• ११ मंसिर २०८१, मङ्गलबार

बाढीपीडितलाई डेंगु र मलेरियाको जोखिम

blog

डुडुवा १ को विद्यालयमा रहनुभएका बाढीपीडितहरु । फाइल तस्बिर

सिराज खान 

नेपालगञ्ज, असोज २६ गते । सात दिनको अविरल वर्षाका कारण आएको बाढी र डुबानबाट विस्थापित भई विद्यालय र त्रिपालमुनि बस्दैआएका बाँकेका बाढीपीडितलाई डेंगु र मलेरियाको उच्च जोखिम रहेको छ ।  

बाढीले घर डुबानमा परेपछि अहिले जिल्लाका सयौँ बासिन्दा अग्लो ठाउँमा रहेका विभिन्न विद्यालय र सरकारले वितरण गरेको त्रिपालमुनि बसिरहेका छन् । 

चारैतिर पानी जमेको र खुला ठाउँमा बस्नुपर्दा उनीहरूलाई डेंगु र मलेरियाको डर तथा चिन्ताले पिरोलिरहेको पीडितले बताएका छन् । सबैभन्दा पहिले बाढीबाट विस्थापित भई गाउँ नजिकैको विद्यालयमा ६ दिनदेखि बसिरहनुभएका बाँके डुडुवा गाउँपालिका –१ कृषि चौफेरि गाउँका राम यादवले विद्यालयमा लामखुट्टे आतङ्क रहेको बताउँदै डेंगु र मलेरियाको डर रहेको बताउनुभयो ।  

करिब एक सय २५ परिवार एकै विद्यालयमा कोचाकोच गरेर बसेकाले समस्या भएको र लामखुट्टेबाट सबै जना पीडित रहेकाले डेंगुको त्रासमा बाँचीरहेको बताउनुभयो । अधिकांश पीडितले भुईँमा सुत्नुपर्ने र झुल नहुँदा लामखुट्टेले रातभरि सुत्न नदिने उहाँहरूको भनाइ छ ।  

सोही प्रकारले बाढीले घर डुबानमा परेपछि नेपालगञ्ज –२० गायत्री टोलका पेम्बा तामाङसहित करिब ८० परिवार तीन दिनदेखि नजिकैको विद्यालयमा आश्रित रहनुभएको छ । उहाँहरू सबैलाई डेंगु सङ्क्रमणको चिन्ताले सताइरहेको तामाङको गुनासो छ । 

पीडा राप्तीसोनारी गाउँपालिका २ टिकलीपुरका बाढीपीडितको पनि छ । उहाँहरू नजिकैको अग्लो स्थानमा रहेको विद्यालयमा आश्रय लिइरहेका छन् । त्यहाँ पनि लामखुट्टे र चिसोले सताइरहेकाले केही बालबालिका बिरामी पर्न थालेको स्थानीय रमेश पौडेलको भनाइ छ । 

स्थानीय सरकारले खाद्यान्न र झुलसहित लामखुट्टे धपाउने धूप पनि वितरण गर्नुपर्ने माग टिकलिपुरका पीडितको भनाइ छ । बाढीपीडित शान्ति ओलीले झुलको व्यवस्था नभए धेरै जना डेंगु र मलेरियाको सङ्क्रमणमा पर्ने बताउनुभयो । 

जिल्लाका अधिकांश बाढीपीडितहरूले डेंगु सङ्क्रमणको जोखिममा परेको भन्दै तत्काल झुलको व्यवस्था हुनुपर्ने माग गर्नुभयो । विभिन्न सेल्टरमा रहेका बाढीपीडित वृद्धवृद्धा र बालबालिका चिसोका कारण बिरामी हुन थालेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले विस्थापितहरूले खाद्यान्न, लामखुट्टे र भाइरल ज्वरोजस्ता समस्याबाट ग्रस्त हुन थालेको जानकारी आएको र सो सम्बन्धमा सम्बन्धित पालिका र वडालाई व्यवस्था मिलाउन आग्रह गरिएको बताउनुभयो ।  

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले सबैभन्दा पहिले समितिको ध्यान उद्धारमा केन्द्रित रहेको बताउनुभयो ।  

बाँकेमा मात्रै बाढी र डुबानबाट करिब १५ हजार बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन् । ५ हजार बढी विस्थापित भएको विपद् व्यवस्थापन समितिले जनाएको छ ।