गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज १५ गते । काठमाडौँको गोठाटारमा गोली हानेर मोहम्मद दर्जी (लाल मोहम्मद)को हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका–१६ का २१ वर्षीय महोरम मियाँ, वडा नं. १५ का १९ वर्षीय रेहान मियाँ तथा मकवानपुर बकैया गाउँपालिका–१ की २१ वर्षीया सुमी भन्ने सुस्मिता स्याङ्तान रहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार दुई जना युवक उक्त घटनाका योजनाकार तथा हतियार व्यवस्थापन गर्ने र काठमाडौँ कपन फैकाचोकमा बस्दै आएकी सुस्मिता स्याङ्तानले मोहम्मदको गतिविधिको निगरानी गर्ने गरेकी थिइन् ।
स्याङ्तान दुई वर्षअघि चोरी मुद्दामा केन्द्रीय कारागार सुन्धारामा कैद भुक्तान गरेर रिहा भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट मेड इन यूएस लेखिएको एक थान पेस्तोल तथा पक्राउ परेका उनीहरूसँग चार थान खोका, चार थान जङ्गी राउन्ड बरामद गरेको छ ।
यही असोज ३ गते अन्दाजी ६ बजेर ३१ मिनेटमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारस्थित एडभेन्चर इन्टरप्राइजेज गार्मेन्ट अगाडि सवारीसाधन रोकी ओर्लिने क्रममा सर्लाही, सिसौटिया–६ का ५८ वर्षीय मोहम्मद दर्जीमाथि गोली प्रहार भएको थियो । उक्त घटना अनुसन्धानका लागि प्रहरीको विशेष टोली परिचालन गरेको थियो ।
दर्जी गोठाटारस्थित एभेन्जर इन्टरप्राइजेज गार्मेन्ट फ्याक्ट्रीको तेस्रो तलामा श्रीमती, छोरीसहित बस्दै आएका थिए । गोली हानेको देखेपछि छोरीले घरको पहिलो तलाबाट हाम फालेर आक्रमणकारीलाई पाँच सय मिटरसम्म पिछा गरेकी थिइन् । आक्रमणकारी मोटरसाइकलमा चढेर फरार भएका थिए ।
टाउकोमा दुई र दाहिने तिघ्रामा एक राउन्ड गोली लागेका दर्जीको सोही दिन राति उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृत्यु भएको थियो । दर्जी हत्या अभियोगमा झन्डै १० वर्ष केन्द्रीय कारागार बसेर छुटेको प्रहरीले जनाएको छ । दर्जी विगतमा नेपालबाट हुने भारतीय नक्कली नोटको कारोबारमा संलग्न रहेको दाबी गरिएको छ ।
नेपालमा भारतीय नक्कली नोटको कारोबार गर्ने युनुस अन्सारी पक्राउ परेपछि इल्ताफ हुसेन अन्सारीले सो कारोबार सम्हाल्दै आएको र सोही समूहसँग दर्जीले काम गरेको खुलेको छ । दर्जीले इल्ताफसँग मिलेर २०६४ साल असार २० गते अनामनगर–बानेश्वर पुलनजिक बलराम पटुवारको हत्या गरेका थिए । बलराम पनि नक्कली नोट कारोबारी भएका र समूहगत द्वन्द्वका कारण उनी मारिएका थिए । सो घटनामा दर्जी कन्ट्याक्ट किलरका रूपमा प्रयोग भएका थिए ।