प्रतीक इच्छुक शर्मा
सल्यान, असोज २२ गते । सल्यानमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका –८ मार्के ओरगाउँका १२ वर्षीय अजय बिकको पहिरोमा परी ज्यान गएको छ । त्यस्तै, त्रिवेणी गाउँपालिका –२ गैह्रगिठीका माथिबाट झरेको ढुङ्गाले लागेर चन्द्रबहादुर पुनको मुत्यु भएको छ ।
हिजो बेलुका पहिरोमा परी हराइरहेका बिकको खोजतलास गर्ने क्रममा आज शनिबार बिहान नेपाली सेनाको टोलीले विकको शव फेला पारेको हो । घरबाट नाउला बजार जाँदैगर्दा बाटोमा आएको पहिरोमा पुरिएर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
त्रिवेणी गाउँपालिका –२ गैरी गिठीमा खानेपानीको ट्याङ्की सफा गर्ने क्रममा माथिबाट झरेको ढुङ्गा लागेर त्रिवेणी गाउँपालिका –२ गैरागिठीका अन्दाजी ४४ वर्षीय चन्द्रबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आज दिउँसो पुन लगायत ६ जनाको टोली घरदेखि झन्डै २ किलोमिटर टाढा छहरेखोलामा रहेको खानेपानीको मुहान सफा गर्न गएको थियो । ढुङ्गा लागेर पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो । घटना स्थलमा प्रहरी पुगेको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।