• १३ मंसिर २०८१, बिहिबार

हनुमानढोकास्थित दशैँघरमा जमरा राखियो (फोटो फिचर)

blog

काठमाडौंको हनुमान ढोकास्थित दशैँघरमा सोमबार विधिवत रुपमा राखिएको जमरा । तस्बिर : सुजन गुरुङ

काठमाडौं, असोज १० गते । काठमाडौंको हनुमानढोकास्थित दशैँघरमा सोमबार विधिवत् रुपमा जमरा राखिएको छ । विधिवत् रुपमा सुरु भएको नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरी  जमरा राखिएको हो ।


हनुमानढोकास्थित दशैँघरमा पनि विधिवत् मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साइत १०ः२३ बजे जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मङ्गल धून बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको छ ।


दशैँको पहिलो दिन घटस्थापनको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ । सोमबार बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दशैँघरमा जमरा छर्ने गरिन्छ ।


घटस्थापना गर्दा पूजाकोठा वा दशैँ घरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजाअर्चना गरिन्छ । नवरात्रिभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।


नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजाअर्चना गरिन्छ । जमरा राखेपछि हनुमान ढोका दरबारका पुजारी सागर खरेलले नियमपूर्वक मन्त्रोच्चारण गरी घटस्थापना र जमरा राखिएको बताउनुभयो ।

विशेषतः जमरा जौको राख्ने गरिन्छ । तर आजभोलि भने मकै र गहुँ पनि मिसाएर जमरा राख्ने प्रचलन छ ।