• १७ वैशाख २०८१, सोमबार

भिडियो कुराकानी

समयमै जाँच गरे ८० प्रतिशत अन्धोपन रोक्न सकिन्छ

blog

महिमा देवकोटा

काठमाडौं, असोज २७ गते । आँखामा हुने अन्धोपनको ८० प्रतिशतसम्म उपचार गर्न सकिने त्रिवि शिक्षण अस्पतालका उप–प्राध्यापक डा. सञ्जीव भट्टराईले बताउनुभएको छ। तर, समयमा परीक्षण नहुँदा अन्धोपनको समस्या बढ्दै गएको उहाँको भनाइ छ। “नेपालमा अन्धोपनको प्रमुख कारण मोतियाबिन्दु हो। जसले ६५ प्रतिशतलाई अन्धोपनको समस्या निम्त्याउँछ’’, उहाँले भन्नुभयो। जन्मजात आँखा नदेख्ने संख्या एकदम कम हुने उहाँको भनाइ छ

उहाँका अनुसार सबै उमेर समूहका मानिसलाई आँखाको समस्या हुनसक्छ र आँखामा समस्या छ वा छैन भनेर समय समयमा परीक्षण गराउनु आवश्यक हुन्छ। ‘‘बच्चाको दृष्टि सामान्य छ भन्ने कुरा सानैदेखि सुनिश्चित गर्नुपर्छ’’, उहाँ भन्नुहुन्छ। नेपालमा ३० हजार दुई सय ४० बालबालिका दृष्टिविहीन र ९० हजार बालबालिकाको दृष्टि कम रहेको अध्ययनले देखाएको छ।

आँखाको समस्या मधुमेह, थाइराइड, उच्च रक्तचाप, दीर्घ रोगका कारण हुनसक्छ। ४० वर्षभन्दा माथिका मानिसमा आँखाको समस्या बढी देखिन्छ। दीर्घ रोगीले आँखाको नियमित जाँच गर्नुपर्ने उहाँको भनाइ छ। 

दिनमा दुई पटक सफा पानीले आँखा सफा गर्न डा. भट्टराई सुझाव दिनुहुन्छ। छ महिनामा एक पटक आँखा जाँच गर्ने, धेरै कम र धेरै उज्यालोबाट जोगिने, अध्ययन वा काम गर्दा पुस्तक र स्क्रिनको दूरी ५० सेन्टिमिटर कामय गर्नु राम्रो हुन्छ। दैनिक चार घण्टा मात्र स्क्रिन हेर्न उहाँको सुझाव छ। निरन्तर स्क्रिन हेर्नुपर्ने भए प्रत्येक २० मिनेटमा एक पटक आँखालाई आराम दिनु राम्रो हुन्छ। २० मिनेटमा २० सेकेन्ड स्क्रिन बाहिर हेर्नु अर्थात् आँखा चिम्म गर्नु उपयुक्त हुने उहाँको सुझाव छ। 

टाढाको दृष्टिमा गाह्रो हुने, आँखा रातो हुने र असहज हुने जस्ता समस्या देखिएमा चाँडोभन्दा चाँडो चिकित्सकसँग जाँच गराउनुपर्ने उहाँको भनाइ छ। विश्व दृष्टि दिवसको अवसरमा डा. सञ्जीव भट्टराईसँग गोरखापत्र अनलाइनका लागि महिमा देवकोटा, मनोजरत्न शाही र केशब गुरुङले गर्नुभएको भिडियो कुराकानी :