• ९ असार २०८१, आइतबार

यात्रुसँग दोब्बर भाडा असुली, प्रहरी भन्छ ‘उजुरी आएको छैन’

blog

यो वर्षको दशैंको सुरुसँगै बीपी राजमार्गमा बढेको सवारी साधनको चाप । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा 

सिन्धुलीमाढी, असोज १२ गते । यो वर्षको दशैंको सुरुसँगै बीपी राजमार्गमा सञ्चालन हुने  सवारी साधनले दशैं मनाउन सङ्घीय राजधानीबाट घर हिँडेका यात्रुसँग व्यवसायीहरूले मनपरी भाडा (दोब्बर  भाडा) असुलिरहेको पाइएको छ ।   

विगत वर्षमा चाडपर्वमा बीपी राजमार्गमा सञ्चालन हुने यातायातका साधनमाथि प्रहरीले छड्के चेकिङ् गरी बढी लिएको भाडा असुल गरी सम्बन्धित यात्रुलाई फिर्ता दिने र सवारी साधनमाथि कारबाही गर्ने गरे पनि यो वर्ष प्रहरीले चासो दिएको छैन । प्रहरीकै मिलेमतोमा सवारी साधनले भाडा बढी असुलिरहेको आशङ्का यात्रुहरूले गरेका छन् । 

काठमाडौंबाट सिन्धुली हुँदै पूर्वी नेपालको तराई हिँडेका यात्रुसँग यातायात व्यवसायीले मनपरी भाडा असुलेको यात्रुहरूले गुनासो गर्नुभयो । केही दिन अघिसम्म काठमाडौँदेखि सिन्धुलीसम्मको भाडा प्रतिव्यक्ति आठ सय रुपियाँ लिंदैआएका सवारी साधनले अहिले एक हजार पाँच सय रुपियाँ असुलिरहेका छन् । 

एक यातायात व्यवसायीले नाम उल्लेख नगर्ने शर्तमा भन्नुभयो, ‘गाडीलाई मार पर्ने भएकाले बढी भाडा लिनुपरेको हो । मैले मात्र होइन सबैले त्यसरी नै लिंदै आएका छन् ।

मङ्गलबार मात्रै काठमाडौंबाट सिन्धुलीमाढीस्थित घर आउनुभएका सन्तोष दाहालले आफू पनि ठगिएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रत्येक वर्ष दशैं, तिहारको समयमा सवारी साधनले यात्रुसँग मनपरी भाडा लिएर ब्रम्हलुट मच्चाउँदै आएका छन् । बोलेरोले सिन्धुली–काठमाडौंको भाडा आठ सय रुपियाँ लिंदैआएका थिए । अहिले त कुनैले १२ सय, कुनैले १५ सय रुपियाँसम्म प्रतिव्यक्ति भाडा असुलेका छन् ।’


काउन्टरमा टिकट काट्न जाँदा टिकट नदिने र गाडीमै भाडा दिनु भनेर खाना अथवा खाजा खाने बेलामा बीच बाटोमा जबरजस्ती दोब्बर भाडा असुल्ने गरेको ढुङ्ग्रेबास निवासी पोष्टराज चौलागाईंले बताउनुभयो । आफ्ना पनि दुई भाइ छोरा काठमाडौंमा बसेर पढ्दैआएको र दशैं मनाउन घर आउन गाडीको व्यवस्था गर्दा प्रतिव्यक्ति एक हजार पाँचसय रुपियाँ मागेको उहाँले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘गाडीसाहु चिनेको हुनाले उहाँमार्फत प्रतिव्यक्ति आठ सयमा नै गाडीको सिट व्यवस्था गरेँ ।’ चाडबाडमा एकतर्फी मात्र यात्रु बोक्नुपर्ने भएकाले बाध्य भएर केही रकम बढी लिनुपरेको यातायात व्यवसायीको भनाइ छ । व्यवसायीहरू बढी भाडा लिएको टिकट दिए प्रहरीले समाउने भएकाले रिजर्भ भनेर लानुपर्ने बाध्यता रहेको कतिपय व्यवसायीको भनाइ छ । 

‘आउँदा गाडी भरिए पनि जाँदा रित्तै हुन्छ’ एक यातायात व्यवसायीले नाम उल्लेख नगर्ने सर्तमा भन्नुभयो, ‘गाडीलाई मार पर्ने भएकाले बढी भाडा लिनुपरेको हो । मैले मात्र होइन सबैले त्यसरी नै लिँदै आएका छन् ।’ यो वर्ष घटस्थापनाको दिनदेखि नै बीपी राजमार्गमा सञ्चालन हुने सवारी साधनको चाप बढ्दै गएको छ । 

सिन्धुलीका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसी अहिलेसम्म यात्रुले उजुरी नगरेकाले प्रहरीले चासो नदिएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसी अहिलेसम्म यात्रुले उजुरी नगरेकाले प्रहरीले चासो नदिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चाडपर्व लक्षित  हामीले बीपी राजमार्गको तीन ठाउँमा हेल्पडेस्क राखेका छौं । हेल्प डेस्कमा उजुरी आउनुपर्‍यो, अनि हामीलाई थाहा हुन्छ ।’ चाडपर्व लक्षित कुनै सुरक्षा योजना पनि नबनाएको उहाँले सुनाउनुभयो ।