• २२ वैशाख २०८१, शनिबार

सत्ता गठबन्धनको सिट बाँडफाँटबारे लोसपासँग छलफल हुँदै

blog

काठमाडौं, असोज २२ गते । सत्ता गठबन्धनको आगामी निर्वाचनमा सिट बाँडफाँट टुङ्ग्याउन शनिबार पनि छलफलमा जुट्दैछ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रतिनिधिसभा र प्रदेशसभाको सिट सङ्ख्याबारे आजको बैठकले अन्तिम टुङ्गो लगाउने बताउनुभयो ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिटमध्ये अझै केही सिटमा अन्तिम सहमति हुन बाँकी रहेको खनालको भनाइ छ । नेता खनालले आजको बैठकले टुङ्ग्याउनैपर्ने पनि बताउनुभयो ।  यसैगरी, सत्ता गठबन्धन लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूसँग केहीबेरमै बालुवाटार बैठकमा जुट्दैछ । लोसपा अध्यक्ष महन्थ ठाकुरको निजी सचिवालयका अनुसार लोसपाले १५ सिटको दाबी गर्ने जनाइएको छ । 

पाँचदलीय सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी एमालेसँग चुनावी तालमेलका लागि जुटेपछि लोसपा शुक्रवारदेखि गठबन्धनको बालुवाटार बैठकमा जुटेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको सिट सङ्ख्याबारे गठबन्धनको हिजो राति अबेरसम्मको बैठकमा समझदारी जुटेको छ । तर, यसले अन्तिम रुप पाउन बाँकी रहेको नेताहरूको भनाइ छ । 

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित नेकपा [माओवादी केन्द्र] का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा [एकीकृत समाजवादी] का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चा लगायतका शीर्ष नेताहरू सहमति प्रयासका लागि निरन्तर छलफलमा हुनुहुन्छ ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।