• १३ साउन २०८१, आइतबार

पहिरोले भिमाद बजारको अस्तित्व मेटिँदै

blog

पहिरोले जोखिममा परेको भिमाद बजार क्षेत्र । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की  

भिमाद (तनहुँ), असोज २१ गते । पहिरो नियन्त्रण लिन नसक्दा तनहुँको भिमाद नगरपालिका–६ स्थित ऐतिहासिक भिमाद बजारको अस्तित्व मेटिने जोखिम बढेको छ । पहिरोले स्थानीय बजारमा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन् ।

सेती नदीले खोतलेर र अबिरल वर्षाले पहिरो खसिरहेकाले पहिरोले खसेर भिमादको मूख्य बजार क्षेत्रको ४५ घर परिवार विस्थापित भएका छन् । यो भन्दा तेब्बर सङ्ख्याको घरमा पनि जोखिम भइसकेको वडाध्यक्ष श्यामसुन्दर जोशीले बताउनुभयो । 

पहिरोले गर्दा घर छाडेर डेरामा बास बस्नुपरेको स्थानीय रेणु वाग्लेले बताउनुभयो । धेरै वर्ष अघिदेखि यस ठाउँमा पहिरो खस्दैआए पनि तटबन्धन हुन नसक्दा जोखिम झन् बढेको उहाँको भनाइ छ । 

घरको आधा भाग नदीमा खसेकाले बडादशैं समेत भाडाको घरमा मनाउनुपर्दा खल्लो महसुस भएको उहाँले बताउनुभयो । ‘हाम्रो कुरा कसैले सुनेन, नेताहरुले दश वर्ष अघिदेखि समाधान गर्छु भने तर गरेनन्’ वाग्लेले गुनासो गर्नुभयो  । 

पहिरो पीडित माया हिराचनले पहिला घरको पछाडि तरकारी लगाउने ठाउँसमेत भएकोमा अहिले पहिरो खसेर आधा घर मात्रै बाँकी रहेको बताउनुभयो । हाल निरन्तर परेको बर्षाले डेढ दर्जन घर पछाडिबाट पहिरो खसिरहेकाले जोखिम बढेको वडाध्यक्ष जोशीले जानकारी दिनुभयो । 

उहाँका अनुसार २०५२ देखि पहिराे निरन्तर खस्ने गरेकाले भिमादको मुख्य बजार नै जोखिममा परेको छ । घरबाट सेतीको डिलसम्म १५ मिटरसम्म दूरी थियो । अहिले एक इन्च दूरी छैन उहाँले भन्नुभयो । पहिरोले भिमाद बजारको कुमार चोकको सडकमाथिको भागसमेत  जोखिममा परेको उहाँले बताउनुभयो ।

नदी कटान र पहिरो रोक्नलाई सानो बजेटले काम नगरकाले सङ्घ र प्रदेश सरकारसँग माग गर्दा बजेट पर्याप्त नआएको उहाँले बताउनुभयो । पहिरो नियन्त्रणको लागि करिब १७ करोड रुपियाँ बजेट लाग्ने नगरपालिकाले जनाएको छ । सङ्घ तथा प्रदेश सरकारसँग सो बजेट माग गरिएको नगरपालिकाका सूचना अधिकारी टेकादेवी ढकालले जानकारी दिनुभयो । 

गत वर्ष गण्डकी प्रदेश सररकाले ५० लाख रपियाँ विनियोजन गरे पनि सानो रकमले पहिरो रोक्न नसकेको ढकालले बताउनुभयो । बस्ती जोगाउन नगरपालिकाको बजेटले गत बर्ष नै बिस्तृत अध्ययन प्रतिवेदन तयार गरेको उहाँको भनाइ छ । 

स्थानीय सरकारले वर्षेनी १० देखि २० लाख रुपियाँ खर्चेर कटान नियन्त्रणको प्रयास गर्दैआएको भए पनि पर्याप्त नभएको स्थानीयको भनाइ छ । भिमाद बजार ऐतिहासिक बजार भएकाले त्यसकै नामबाट  भिमाद नगरपालिका नाम राखिएको हो ।