• १२ मंसिर २०८१, बुधबार

सञ्चारमन्त्री कार्कीको सुनसरी ४ बाट मनोनयन दर्ता

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज २३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभातर्फ सुनसरी क्षेत्र नम्बर ४ बाट मनोनयन दर्ता गराउनुभएको छ । नेपाली कांग्रेसका नेतासमेत रहनुभएका कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवा पुगेर मनोनयन दर्ता गराउनुभएको हो । 

कांग्रेसका तर्फबाट सुनसरी ४ मा दोस्रो पटक उम्मेदवारी दिनुभएका कार्की नेकपा (एमाले) का जगदीश कुसियतसँगको प्रतिस्पर्धामा हुनुहुन्छ । मनोनयन दर्ता पश्चात् सञ्चारकर्मीसँग कार्कीले संक्षिप्त कुरा गर्दै मुलुकको विकास र समृद्धिको चाहना पूरा गर्न निर्वाचन अपरिहार्य रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘जसपा केही समस्या देखाएर बाहिरिएको छ । तर अहिलेको आवश्यकता हेरेर हामी अघि बढेका छौँ । सोहीअनुरूप लोसपासँग चुनावी तालमेल भएको छ । गठबन्धन मुलुकका लागि आवश्यक छ । निर्वाचनपछि पनि कायम रहनेछ ।’

यसैबीच एमालेका नेता भीम आचार्यले सुनसरी २ बाट मनोनयन दर्ता गराउनुभएको छ । आचार्य कांग्रेसका सीताराम मेहताको प्रतिस्पर्धी बनेर चुनाव लड्दै हुनुहुन्छ । कांग्रेसका नेता विजयकुमार गच्छदारले सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट मनोनयन दर्ता गराउनुभएको छ ।  सुनसरी ३ मा पुनः गच्छदारको भिडन्त एमाले नेत्री भगवती चौधरीसँग हुँदै छ ।