• १३ वैशाख २०८१, बिहिबार

गठबन्धनको सिट बाँडफाँट टुङ्ग्याउन अझै समय लाग्ने

blog

काठमाडौं, असोज १३ गते । सत्ता गठबन्धनको सिट बाँडफाँट टुङ्ग्याउन अझै समय लाग्ने भएको छ ।

पाँचदलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलका सदस्य एवम् नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले आगामी निर्वाचनको सिट बाँडफाँट टुङ्गो लागि नसकेको बताउनुभयो ।

गुरुङले गोरखापत्र अनलाइनसँग भन्नुभयो, “सिट टुङ्गो भएको छैन, अझै पनि । नेताहरूले नटुङ्ग्याएसम्म त्यो जिरो लेभल सरह मानिन्छ । पाँच दलका नेताहरू बसेर टुङ्ग्याएपछि त्यो अन्तिम हुन्छ । अहिले टुङ्गिएको मानिँदैन ।”

सञ्चारमाध्यममा सिट बाँडफाँट सम्बन्धमा आइरहेको चर्चाप्रति इङ्गित गर्नुहुँदै उहाँले आ–आफ्नो दृष्टिकोणबाट समाचार सम्प्रेषण भइरहेको समेत बताउनुभयो । तर, यस विषयमा औपचारिकरुपमा कुनै सहमति जुटिसकेको छैन ।

उहाँले गठबन्धनभित्र कुन दलले कति सिट हो भन्ने विषयमा पनि औपचारिक निर्णय नभएको जानकारी दिनुभयो । “औपचारिकरुपमा निर्णय भएर आएको छैन । छिट्टै टुङ्ग्याउनुपर्ने हो । तर, अब अहिलेसम्म टुङ्गिएको छैन । छिट्टै टुङ्गो लाग्ला भन्नेमा आशावादी छौँ”, गुरुङले भन्नुभयो ।

यसैगरी, गठबन्धन बैठकका सहभागी हुँदै आउनुभएका जनता समाजवादी पार्टीका नेता मनीष सुमनले पनि अहिले सञ्चारमाध्यममा आइरहेको सिट सङ्ख्याहरू विगतदेखि नै चर्चा हुने गरेको उल्लेख गर्नुभयो ।

“अझै टुङ्गिएको छैन । बैठक आज पुनः दिउँसो १ बजे बस्ने भन्ने छ”, उहाँले जानकारी दिनुभयो । उहाँले प्रतिनिधिसभातर्फका १६५ सिटको प्रस्ताव शीर्षस्थ नेतृत्वमा प्रदान गरेको र प्रदेशसभा सदस्यतर्फको प्रस्ताव पनि तयार भएको बताउनुभयो ।

मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतका शीर्षस्थ नेताहरुबीच निरन्तर छलफल हुँदै आएको छ ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।