• १६ चैत २०८०, शुक्रबार

गोरखा दरबारको दशैँघरमा विधिपूर्वक जमरा राखियो

blog

गोरखाको कालिका मन्दिरमा रहेको दशैँ घरमा विधिपूर्वक राखियो जमरा । तस्बिर : रासस

गोरखा, असोज १० गते । गोरखाको कालिका मन्दिरमा रहेको दशैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान १० बजेर २३ मिनेटको शुभसाइतमा दशैँघरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिनुभयो । परम्पराअनुसार बिहान सबेरै मिर्मिरे उज्यालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभसाइतमा कालिका भगवतीको मन्दिरमा दुई पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको उहाँले बताउनुभयो ।

मूल दरबारको कैलाश कोठाबाट भित्री बाटो हुँदै देवी भगवतीको सवारी गराएर कैलाश कोठामा विधिपूर्वक पूजाआजा गरी जमरा राखिएको  र  त्यसअघि मूलदरबारमा पानी घडी थापना गरी घटस्थापना गरिएको प्रमुख भुसालले जानकारी दिनुभयो । गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दु धर्मालम्बीहरुले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहँदै आएको छ । 

बडादशैँमा लगाइने टीकासँगै जमरा लगाउँदा शुभ हुने विश्वासका कारण यहाँ प्रत्येक वर्ष जमरा राख्ने गरिन्छ । प्रतिपदा सुरु भएसँगै कालिका मन्दिरमा नियमित कालो बोकाको बलिदिने प्रचलन छ । यसैगरी, गोरखाको प्रसिद्ध धार्मिकस्थल  मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका मूलपुजारी इन्सान थापाले जानकारी दिनुभयो ।

मनकामना मन्दिरमा मकै र जौको छुट्टाछुट्टै जमरा राखिएको उहाँले बताउनुभयो । परम्परा अनुसार विगतदेखि नै छुट्टाछुट्टै जमरा राख्नुपर्ने भएका कारण  नित्यपूजा गरी जमरा राखिएको मूलपुजारी थापाले बताउनुभयो । गणेश र कलश स्थापना गरेर दुवै ठाउँमा जमरा राखिएको उहाँको भनाइ थियो ।