• १३ साउन २०८१, आइतबार

वरिष्ठ नेता पौडेलद्वारा उम्मेदवारी दर्ता

blog

अमरराज नहर्की

तनहुँ, असोज २३ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । नेता पौडेलले गठबन्धनको तर्फबाट  उम्मेदवारी दर्ता गर्नुभएको हो । 

उम्मेदवारी दर्ता गर्दै पौडेलले समृद्धि, सुशासन र नयाँ युग शान्तिको अभियानको लागि पाँच दलबीच चुनावी गठबन्धन गरिएको बताउनुभयो । राजनीतिक स्थायित्व र शुसासनका लागि गठबन्धन गरिएको पौडेलको भनाइ छ । 

प्रतिनिधि सभा सदस्यका लागि तनहुँ क्षेत्र नम्बर १ बाट नेकपा (एमाले) का एकबहादुर रानाले उम्मेदवारी दिनुभएको छ । यसैगरी कांग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । यसैगरी कांग्रेस तनहुँका पूर्व सचिव विश्व बाँस्तोलाले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । 

प्रदेशतर्फ क्षेत्र नम्बर १ को  ‘क’ बाट गठबन्धनको तर्फबाट कांग्रेसबाट अशोककुमार श्रेष्ठ र ‘ख’ बाट माओवादी केन्द्रका हरिबहादुर चुमानले उम्मेदवारी दर्ता गराउनुभयो । एमालेको तर्फबाट ‘क’ रामबहादुर गुरुङ र ‘ख’ मा पूर्णबहादुर गुरुङले उम्मेदवारी दर्ता गर्नुभयो ।  

यसैगरी तनहुँ क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि गठबन्धनको तर्फबाट कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी उम्मेदवारी दर्ता गर्नुभएको छ । प्रदेश सभाको लागि ‘क’ माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपाने, ‘ख’ कांग्रेसका जीतप्रकाश आलेले उम्मेदवारी दिनुभएको छ । 

 प्रतिनिधि सभाका लागि नेकपा (एमाले) को तर्फबाट स्थायी कमिटी सदस्य किरण गुरुङले उम्मेदवारी दर्ता गर्नुभयो । एमालेको तर्फबाट प्रदेश सभाको लागि ‘क’ मा श्यामराज महत र ‘ख’ मा केदार सिग्देलले उम्मेदवारी दर्ता गर्नुभयो ।