• १३ साउन २०८१, आइतबार

काठमाडौंको सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गर्ने आठ जना पक्राउ

blog

तस्बिर : जिल्ला प्रहरी परिसर काठमाडौं

काठमाडौं, असोज २७ गते । काठमाडौंको सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरी गत असोज २५ गते काठमाडौंको सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गर्ने आठ जनालाई ज्यान मार्ने उद्योग गर्न नहुने कसुरमा पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

काठमाडौं महानगरपालिका–२६ गल्कोपाखास्थित हनुमान चोक नजिकै एक समूहले दुई जना पुरुषलाई धारिलो हतियार, इँटा, बियर बोतललगायतले प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएका थिए ।

फरार भएका आठ जनालाई काठमाडौं प्रहरीको अनुसन्धानमा पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले बताउनु भयो ।

पक्राउ पर्नेमा दोलखाको सैलुङ–२ घर भई हाल काठमाडौं गोकर्णेशवर बस्ने ३३ वर्षीय जीवन तामाङ, सिन्धुपाल्चोकको बाह्रबिसे–८ घर भई हाल गोकर्णेश्वर–८ बस्ने २७ वर्षीय दोर्जे शेर्पा, दोलखाकै शैलुङ–२ घर भई हाल काठमाडौं गोकर्णेशवर–६ बस्ने २९ वर्षीय विनोद तामाङ, रामेछापको गोकुलगंगा–२ घर भई हाल गोकर्णेश्वर–५ जोरपाटी बस्ने २८ वर्षीय विकास श्रेष्ठ, सिन्धुपाल्चोकको मेलम्ची–१० का २९ वर्षीय राजेन्द्र खत्री, दोलखाकै मेलुङ–३ घर भई हाल गोकर्णेश्वर–८ जोरपाटी बस्ने २९ वर्षीय  प्रदीप तामाङ, काभ्रेपलान्चोकको रोशी–८ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ३२ वर्षीय दिपेन लामा र काठमाडौं–७ चाबहिल बस्ने २६ वर्षीय करण डङ्गोल रहेका छन् ।

प्रहरी वरिष्ठ उपरीक्षक बोहराले अनुसन्धानका क्रममा उनीहरूलाई काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको बताउनुभयो ।

उहाँले पक्राउ पर्नेहरूको साथबाट खुकुरी थान–३, प्र३००२–०१० प ३७६५ नं को एनएस मोटरसाइकल, प्र३०२–०११ प ४६४७ नं को २२० सिसीको अल्सर मोटरसाइकल, घटना स्थलमा फेला परेका इट्टा र च्यातिएर रक्तामे भएका कपडालगायत सामग्री बरामद भएको जानकारी दिनुभयो ।

एसएसपी बोहराले पक्राउ पर्नेहरू माथि ज्यान मार्ने उद्योग गर्न नहुने कसूरमा अनुसन्धान गरिरहेको पनि बताउनुभयो । काठमाडौं जिल्ला अदालतले उनीहरूलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न पनि अनुमति दिएको छ ।