• ११ मंसिर २०८१, मङ्गलबार

पार्टीले टिकट नदिएपछि दल बदलेर उम्मेदवारी

blog

लुम्बिनी प्रदेश ब्युरो

लुम्बिनी, असोज २५ गते । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा जस्तै यस पटक पनि उम्मेदवारीका लागि नेताहरूले दल अदलबदल गरेका छन्। पार्टीबाट टिकट नपाएपछि अर्को पार्टीमा र केहीले स्वतन्त्रबाट उम्मेदवारीसमेत दिएका छन्। 

मन्त्रीद्वारा दल परिवर्तन

कपिलवस्तु समाचारदाताका अनुसार लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सहसराम यादव जनता समाजवादी पार्टी परित्याग गरी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएको छ। नेकपा एमाले र जसपा गठबन्धनबाट यादवको टिकट पक्का भए पनि मनोनयन गर्ने दिन उहाँले कांग्रेस प्रवेश गरी कपिलवस्तु क्षेत्र नम्बर १ (ख) प्रदेश सभा सदस्य पदमा उम्मेदवार दिनुभएको छ।

लोकतन्त्र र सङ्घीयताको रक्षा गर्नका लागि पाँच दलीय गठबन्धनको आवश्यकता रहेको बताउँदै जसपा त्याग गरेको यादवले बताउनुभयो। मन्त्री यादव कांग्रेसबाट उम्मेदवारी दिएलगत्तै एमालेले मधुसुधन चौधरीलाई उम्मेदवार बनाएको छ। 

जसपा र एमाले बीचको सहमतिअनुसार प्रतिनिधि सभाको ३ नम्बर क्षेत्र र प्रदेश सभाको ४ नम्बर क्षेत्रमा एमाले र प्रदेश सभाको २ नम्बर क्षेत्रमा जसपाले उम्मेदवारी दिने सहमति भएको थियो। 

उम्मेदवार नै कांग्रेसमा प्रवेश गरेपछि जसपाले कांग्रेस निकट मेवालाल यादवलाई उम्मेदवार बनाएको छ। कपिलवस्तु क्षेत्र नम्बर ३ (ख) २ जना उम्मेदवार दल परिवर्तन गरी प्रदेश सभा सदस्य पदमा उम्मेदवार बनेका छन्। सो क्षेत्रमा एमाले परित्याग गरी मिर्जा रासिद वेग जनता प्रगतीशील पार्टीबाट उम्मेदवार बन्नुभएको छ। 

यसैगरी सत्ता गठबन्धनबाट टिकट नपाउने भएपछि जसपाका जानकी यादव राप्रपा प्रवेश गरी उम्मेदवार हुनुभएको छ। यादव स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षको टिकट नपाए पछि कांग्रेस परित्याग गरी जसपामा प्रवेस गर्नुभएको थियो। यसै गरी क्षेत्र नम्बर ३ (क)मा कांग्रेस परित्याग गरी देवराज भारती जनमत पार्टीबाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिनुभएको छ। 

टिकटकै लागि दल परिवर्तन

देउखुरी समाचारदाताका अनुसार आफू आबद्ध दलबाट निर्वाचनका लागि टिकट नपाउने भएपछि दल परिवर्तनको लहड दाङमा पनि देखिएको छ। नेकपा एमालेकी नेत्री तथा पूर्व सांसद गङ्गा थारू एमाले पार्टी परित्याग गरेर हाम्रो नेपाली पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागि दाङ क्षेत्र नं. १ बाट उम्मेदवार बन्नुभएको छ।

यसैगरी कांग्रेस पार्टी दाङका जिल्ला सदस्य देवराज पाठकले पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको छ। नयाँशक्ति पार्टी हुँदै जनता समाजवादी छाडेर राष्ट्रिय उन्मुक्ति पार्टीमा लाग्नुभएका सुरेन्द्र चौधरी प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्नुभएको छ।

कांग्रेसकी पूर्वकेन्द्रीय सदस्य तथा पूर्वसांसद पार्वती डीसी चौधरी राष्ट्रिय उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभा सदस्यको समानुपातिक सूचीमा पर्नुभएको छ। नेकपा एमालेमा प्रवेश गर्नुभएका गङ्गाराम भट्टराई दाङ निर्वाचन क्षेत्र नं. १ (क) बाट उम्मेदवार बन्नुभएको छ। 

लामो समयसम्म नेकपा माओवादी केन्द्रमा आबद्ध रहेका टङ्कबहादुर विष्टले आइतबार पार्टी परित्याग गरेको घोषणा गरी हाम्रो नेपाली पार्टीबाट दाङ निर्वाचन क्षेत्र नं. १ (क)मा प्रदेश सभा सदस्यमा मनोनयन दर्ता गराउनुभएको छ। 

उम्मेदवार बन्न पार्टी परिवर्तन 

नेपालगञ्ज समाचारदाताका अनुसार आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलबाट उम्मेदवार बन्न चाहेर प्रचारप्रसारसमेत सुरु गरिसकेका नेताहरूले टिकट नपाउँदा धेरैले पार्टी परिवर्तन गरेका छन्। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मुस्लिम मुक्ति मोर्चाका संयोजक अतहर हुसेन फारुकी जसपामा प्रवेश गर्नुभएको छ। 

बाँके क्षेत्र नम्बर २ (ख)मा टिकट नपाएपछि फारुकीसँगै माओवादी केन्द्रका मधेशी नेता आदेश अग्रवाल पनि जसपामा प्रवेश गर्नुभएको छ। अग्रवाललाई जसपाले क्षेत्र नम्बर २ (ख)बाट उम्मेदवार बनाएको छ। 

यस्तै माओवादी केन्द्रबाट टिकट नपाएपछि नेता अमर खड्काले जसपामा प्रवेश गरी क्षेत्र नम्बर १ (क)का लागि उम्मेदवारी दिनुभएको छ। जसपाका केन्द्रीय सदस्य बाबु खा पठान जनमत पार्टीमा प्रवेश गरेर क्षेत्र नम्बर २ (क)बाट उम्मेदवार बन्नुभएको छ।

जसपाका समसुल हक राईले पनि पार्टी छोडेर क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ भने अब्दुल हकिम हलवाइले एमाले परित्याग गरी पनि क्षेत्र नम्बर २ (ख)बाट उम्मेदवारी दिनुभएको छ। 

व्यापार व्यवसायी दिवाकर खनालले शिवसेनाको सहयोगमा उम्मेदवारी दिनुभएको छ। एमाले नजिक विक्रम यादवले पनि टिकट नपाएपछि स्वतन्त्र रूपमा क्षेत्र नम्बर १ (क)बाट उम्मेदवारी दिनुभएको छ। 

सो क्षेत्रमा एमालेले राप्रपाका नरेन्द्र पौडेललाई समर्थन गरेको छ। क्षेत्र नम्बर ३ बाट टिकट नपाएपछि कांग्रेसका चन्तराम थारू र रवीन्द्रमान श्रेष्ठले रेशम चौधरीको दल नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिनुभएको छ। पूर्वमन्त्री तथा एकीकृत समाजवादीका केन्द्रीय सदस्य दलबहादुर सुनारले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ।  

महिला उम्मेदवार शून्य

तानसेन समाचारदाताका अनुसार पाल्पामा प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये महिलाको उम्मेदवारी शून्य रहेको छ। यहाँको छ पदका लागि विभिन्न दल र स्वतन्त्र गरी ४७ जनाले प्रत्यक्षतर्फ उम्मेदवारी दिएकामा महिलाको उम्मेदवारी शून्य भएको हो। 

जिल्लामा क्रियाशील १५ दलबाट एक जना पनि महिलाको प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी पर्न नसकेको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ। पाल्पाको दुई प्रतिनिधि सभा सदस्य पदमा विभिन्न दल र स्वतन्त्रबाट गरी २४ जना उम्मेदवारमध्ये सबै पुरुष रहेका छन्। यस्तै प्रदेश सभा सदस्यको चार पदका लागि प्रत्यक्षतर्फ चुनाव लड्न २३ जना पुरुषले मात्र उम्मेद्वारी दिएका छन्। स्वतन्त्र व्यक्तिबाट आएको उम्मेदवारीमा समेत महिला पर्न नसकेको जिल्ला निर्वाचन अधिकारी रुक्माङ्गत अर्यालले जानकारी दिनुभयो। 

दलका भन्दा स्वतन्त्र बढी

रुकुमपूर्व समाचारदाताका अनुसार रुकुमपूर्वमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा विभिन्न दलका भन्दा बढी स्वतन्त्र उम्मेदवार रहेका छन्। २६ जनाको मनोनयन दर्ता भएकामध्ये १४ जना स्वतन्त्र उम्मेदवारीको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले बताउनुभयो।