• ११ मंसिर २०८१, मङ्गलबार

युवापुस्ताले चासो नदिँदा राडीपाखी बुन्ने पेसा सङ्कटमा

blog

राडीपाखी बुन्नुहुँदै बागलुङ तमानखोलाकी ७७ वर्षीया यमकला घर्तीमगर । तस्बिर : रासस

ढोरपाटन, असोज १७ गते । “आजभोलि धेरै भेडा पाल्नै छोडे, पहिले–पहिले एउटै घरमा कम्तीमा पनि दुई सय हाराहारीमा भेडा पाल्ने गर्थे, भेडाको रौँबाट हामीहरूले राडीपाखी बुन्ने गथ्यौँ, अहिले भेडा पाल्नेको सङ्ख्या घटेपछि रौँ पनि पाउन छोड्यो, राडीपाखी बुन्ने मान्छे पनि कम हुँदै गए ।”

बागलुङ तमानखोलाकी ७७ वर्षीया यमकला घर्तीमगरलाई उमेरले बुढ्यौली लागे पनि उहाँको सीप तन्नेरी कोभन्दा कम छैन । अहिले पनि उहाँ हरेक दिने राडीपाखी बुन्ने काम गर्दै आउनुभएको छ तर पहिलेको जस्तो ऊन पाउन छोडेपछि राडीपाखी बुन्ने पेसा सङ्कटमा पर्दै गएको छ । भेडापालन गर्ने र हातमा सीप भएकाले चासो दिन छोडेपछि गाउँमा राडीपाखी बुन्ने प्रचलन हराउन थालेको उहाँले बताउनुभयो ।

“पहिला राडीपाखी बेचेरै खान लाउन पुगेको पुग्थ्यो, घर व्यवहार चलाइन्थ्यो, गाउँमा धेरैले राडीपाखी बुन्ने गर्थे, अहिले कसैले पनि बुन्दैन हामी बूढाबूढी भैँयो, हातपाखुरा बस्न थाले”, यमलालले भन्नुभयो, “अहिले त भेडा पनि कम मान्छेले मात्रै पाल्ने गर्छन्, ऊन पनि पाउन मुस्किल हुन्छ, भनेको बेला पाइँदैन, अब बिस्तारै यो पेसा हराउँदै जान्छ, अहिले नै धेरै कम भएको छ ।”

उहाँले आफूले बुनेका राडीपाखी देशमा मात्रै नभई विदेशसम्म पुग्ने गरेको जनाउँदै अहिले माग बढे पनि पुर्‍याउन नसकेको उहाँको भनाइ छ । आफूहरूले अग्रजबाट निकै चासो दिएर सिकेको भन्दै अहिलेका नयाँ पुस्ताले यसप्रति चासो नै नदिँदा राडीखापी बुन्ने पेसा लोप हुँदै गएको उहाँले बताउनुभयो । “अहिलेका पुस्ताले यो काम गर्न झन्झट मान्छन्, यस्तो काम गर्दैनन्, राडीपाखी बुन्न अलि झन्झटिलो हुन्छ, त्यही भएर पनि होला सिक्नै चाहँदैनन्, मैले मेरा छोराछोरी र गाउँका अन्य मान्छेलाई पनि सिकाउन कोसिस गरेँ तर सकिन, चासो नै दिएनन्”, उहाँले भन्नुभयो, “मैले बुन्न छोडे भने त यो गाउँमा मान्छे नै हुन्न होला, अहिले मै मात्रै हुँ यसरी काम गर्ने ।”

तमानखोला–३ की टेककुमारी बुढालाई पनि राडीपाखी बुन्ने परम्परा हराउँदै गएकोमा चिन्ता छ । उहाँले भन्नुभयो, “हराउन थाल्यो यो पेसा, अब कसरी बचाउन सकिन्छ र ?, अहिलेका युवायुवतीले यसप्रति चासो देखाएनन्, हामी दुई/चार जनाछौँ गाउँमा यो बुन्ने, हाम्रो हात बस्यो भने त गाउँमा राडीपाखी बुन्ने कोही हुन्न, अहिलेसम्म त हाम्ले जेनतेन बुनिराखेका छौँ ।”

राडीखापी बुन्न भेडाको ऊन अति आवश्यक पर्ने जनाउँदै भेडापालक पनि घट्दै गएको उहाँको भनाइ छ । पहिले–पहिले राडीपाखी बेच्नका लागि बागलुङको ठाउँ ठाउँमा मेला लाग्ने गरेको भन्दै अहिले तिमिलासमेत नलाग्ने उहाँको भनाइ छ । नयाँ पुस्ताले सिक्न चाहेँ आफूले निःशुल्करुपमा सिकाउने उहाँ बताउनुहुन्छ ।

“राडीपाखी बेच्ने मेला पनि लाग्न छोड्यो, पहिले बागलुङ जिल्लाका धेरै ठाउँमा राडीपाखी बेच्ने मेला लाग्थ्यो, अहिले न मेला लाग्छ, न मान्छेले बुन्छन्, यसबाट राम्रो आम्दानी गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “यो काम अलि कति झन्झटिलो हुन्छ तर सिकेर बुन्दै गएपछि सजिलो लाग्छ, कोही युवायुवतीले सिक्न चाहे मैले निः शुल्क सिकाउने थिए ।”

कला, संस्कृतिमा धनी जिल्ला बागलुङमा पुराना परम्परा र पेसा हराउन थाल्दा जिल्लाको पहिचान नै सङ्कटमा पर्ने देखिन्छ । भेडाको रौँलाई प्रशोधन गरी धागो निर्माण गर्ने र विभिन्न काठका औजारबाट निर्माण गरिने राडीपाखी पछिल्लो केही वर्ष यता जिल्लामा कम मात्रैमा देखिन्छ । बागलुङमा उत्पादन हुने राडीपाखी खास गरी गुल्मीको रिडीमा लाग्ने माघे सङ्क्रान्ति मेलामा बढी बिक्री हुन्थे । बागलुङबाट यस बेला ठूलो मात्रामा राडीपाखी रिडीमा पुर्‍याउने र राम्रो मूल्य पार्ने गरेको निसीखोला–६ की ६७ वर्षीया पुनिकला घर्तीमगरले बताउनुभयो ।

“रिडीमा माघ १ गते ठूलो मेला लाग्ने गर्थ्यो, अहिले पनि त्यो मेला लाग्छ, उति बेला हामीहरू गाउँका १०÷१२ जनाएका वर्षभरि बुनेको राडीपाखी बोकेर जान्थ्यौँ, अहिलेको जस्तो मोटर बाटोको सुविधा थिएन, त्यहाँ पुग्न झण्डै चार दिन लाग्थ्यो”, उहाँले भन्नुभयो, “त्यहाँ पुगेपछि राडीपाखीको खोसाखोस हुन्थ्यो, घर फर्किने बेला रु दुई÷तीन लाख लिएर आउँथ्यौँ, अहिले त बुन्न पनि कम भयो, जान पनि छोडियो ।”

उहाँले एउटा राडी तयार गर्न पाँचदेखि १० दिनसम्म लाग्ने सुनाउनुभयो । ओढ्न, बिछ्याउनका लागि प्रयोग गरिने राडीपाखी विदेशमा समेत निर्यात हुने गरेको भन्दै पछिल्लो समय निकै कम भएको उहाँको भनाइ छ । घर्तीमगरले एउटा राडीलाई सामान्य रु सात हजारदेखि ५० हजारसम्म पर्ने गरेको बताउनुभयो । राडीपाखी बलियो र बर्सौँ टिक्ने हुँदै धेरैको रोजाइमा पर्ने गरेको उहाँको भनाइ छ ।

स्थानीयले विदेशबाट आयातित कपडाको प्रयोग गर्न थालेपछि यसको उत्पादन कम भएको तमानखोला उहाँले बताउनुभयो । अहिले बजारमा सिरक, डसनालगायत सबै खाले फेन्सी सामान पाइन थालेपछि राडीपाखीको प्रयोगसमेत कम हुँदै गएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो,“हामी सानो हुँदा सिरक, डसना र कम्बल पाइँदैनथ्यो, मान्छेले ओढ्न बिछ्याउन राडीपाखीको प्रयोग गर्ने गर्थे अहिले सबैथरी कपडा बजारमा पाइन थालेपछि यसको उत्पादन र प्रयोग घट्यो ।”

राडीपाखीको जिल्ला भनेर चिनिने बागलुङमा पछिल्लो समय दुर्लभ हुँदै जाँदा बुढापाकाले चिन्ता गर्न थालेका छन् । गाउँले जनजीवन र जीविकोपार्जनसँग जोडिएको राडीपाखी बुन्ने प्रचलन अहिले लोपोन्मुख अवस्थामा पुगेको तमानखोला–४ का कृष्ण श्रीपालि बताउनुभयो । उहाँले यस्ता कला र सीपको संरक्षणमा स्थानीय पालिकाले चासो दिनुपर्ने सुझाव दिनुभयो ।

“राडीपाखी त गाउँले जनजीवनसँग जोडिएको पहिचान हो, अझ बागलुङ जिल्लाकै चिनारी हो, केही वर्षयता यसको प्रयोग र बुन्नेको सङ्ख्या नै कम भएको छ, स्थानीय सरकारले बुन्ने सीप भएका मानिसलाई प्रोत्साहन गर्ने र नयाँ पुस्तालाई सिक्नतर्फ आकर्षित गर्नसके यो पेसा लोप हुने थिएन”, उहाँले भन्नुभयो ।