ५ सय ४५ जना खेलाडी सहभागी गराउँदै छ। 

यसैगरी लुम्बिनीले ३५ खेलमा तीन सय ४८ जना, कर्णाली प्रदेशले ३० खेलमा पाँच सय तीन जना र एनआरएनएले १७ खेलमा एक सय १६ जना प्रतिस्पर्धा गराउँदै छ। नवौँ अन्तर्गत पुरुष क्रिकेट एक महिना अघि नै सम्पन्न भइसकेको छ। 

नेपाल क्रिकेट सङ्घ ९क्यान० ले नेपाल टी-२० फ्रेन्चाइज लिगको बहानाका एक महिना अघि गरेको क्रिकेट प्रतियोगितालाई वर्षाले बिथोलेको थियो। काठमाडौँको कीर्तिपुर र मुलपानी मैदानमा भएको पुरुष क्रिकेटमा उपाधिको दाबेदार मानिएको बागमती प्रदेश र एपीएफ क्लब पानीका कारण समूहका खेल खेल्न नपाई बाहिरिएका थिए।