• २२ वैशाख २०८१, शनिबार

मुटु रोगको अवस्था गम्भीर, सचेत हुन स्वास्थ्यकर्मीको आग्रह

blog

बर्दिबास, असोज १६ गते । महोत्तरीका ग्रामीण भेगमा मुटु सम्बन्धी रोग समस्या बन्दै गएको छ । नेपाल हृदय रोग निवारण प्रतिष्ठान महोत्तरीले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा मुटु परीक्षण गराउने मध्ये ७५ प्रतिशतको मुटुमा समस्या देखिएको थियो । 

३०/३५ वर्ष उमेर समूहका युवा वर्गमा पनि मुटु रोगको लक्षण देखिनु चिन्ताजनक भएको चिकित्सकको भनाई छ । शिविरमा ३५ महिलासहित एक सय सात जनाले स्वास्थ्य परीक्षण गराएका थिए । प्रतिष्ठानका इन्चार्ज दीपक कार्कीका अनुसार शिविरमा मुटुसम्बन्धी निःशुल्क परीक्षण गरिएको थियो । 

परीक्षण गरिएकामध्ये ७५ प्रतिशत अर्थात् ३० जनाका मुटुमा समस्या देखा परेको थियो । ३० मध्ये २५ जना मुटु रोग  लागेका र ५ जनामा यसको प्रारम्भिक लक्षण देखा परेको शिविरमा सेवा प्रदान गर्नु भएका डा श्यामसुन्दर शाहीले बताउनुभयो । मुटु रोग लागेका २५ जनामध्ये अधिकांश ५० नागेका रक्तचाप र मधुमेहको बिरामी थिए । डा शाहीका अनुसार मुटु रोग सामान्यता ४५ देखि ५० वर्षको उमेरमा देखा पर्नु पर्ने हो । तर ३० देखि ३५ वर्ष उमेरका पाँच जना युवामा पनि यसको लक्षण देखिनु चिन्ताजनक भएको उहाँले बताउनु भयो ।

जथाभाबी खानपान, मदिरा र सुर्तीजन्य पदार्थको सेवन, सहज र सुविधा भोगी दिनचर्या तथा शारीरिक श्रम र ब्यायम कमीजस्ता कारण मुटु रोग बढ्दै गएको डा शाहीको भनाई छ ।  रासायनिक मल र विषादी हालेका कृषि उत्पादनको प्रयोग, फलफूल, हरिया तरकारीको सेवनभन्दा जंकफुड र तरेका खानपान पनि मुटु रोगको कारण भएको उहाँको भनाई छ । 

बर्दिबासमा आयोजित निःशुल्क शिविरमा स्वास्थ्य परीक्षण गराउँदै सेवाग्राही । तस्बिर : रवीन्द्र उप्रेती

Author

रवीन्द्र उप्रेती