• २८ वैशाख २०८२, आइतबार

संस्मरण

सम्झनामा दशैँ

blog

टीकाको दिन टीको लाइदिँदै बुबाले भन्नुभयो, आजदेखि केटाकेटीको दशैँ गयो । अब पूर्णेसम्म त आउनेजाने पाहुनापातको हो । सधैँझैँ यस पालि पनि बुबाले त्यसै भन्नुभयो । हाम्रो अनुहार खुम्चिएर सानो भयो । आँखाका खोँचखोँच आँसुले भरिए । आज त टीकाको दिन । बुबा भन्नुहुन्छ, आजैदेखि दशैँ सकियो । सानै भए पनि घरको हर्ताकर्ता जेठोबाठो मै थिएँ । मभन्दा ठूला दिदीहरू भए पनि हरेक कुरामा मलाई नै अघिसार्नुहुन्थ्यो बुवाले । चाडवाडमा सरसामान जुटाउन सँगसँगै लिएर हिँड्नुहुन्थ्यो मलाई । सानैदेखि सिकाउँदै गरेपछि छिट्टै लय समाउँछ । पछि आफैँलाई सजिलो हुन्छ । आफ्नो बिँडो थाम्छ केटाले । बुढेसकालमा आफूलाई उति पिरलो पर्दैन । यस्तै ठानेर हुनुपर्छ । ठाउँठाउँमा यहाँ यसो गर्नुपर्छ भनेर सिकाउँनु पनि हुन्थ्यो बुबा अघि बसेर । घटस्थापनाको दिन जमरा राख भन्नुहुन्थ्यो । माटो ल्याएर यहाँनेर थुपार । चोखोनितो गरेर जमरा राख्नुपर्छ भन्नुहुन्थ्यो । म बुबासँगसँगै अराएको काम गर्थें । त्यसैले मलाई बुबाको सिको टिप्न गाह्रो भएन ।

हाम्रो घरमा सधैँ मकैका मात्र हुन्थे जमरा । मैले नै हो अरूले जस्तै जहु र धानका पनि जमरा राखौँ भनेर राख्न थालेको । म जमरा राख्न सक्ने र जान्ने भएपछि बुबाले ल तैँ गर है केटा भनेर मलाई नै छोड्दिनुभयो । पानी हाल्न बिर्सनु हुँदैन जमरामा । बिहानबेलुकै पानी हाल्दियो भने छिटो बढ्छन् । लामा र पहेँला भए जमरा सबैका मनपर्दा हुन्थे । राम्रोसँग छोपिएन भने त पहेँला हुँदैनन् नि जमरा । हरिया जमरा लाउँनु हुँदैन भन्नुहुन्थ्यो बुबा । म सकेसम्म थुन्चेले छोप्थेँ,जमरा । थुन्सेले नपुग्दा गुन्द्रीले वरिपरि बेरिदिएको मलाई याद छ । उज्यालो छिर्यो भने जमरा हरिया हुन्छन् । उज्यालो छिर्न दिनुहुँदैन भनेर बेलाबेला यसरी सुझाउनु हुन्थ्यो बुबा । सबैलाई मन पर्ने लामा र पहेँला जमरा बनाउँन म खुब तम्सिन्थेँ । हरेक वर्ष दशैँमा जमरा राख्ने बेलामा मै अघि सर्थें । पहिलेपहिले त रहर पनि हुन्थ्यो । हजुरआमा हुँदाखेरि टपरीमा मात्र राख्नुपर्थ्यो जमरा । भुइँमा राखेका जमरा लाउन हुँदैन भन्नुहुन्थ्यो । पछि त भुइँमा राख्दा पनि हुने भयो । ढिकुटी छेउको अँध्यारो कुनामा राख्थ्यौँ, हामी जमरा । यहाँनेर राख्नू, छोप्न सजिलो हुन्छ भनेर बुबाले ठाउँ देखाइदिनु हुन्थ्यो । रातो माटोमा राम्रा आउँछन् जमरा । रातो माटोमा राख्नुपर्छ । रातो माटोमा राखेको राम्रो भन्नुहुन्थ्यो बुवा । म छिन्केर मसिनो रातो माटोमा राख्थेँ जमरा ।

घरबाट दिदीहरूसँग रोटेपिङ खेल्न भनेर कस्सिएर हिँडेको केको खेल्नु पिङ ! पिङ देख्दै मेरो सातो गयो । पहिलो पल्ट देखेको रोटेपिङ । बडाबडा पखेटा ! दुई जना दुईतिर उभिएर मच्चाउनुपर्ने । लिङ्गे पिङमा चाहिँ तैबरु–तैबरु विस्तारै बानी परेँ । त्यही पनि डरले दोहोरी त कहिल्यै खेलिनँ । टीकाको दिन भुइँ छोड्न टाढा जानुपर्दैनथ्यो । कहिले त हामी आफैँ पनि टाँकीको हाँगामा झुन्डाउँथ्यौँ लठारो ।

नौरथा लागेपछि घर पोत्न र चिउरा कुट्न मारामार हुन्थ्यो । म बाल्टीमा पानी बोकेर बुबाको अगिपछि दगुर्थें । रातोमाटो र पानीका छिटाले अनुहार नचिनिने गरी शरीर पोतिनुको मज्जा छुट्टै थियो । खड्कुलोमा रातो माटो घोलेको पानी बाल्टीमा बोकेर घरको छानाछाना चुली पोत्न बुबासँगसँगै कुदेको मलाई अझै सम्झना छ । आलै छ मलाई त्यो याद । नपुग्ने ठाउँमा भर्याङ लाएर चढ्नुपथ्र्यो । उहिले हामी रातो माटोले मात्र पोत्थ्यौँ घर । चुन र कमेरो फाप्दैन, हामीलाई लाउन हुँदैन भन्नुहुन्थ्यो बुबाआमा । पछि हामी बढेपछि दिदीहरूले कहाँ कहाँबाट कमेरो र कालीमाटी खोजेर ल्याउँन थाले । दिदीहरू तलतल कमेरो र कालीमाटीले पोत्थे । खास गरी झ्याल, ढोका र खोपीको वरिपरि बुट्टा निकालेर । त्यो हाम्रो पहिलेको पुरानो घर थियो । पछि नयाँ घर बनाएपछि त चुनले नै पोत्न थाल्यौँ । अशुभ त्यस्तो केही भएन । हामीले पनि चुन लाउन हुन्छ । चुन लाउँदा केही हुँदैन । चुन लाऔँ भनेर मैले ढिपी गरेपछि बुबाआमाले नाइनास्ति गर्नु भएन । घरमा चुन लाउने एउटा रहर ! मेरै ढिप्पीले पछिदेखि हाम्रो घर पनि हरेक दशैँमा चुनले पोत्न थाल्यौँ । यो पनि मैले सम्झिराखेको छु ।

गाउँले आफ्ना दामलेसँग दिदीहरू चिउरा कुट्ने पर्म लाउँथे । कोही पर्म तिर्न आउँथे । कोही पर्म लाउँन त कोही त्यतिकै सघाउन पनि आउँथे । २५-३० पाथीसम्म धानका चिउरा कुट्थ्यौँ हामी । तल्लो पनि १ मुरी धानका चिउरा नकुटे त टीको पनि लाग्दैन भन्नुहुन्थ्यो आमा । ११ जनाको जम्मु परिवार त छँदै थियो हाम्रो । आउँनेजानेको लहरो पनि लामै थियो । २, ४ मुरी धानका चामल बनाएर राख्नुपथ्र्यो । सोह्रश्राद्ध लागेपछि नौरथासम्मलाई मासु खान बन्द । सोह्रश्राद्धमा मासु खायो भने पितृले सराप्छन् भन्नुहुन्थ्यो बुबाआमा । ६ महिना अगिदेखि पोसेर राखेको १०, १५ धार्नीसम्मको खसी हुन्थ्यो । फूलपातीकै दिन ढालिन्थ्यो खसी । फूलपातीकै दिन झुन्डिन्थ्यो, रोटेपिङ–डाँडामा रोटेपिङ । सिमली डाँडामा लिङ्गेपिङ । रोटेपिङको पिरामा बसेर पिङ नमच्चीकनै म डाको छोडेर रोएको थिएँ । घरबाट दिदीहरूसँग रोटेपिङ खेल्न भनेर कस्सिएर हिँडेको केको खेल्नु पिङ ! पिङ देख्दै मेरो सातो गयो । पहिलो पल्ट देखेको रोटेपिङ । बडाबडा पखेटा ! दुई जना दुईतिर उभिएर मच्चाउनुपर्ने । लिङ्गे पिङमा चाहिँ तैबरु–तैबरु विस्तारै बानी परेँ । त्यही पनि डरले दोहोरी त कहिल्यै खेलिनँ । टीकाको दिन भुइँ छोड्न टाढा जानुपर्दैनथ्यो । कहिले त हामी आफैँ पनि टाँकीको हाँगामा झुन्डाउँथ्यौँ लठारो । त्यो हाम्रो खुसीको पिङ हुन्थ्यो । निजी पिङ । अलि ठूलो भएपछि त अष्टमीका दिन मार हान्न पनि बुबाले मलाई नै दिन थाल्नुभयो । कहिले कुभिण्डो, कुभिण्डो नहुँदा कहिले कोलाको कोसोलाई काठका ४ खुट्टा लाएर खसी बनाइन्थ्यो । बुबाले ठिक्क पारेर धुप लाएपछि मलाई छिनाल्न दिनुहुन्थ्यो । छिनाएको ठाउँमा पत्तिरङ दलेर खसी काटेको बनाउँथ्यौँ हामी ।

दुर्गा थाप्दा, उठाउँदा म बुबासँगै हुन्थेँ । आइज सिकिराख । पछि यो सब तैँले नै गर्नुपर्छ भन्नुहुन्थ्यो बुबा । दुर्गा थाप्न एउटा सानो कोलाको बच्चो उखेलेर ले जा भनेर अह्राउनु हुन्थ्यो । म ल्याउँथँे । उहाँले केके गर्नुहुन्छ छेउमा उभिएर म त्यो सब हेर्थें । हाम्रा कमाउने कामी, दमाई बालीघरे हुन्थे । वर्षभरि काम गरेको एक मुष्ठ मङ्सिरमा अन्न भर्नुपथ्र्यो हामीले । तोकेको अन्न हाम्रोबाट तिनले जहिले लगे पनि हुने । मङ्सिरमै भन्ने हुँदैनथ्यो । उनीहरूलाई हामीले उनीहरूको दशैँ भाग पनि छुट्याउनु पथ्र्यो । चामल, चिउरा, मासु आदिको । ती आफ्नो भाग लान्थे । दमाईलाई खसीको पुच्छ र कामीलाई घिच्रो दिने चलन थियो । यसमा बालीघरे दमाई, कामीको हकै लाग्थ्यो । ज्यालादारीको भने हक लाग्दैनथ्यो । उनीहरूले ज्याला मात्र पाउँथे । त्यतिबेलाको समय नै त्यस्तै थियो । बालीघरे र ज्यालादारीमा काम दिने, लिने । दशैँ लागेपछि दमाई लुगा सिउन कल लिएर गाउँ पस्थे । कामीहरू साँध लिएर हतियारमा साँध लाउन हिँड्थे । म दिनभरि कामी दाइसँग साँधको फित्ता तान्थेँ । उनी हतियारमा साँध लाइदिन्थे । बुवा  भन्नुहुन्थ्यो, साँध नलाएका हतियार दुर्गा थाप्न हुँदैन ।

बुबाआमाले दशैँमा नयाँ लुगा किनिदिनुहुन्थ्यो । दमाई दाइले छेकेर सिलाइ दिन्थे । नयाँ लुगा लाएर टीका लायो । पिङ खेल्न गयो । कति खुसी हुन्थ्यो मन ! हक लाग्थ्यो दशैँमा नयाँ लुगाको । चाहियो भनेपछि बुबाआमाले नकिन्दिएर धरै पाउनु हुन्नथ्यो । कहिले त बुबाआमाले दशैँमा नयाँ लुगा नकिन्दिने हुनुभयो, भने छँदाखाँदाका लुगा उहाँहरूले थाहै नपाई ढुङ्गामा दलिएर फटाइन्थ्यो र नयाँ लुगा किनाएरै छोडिन्थ्यो । त्यति गर्दा पनि नभएर कति पटक त हामी रोएको पनि मलाई सम्झना छ । त्यस्तै पर्यो भने त्यसो त कहिलेकाहीँ पुरानै लुगाले पनि काम चलाउनु पथ्र्यो । कुनै दशैँमा त्यस्तो भए मात्र नत्र त हरेक दशैँमा नयाँ लुगा पाइँन्थ्यो नै । त्यतिबेला हाम्रो किनमेल गर्न आउने बजार धरान थियो । हामी सातु–चामल बोकेर नुन, तेल र मरमसला लिन धरान आउँथ्यौँ । म पनि बुबाको पछि लाग्थेँ । सम्झना छ ।

टीकाको दिन टीका थाप्न हामी सबै गुरुरु आमैघर जान्थ्यौँ । चौहान बारीमा हाम्रो आमैघर थियो । आमैले टीको लाइदिएर दिदी, बहिनीहरूलाई पैसा दिन्थिन् । छोरो मान्छेलाई टीको लाएर पैसा दिनुहुँदैन भनेर मलाई नदिँदा त्यहाँ पनि म निक्कै नराम्रोसँग रोएँछु । आमैले अन्तिममा फुल्याउँदै ला तँलाई पनि यो भनेर रुपियाँ १ लेखेको कम्पनी हातमा राखिदिइन् । आमैसँग झगडा गर्यो भनेर उता बुबाको गोजीबाट त झन् ५ रुपियाँको नोट पो झर्यो । त्यहाँभन्दा कति खुसी हुनु म । दिदीहरूलाई चाहिँ टिको लाइदिएर पैसा दिने । मलाई चाहिँ टिको मात्र लाइदिने पैसा नदिने भनेर बुबासँग पनि मैले निक्कै रडाको गरेथेँ । पैसा नदिए टीको पनि नलाउने भनेर एक दशैँ मैले टीको लाउनै नमानेर रोएको पनि बिर्सेको छैन । त्यति गरेपछि बुबाले छोरालाई पनि टीको लाएर पैसा दिने गर्न थाल्नुभयो । दशैँमा कताकता टीका लाउन गएर थुप्रो पैसा भेलापारेको मलाई अझै याद छ । तिहारमा देउसी, भैलो खेलेर कमाएको पैसा पनि त्यहीँ जोडेर राखेको मीठो सम्झना पनि ताजै छ । साँच्चै रमाइलो हुन्थ्यो, त्यो बेला दशैँ तिहारमा । चाडवाड भन्नु केटाकेटी उमेरमा त रहेछ नि । भन्नु उसो होइन । टीका लाएर पैसा दिने ठाउँ छानीछानी गइन्थ्यो, टीका लाउन । पैसा नदिने ठाउँमा म त जान्न टीको लाउन भन्दिएछु मैले एक पल्ट आमा र दिदीहरूलाई ।

मेरो कुरा सुनेर उहाँहरू लडीलडी हाँस्नुभयो । अहिले पनि कहिलेकाहीँ यसले त सानामा यसो पो भनेको त भनेर हाँस्दै उल्लीबिल्ली पार्छन् मलाई दिदीहरू । पैसाको कुरा नगर्नु है भनेर दिदीहरूले आफन्तकोमा टीका लाउन मलाई लिएर गए । यो पनि उतिबेलाकै कुरा । टीका लाइसकेपछि यी मलाई त ५ रुपियाँ, तिमीहरूलाई कतिकति दिए ? भनेर सबैका अघि मैले सोधिहालेछु । दिदीहरूको अनुहार बादल लागेजस्तो भयो । घरपछाडि लगेर तँलाई हामीले घरमा के भनेर ल्याएका थियौँ ? बिर्सिस भनेर दिदीले चाम कस्दा मात्र मैले सम्झेँ । पैसाको कुरै नगर्नु । यति दिए उति दिए भनेर पैसाको कुरा झिक्लास् त्याँ, लाज हुन्छ भनेका थिए । भन्न त मैले यसो खाँबामा छलिएर दिदीहरूले मात्र सुन्ने गरी भनेको थिएँ । टीका लगाइदिने घरका सबैले सुनेछन् । एकअर्काको अनुहारमा हेरेर गलल हाँसे । अलिअलि सम्झना छ ।

त्यो बेलाको दशैँको रमाइलो यो बेलाको दशैँमा कहाँ छ र । मैले सम्भिराखेको छु । त्योबेला रङ पाइँदैनथ्यो । निधारभरि अक्षतामा दही हालेर मुछेको सेतो टीका लाइन्थ्यो । पछि पत्तिरङ आयो । त्यसपछि दही, अक्षता र रातो पत्तिरङ मुछेर टीका लाउन थालियो । अविर निस्केको त हिजोअस्ति जस्तो लाग्छ । दशैँमा टीका लाएर पाएको दक्षिणाको त्यो बेला पनि ठूलै बिटो हुन्थ्यो हाम्रो हातमा । कसको बिटो ठूलो कि कसले बिटो ठूलो पार्ने, हामी केटाकेटी बीच होडबाजी चल्थ्यो । गाउँघर प्लस मावल पनि गइयो भने त फर्कंदाको बिटो झन् ठूलै हुन्थ्यो । मावलमा त एउटै घरमा २० रुपियाँको नोटसम्म पाइन्थ्यो । त्यतिबेला २० रुपियाँ पनि ठूलै पैसा थियो । आमासँग मावल टीका लाउन जान हाम्रो तँछाडमछाड हुन्थ्यो । चाडवाड र मावली भनेको यस्तै केटाकेटी उमेरमा त रहेछ । त्यतिबेला दक्षिणा लिइन्थ्यो ।  यतिबेला भने दिइन्छ । आमाले कुनै काम अराउँदा आफूले नटेरेको र मैले भनेको मानिस् भने मात्र म तँलाई दशैँमा मावल लान्छु नभए लान्नँ । यसरी धम्क्याउँदा आफू लुरुक्क परेर अह्राएको काम गरेको मलाई अझै सम्झना छ ।

कुनै बेला हामीलाई काम लाउने आमाको ठूलो अस्त्र पनि बनेको थियो यो । त्यतिबेलाको जस्तो दशैँको रौनक कहाँ छ र अहिले ? त्यतिबेला र यतिबेलाको दशैँ मान्ने तौरतरिकामा नै ठूलो परिवर्तन आएको छ । भए पनि नभए पनि दशैँ, तिहार आएपछि त्यतिबेलाका अभिभावकको अनुहारमा खुसीयालीको गाढा रङ पोतिएको हुन्थ्यो । अहिले फिक्का रङ पोतिएको देखिन्छ । अर्काले व्यवहार ढाकिदिँदा र आफूले ढाक्नुपर्दा अनुहारको रङ नै फेरिँदो रहेछ । चाडवाड त उही हुन् । जीवनशैली मात्र फरक हो । त्यतिबेला बुबाआमाले ढाक्नुहुन्थ्यो व्यवहार । अहिले आफूले ढाक्नुपरेको छ । त्यही हो । त्यतिबेला बुवाआमालाई पिरोल्ने आफू भइयाथ्यो । अहिले आफूलाई पिरोल्ने अरू भएका छन् । पिरोल्नु र पिरोलिइनुको अन्तराल पनि व्यवहार अरूले ढाकिदिनु र आफूले ढाक्नुमा जस्तै ठूलो रहेछ ।

म जान्नेबुझ्ने भएदेखि हामीलाई सामान्यतः खानलाउनको दुः ख भन्ने थिएन । बुबाआमा सारै मिहिनेती र परिश्रमी हुनुहुन्थ्यो । घरमा भए पनि नभए पनि बुबाआमाले हाम्रो इच्छा कहिल्यै मार्नु भएन । पहाडको दूरदराज । ठाउँअनुसार हामीले चाडवाड पहिलेदेखि राम्रैसँग मानि ल्यायौँ । बुबाआमाको भनेसम्म खेतीपाती थियो । जीवनको उत्तराद्र्धमा आएर पो बरु हामी अलि खस्कियौँ । समय र परिस्थितिले पनि हामीलाई खस्काउँदै ल्यायो । पहिले चाडवाड टालटुले पाराले मनाइँदैनथ्यो । खुलेर मनाइन्थ्यो । अहिले टालटुले पाराले पनि मनाइन्छ । यस्तै हो, पहिले देखावटीपन पनि थिएन । अहिले देखावटीपन पनि छ । देखासेखी पनि छ । तडकभडक पनि छ । सबैले आफ्नो औकातअनुसार चल्नु उचित लाग्छ । त्यही  हो आफ्नो घाँटी हेरी हाड निल्नुपर्छ । त्यसो त बुबाले ठट्टा गरेर त्यसो भन्नुभएको हो । हाम्रा लागि फूलपातीको दिनदेखि टीका जाने पूर्णेको दिनसम्म नै दशैँ समान हुन्थ्यो । टीका जाने पूर्णेको दिन फेरि हामी आमैघर गएर त्यो सालको मैजारो टीका लाउँथ्यौँ । टीका लाइसकेपछि जमरा सेलाउनु पथ्र्यो । म खोलाको छेउमा लगेर बचेखुचेका जमरा टपरीसँगै सेलाउँथेँ । बुबा हाम्रो अनुहारतिर हेर्दै गयो, दशैँ अब आगौँको बाटामा भन्नुहुन्थ्यो । यसरी हरेक साल दशैँको मैजारो हुन्थ्यो ।

यथार्थमा त्यतिबेलाको दशैँ भित्री मनदेखि नै रमाइलो हुन्थ्यो । घर–परिवारका सदस्य सबै सँगै बसेर मनाइन्थ्यो । त्यतिबेला दक्षिणा स्वरूप २-४ पैसा हात पर्दाको जति खुसी त यतिबेला सबै आफ्नै हातमा हुँदा पनि छैन ! लाग्छ खुसी पनि मान्छेको उमेरसँगै मेटिँदै जाँदो रहेछ । जीवनमा उमेरसँगै धेरै खुसी मेट्दै आइएछ । त्यो बेलाको हृदयभरिको खुसी यो बेला भिजेको परालको त्यान्द्रो जस्तो भएको छ । बारीका डिलडिलमा टाँकी फुल्न थालेपछि आमै दशैँ आयो, अब गड्गडाएर–मन बडाएर भन्थिन् । हामी खुसीले भेला भएर दशैँ आयो भन्दै आँगनभरि उफ्रिन्थ्यौँ । 


Author

जेबी खत्री