• ६ वैशाख २०८१, बिहिबार

अन्तिम ऋणदाता सुविधाको मस्यौदा तयार

blog

भेषराज बेल्बासे

काठमाडौँ, असोज ११ गते । अन्तरबैङ्क बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोबार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसकेको अवस्थामा मात्रै अन्तिम ऋणदाता सुविधा प्राप्त गर्नेगरी मस्यौदा तयार भएको छ ।

चालू आर्थिक वर्षका मौद्रिक नीतिमा नै बैङ्क तथा वित्तीय संस्थालाई अन्तिम ऋणदाता सुविधा उपलब्ध गराउने बताएको नेपाल राष्ट्र बैङ्कले ‘अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली २०७९’ को मस्यौदा तयार गरेको हो । राष्ट्र बैङ्कले १५ दिनभित्र सोहीअनुसार अन्तिम ऋणदाता सुविधाको मस्यौदा तयार गरी सरोकारवालासँग सुझाव मागेको छ । राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त संस्थाले अन्तरबैङ्क बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोबार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसकी प्रणालीगत जोखिम सिर्जना हुने अवस्था आउन नदिन अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावलीको मस्यौदा तयार गरिएको हो । 

साथै बैङ्किङ प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयतामा कमी आउन सक्ने जोखिम देखिएमा अन्तिम ऋणदाताका रूपमा राष्ट्र बैङ्कले आवश्यक ऋण प्रदान गरी वित्तीय स्थायित्व कायम गर्न यो विनियमावलीको मस्यौदा तयार पारिएको जनाएको छ । अन्तिम ऋणदाता सुविधा पाउन बैङ्क वा वित्तीय संस्थाको सञ्चालक समितिले यस ऋण माग गर्नुपर्नाको कारण, आवश्यक पर्ने रकम र सोको भुक्तानी योजनासम्बन्धी निर्णय गरी राष्ट्र बैङ्कमा निवेदन दिनुपर्नेछ ।

बैङ्क वा वित्तीय संस्थाले निवेदन पेस गर्दा अन्तरबैङ्क बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोबार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसकेको बेहोरा स्वघोषणा गर्नुपर्नेछ । यस्तो सुविधा बढीमा एक वर्षको हुने राष्ट्र बैङ्कले तयार गरेको मस्यौदामा उल्लेख छ । बैङ्क वा वित्तीय संस्थालाई दिइने रकम तत्कालको आवश्यकता हेरी राष्ट्र बैङ्कबाट एकै पटक वा पटकपटक गरी स्वदेशी मुद्रामा प्रवाह गरिने तथा यस्तो सुविधा प्रदान गर्दा राष्ट्र बैङ्कले इजाजतपत्र प्राप्त संस्थाको निक्षेप सङ्कलन, लाभांश वितरण, कर्जा प्रवाह, शाखा स्थापना तथा अन्य व्यावसायिक क्रियाकलापमा सर्त तोक्न सक्ने सो मस्यौदामा उल्लेख छ ।

राष्ट्र बैङ्कले संस्थालाई अन्तिम ऋणदाता सुविधा उपलब्ध गराउनका लागि बैङ्क वा वित्तीय संस्थाको सञ्चालक समितिले यस व्यवस्थाअन्तर्गत ऋण माग गर्नुपर्नाको कारण, आवश्यक पर्ने रकम र सो को भुक्तानी योजनासम्बन्धी निर्णय गरी राष्ट्र बैङ्कसमक्ष निवेदन पेस गर्नुपर्ने मस्यौदामा उल्लेख छ । अन्तिम ऋणदाता लिन सुविधा आगामी छ महिनाको नगद प्रवाह प्रक्षेपण, विभिन्न समयावधिको सम्पत्ति तथा दायित्वको विवरण, निक्षेप तथा अन्य अल्पकालीन दायित्वको विवरण, पुनरुत्थानसम्बन्धी कार्ययोजना तथा अन्तिम ऋणदाता सुविधाबाट बहिर्गमन बेहोरा स्वघोषणा गर्नुपर्ने मस्यौदामा छ ।

अन्तिम ऋणदाता सुविधाअन्तर्गत प्राप्त रकमलाई खाम्ने जायजेथा वा सुरक्षण पेस गर्नुपर्ने तथा बैङ्क वा वित्तीय संस्थाले निवेदन पेस गर्दा अन्तरबैङ्क बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोबार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसकेको बेहोरा स्वघोषणा गर्नुपर्ने विनियमावलीमा उल्लेख छ ।

यस्तो छ मापदण्ड

बैङ्क वा वित्तीय संस्थाले अन्तरबैङ्क बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोबार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसक्ने अवस्था भएमा अन्तिम ऋणदाता सुविधा लिन सक्ने भएका छन् ।

यस्तै बैङ्क वा वित्तीय संस्थाले आफूसँग बजारयोग्य सम्पत्ति नभएका कारण आफ्नो तत्कालको दायित्व पूरा गर्न नसक्ने अवस्था भएमा तथा ठूलो परिमाणको निक्षेप भुक्तान भई वा भुक्तान गर्नुपर्ने अवस्था आई बैङ्क वा वित्तीय संस्थाले आफ्नो तत्कालको दायित्व पूरा गर्न सक्षम नभएमा अन्तिम ऋणदाता सुविधा लिन सक्ने मस्यौदामा उल्लेख छ ।

बैङ्क वा वित्तीय संस्थाले प्रतिबद्धता जनाइसकेको कर्जा प्रवाह गर्न असफल भई त्यसको नकारात्मक असर अर्थव्यवस्थामा पर्ने भएमा साथै कुनै एक बैङ्क वा वित्तीय संस्थाको समस्या वा असरले अन्य स्वस्थ संस्था धराशायी हुनेगरी प्रणालीगत जोखिम सिर्जना हुने अवस्था आए पनि अन्तिम ऋणदाता सुविधा लिन सक्ने राष्ट्र बैङ्कले तयार गरेको विनियमावलीमा उल्लेख छ ।

बैङ्क वा वित्तीय संस्था आफ्नो वित्तीय दायित्व पूरा गर्न असमर्थ भएका कारण बैङ्किङ प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयतामा कमी आउन सक्ने भएमा तथा प्राकृतिक प्रकोपका कारण बैङ्क वा वित्तीय संस्थाले आफ्नो तत्कालको दायित्व भुक्तान गर्न नसक्ने नभएमा अन्तिम ऋणदाता सुविधा लिन सकिने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका कारण सिर्जित असहज अवस्थाबाट बैङ्क वा वित्तीय संस्था आफ्नो तत्कालको दायित्व पूरा गर्न असमर्थ भएमा पनि अन्तिम ऋणदाता सुविधा लिन सक्नेछन् ।