गोरखापत्र अनलाइन
काठमाडौं, असोज २२ गते । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ । सिंहदरवारमा शनिबार पत्रकार सम्मेलन गरी सभामुख सापकोटाले सो घोषणा गर्नुभएको हो ।
लगातार तीन पटकसम्म आफूलाई निर्वाचित गराएर राष्ट्रिय भूमिका निर्वाह गर्ने र जनताको सेवा गर्ने अवसर दिएको भन्दै सिन्धुपाल्चोकका मतदाताप्रति उहाँले आभार व्यक्त गर्नुभयो । सभामुख सापकोटाले आफू संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अग्रगामी राजनीतिक अभियन्तामार्फत आम नेपाली नागरिकको समुन्नतिका लागि आफ्नो बुद्धि र विवेकले भ्याएसम्म काम गर्ने उहाँको भनाइ छ । सभामुख सापकोटाले राज्य र जनताले आवश्यक ठानेमा जुनसुकै जिम्मेवारी वहन गर्न तयार रहने प्रष्ट पार्नुभयो ।
“राजनीतिक एवम सामाजिक मञ्चमार्फत सबै नेपालीको स्वाभिमान र आत्मविश्वास उचो बनाउन काममा कुनै कमी आउन दिनेछैन ।” उहाँले भन्नुभयो, ‘मलाई लगातार तीन पटक निर्वाचित गरी राष्ट्रिय भूमिका निर्वाह गर्ने र जनताको सेवा गर्ने अवसर दिनुभएकोमा सिन्धुपाल्चोकका मतदाता एवम् जनसमुदायमा आभार व्यक्त गर्दछु ।”
सिन्धुपाल्चोक र खासगरी क्षेत्र नम्बर १ का मतदाता एवम् शुभचिन्तकहरुले पुनः जनप्रतिनिधिको भूमिका निर्वाह गरोस् भन्ने शुभेच्छा राख्नुभएकोमा पनि उहाँले धन्यवाद व्यक्त गर्नुभयो । संसदीय भूमिकामा नरहे पनि म देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील भइरहनेछु उहाँले बताउनुभयो ।
सभामुख सापकोटा २०६४ को पहिलो संविधान सभा र २०७० को दोस्रो संविधान सभामा सिन्धुपाल्चोक क्षेत्र २ बाट निर्वाचित हुनुभएको थियो । २०७४ को निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र १ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि बलात्कार आरोप लागेपछि उहाँले राजिनामा दिनुभयो । माओवादी केन्द्रबाट सभामुख बन्ने अवसर उहाँलाई प्राप्त भयो ।