• ११ मंसिर २०८१, मङ्गलबार

सङ्कटमा एसियाकै ठूलो शालिग्राम

blog

तिलाचन पाण्डे

तम्घास, असोज २७ गते । एसियाकै ठूलो शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण अवस्थामा पुगेको छ। गुल्मी, पर्वत र स्याङ्जाको सङ्गमस्थल सेतीवेनीमा रहेको शिला शालिग्राम कालीगण्डकी नदीको कटानले जीर्ण अवस्थामा पुगेको हो। 

कालीगण्डकी नदीले गुल्मीतर्फबाट कटान गर्दै लगेको र शिला शालिग्रामको वरपर लगाइएको पर्खाल पनि भत्किएपछि शिला शालिग्राम संरक्षणमा सरोकारवाला कसैको ध्यान जान सकेको छैन। 

जान–अन्जानमा भएगरेका पापबाट मुक्ति मिल्ने र चिताएका सबै मनोकामना पूरा गरिदिने शिला शालिग्राम यति बेला आफैँ संरक्षणमा नरहनु दुःखद पक्ष रहेको कालीगण्डकी गाउँपालिका, गुल्मीका युवा तिलक रानाले बताउनुभयो। 

एसियाकै चर्चित शिला शालिग्रामको संरक्षणमा चासो नदेखाउनु, सम्बन्धित निकायले नदेख्यैजस्तो गर्नुले धर्मकर्म, संस्कृति र ऐतिहासिक पक्षप्रति ध्यान नदिएको गुुनासो रानाको भनाइ छ। यता कालीगण्डकी गाउँपालिका, गुल्मीका अध्यक्ष वेदबहादुर थापाले तीनवटै जिल्लाका तीन स्थानीय तहले साझा धारणा बनाएर संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो।

तीन स्थानीय तहको बैठक बसेर धर्म, संस्कृति र ऐतिहासिक क्षेत्रको संरक्षणका लागि लाग्नुपर्ने बताउँदै शिला शालिग्रामको संरक्षणका लागि आफू र पालिका सदैव लाग्ने उहाँले बताउनुभयो। पर्वतको बियादी गाउँपालिकाका अध्यक्ष प्रवीण गुरुङले शिला शालिग्रामको संरक्षणमा लाग्ने बताउनुभयो। तत्कालका लागि  कालीगण्डकी नदीको कटानबाट रोक्न गण्डकी प्रदेशका तर्फबाट १० लाख रुपियाँ व्यवस्थापन गरेको तर निरन्तर वर्षा भइरहेकाले काम गर्न समस्या भएको उहाँले बताउनुभयो।

जिल्लाको विपत् व्यवस्थापनको बैठकले पनि शिला शालिग्रामको संरक्षण र त्यहाँको बजार व्यवस्थापन गर्न योजना बनाउने भन्ने निर्णय भएकाले संरक्षणका लागि पालिका हरदम तयार रहेको उहाँको दाबी छ। यता स्याङ्जाको गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले सानो रकमले संरक्षणका लागि सम्भव नहुने भएकाले प्रदेश र केन्द्रसँग समन्वय भइरहेको बताउनुभयो।

सो क्षेत्र पर्यटनका हिसाबले पनि महत्त्वपूर्ण भएकाले यसको संरक्षण गर्नु सबैको दायित्व भएको उहाँको भनाइ छ। बजारछेउको बस्ती पनि डुबानको जोखिममा छ नि, के छ योजना भनेर जिज्ञासा राख्दा उहाँले प्राविधिकहरूको टोली गठन गरेर अध्ययन गरी योजना बनाउने बताउनुभयो।