• ७ वैशाख २०८३, सोमबार

स्याङ्जाका संस्थागत विद्यालयमा आजदेखि नियमित पठनपाठन

blog

तत्कालै पढाइ सुरु हुने भन्दै विद्यार्थीको घरघरमा पुगेका वालिङस्थित साइन भिलेज इन्टरनेशनल एकेडेमीका शिक्षकहरू । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), वैशाख ७ गते ।
स्याङ्जाका संस्थागत (निजी) विद्यालयले आज (सोमबार)देखि नियमित पठनपाठन सुरु गर्ने भएका छन् । ११ वटा पालिका रहेको जिल्लाका अधिकांश संस्थागत विद्यालयले आजबाट नियमित पढाइ सुरु गर्न लागेको बताएका छन् ।

अधिकांश निजी विद्यालयले सार्वजनिक सूचना जारी गर्दै नियमित पढाइ सुरु गर्ने जानकारी दिएका छन् । उनीहरूले यसअघि नै भर्ना अभियान पनि सुरु गरिसकेका छन् । वालिङस्थित पाइनियर्स माध्यमिक विद्यालयका प्रधानाध्यापक मेघराज गैह्रेले अभिभावकहरू ‘कहिलेदेखि पढाइ सुरु हुन्छ’ भन्दै विद्यालयमै आउने गरेको बताउनुभयो ।

कतिपय विद्यालयले भने विद्यार्थीलाई ‘फ्रि पुस्तक’ अभियानमा सहभागी गराउने योजना रहेको बताएका छन् । आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा प्याब्सनका केन्द्रीय सदस्य होमकान्त गौतमले विद्यार्थीलाई फरक प्रकृतिका क्रियाकलापमा सहभागी गराउने प्रयास भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थी विद्यालय आउँछन्, तर उनीहरू फरक प्रकृतिका क्रियाकलापमा सहभागी हुन्छन् ।”

सरकारको निर्देशन पालना गर्दै विद्यार्थीलाई नैतिक शिक्षा सिकाउने र सामाजिक बनाउने अभियानमा जोड्ने उहाँको भनाइ छ ।

जिल्लाका धेरै विद्यालय भने यतिबेला विद्यार्थी खोज्न घरघरमा पुगिरहेका छन् । तत्कालै पढाइ सुरु गर्ने भन्दै विद्यार्थीलाई आफ्नो विद्यालयमा आकर्षित गर्न घरदैलो अभियान सञ्चालन गरिएको विद्यालयहरूले जनाएका छन् ।

फेदीखोला र अर्जुनचौपारी गाउँपालिका तथा चापाकोट नगरपालिकाले सूचना जारी गर्दै नियमित पढाइको तालिका सार्वजनिक गरेका छन् भने अन्य आठ पालिकाले भने औपचारिक सूचना जारी गरेका छैनन् । पालिकाहरूबिच निरन्तर छलफल भइरहेको जनाइएको छ । कतिपय पालिकाले मौखिक रूपमा पढाइ सुरु गर्न निर्देशन दिएको विद्यालयहरूले बताएका छन् ।

सामुदायिक विद्यालयहरूले भने पालिकाको निर्देशनको प्रतीक्षा गरिरहेको बताएका छन् ।