• १० मंसिर २०८१, सोमबार

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

blog

काठमाडौं, असोज २३ गते । मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता भइरहेको बेला धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा पनि उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४ दशमबल ६२ अङ्कले उकालो लागेर एक हजार ८९८ दशमलव ३८ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ८ दशमलव ७८ अङ्कले उकालो लागेर ३७२ दशमलव २१ मा पुगेको छ । कूल २२४ कम्पनीको २५ लाख ३३ हजार ३९३ कित्ता शेयर ८३ करोड ६८ लाख ७३ हजार १४० मूल्यमा कारोबार भयो ।

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि भए पनि कारोबार रकममा भने प्रगति हुन नसकेको कारोबारबाट देखिन्छ । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । जीवन बीमा, विकास बैङ्क, निर्जीवन बीमा, लघुवित्त र उत्पादन उपसमूहको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

आइतबारको कारोबारपछि कूल पुँजीकरण २७ खर्ब २८ अर्ब ५५ करोड २० लाख ६० हजार २२२ बराबर कामय भएको छ । नेप्सेका अनुसार, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु २२ करोड ६९ लाख ८१ हजार ७४४ बराबरको कारोबार भएको छ ।

नबिल बैङ्क रु तीन करोड ५१ लाख ९८ हजार ४२९, हिमालयन डिस्टिलरी रु दुई करोड ३१ लाख ४४ हजार ५७१, अपि पावर कम्पनी रु एक करोड ८९ लाख १७ हजार २६९ र शिवम् सिमेन्टको रु एक करोड ७७ लाख ८४ हजार २५४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार, सप्तकोसी डेभलपमेन्ट बैङ्क ९ दशमलव ९५, उपकार लघुवित्त ९ दशमलव ८४, गुह्यश्वरी मर्चेन्ट बैङ्क ८ दशमलव ७०, मितेरी डेभलपमेन्ट बैङ्क ८ दशमलव २३ र एक्सेल डेभलपमेन्ट बैङ्कका लगानीकर्ताले ७ दशमलव ९७ प्रतिशतले कमाएका छन् ।

यस्तै, ग्लोबल आइएमई ब्यालेन्स फण्ड एक चार दशमलव ४८, आरबीबी म्युचुअल फण्ड एक एक दशमलव ९७, सिद्धार्थ यन्भेस्टमेन्ट ग्रोथ स्किम १ दशमलव ९६, सिटिजन म्युचुअल फण्ड एक एक दशमलव ८३ र नबिल ब्यालेन्स फण्ड दोस्रोका लगानीकर्ताले १ दशमलव ८० प्रतिशतले गुमाएका छन् ।