• १३ साउन २०८१, आइतबार

इलाका प्रशासनको भवन निर्माण सुरु

blog

इलाका प्रशासन कार्यालय रामपुर पाल्पाको भवन निर्माणको शिलान्यास गर्नुहुँदै पाल्पाका प्रमुख जिल्ला अधिकारी । तस्बिर : रेखीराम राना

रेखीराम राना
पाल्पा, असोज १० गते ।
जिल्लाको पूर्वी भेग रामपुरमा इलाका प्रशासन कार्यालय रामपुरको नयाँ भवन निर्माण सुरु भएको छ । भाडामा बस्दै आएको प्रशासनको रामपुर–५ स्थित बेझाडमा तीनतले भवन बनाउन सुरु गरिएको हो ।

कार्यालय प्रमुख भगवानभक्त अर्यालले आगामी वर्ष २०८० पुस मसान्तभित्र सकिने गरी चार करोड १४ लाख ७६ हजार लागतमा प्रशासनको भवन निर्माण थालिएको जानकारी दिनुभयो । बाँसुरी मोबाइल जेभीले भवन निर्माणको कामको जिम्मा लिएको र भवन निर्माण सुरु भइसकेको अर्यालले बताउनुभयो ।

सङ्घीय आयोजना कार्यान्वयन एकाइ, भैरहवाको प्राविधिक सहयोगमा तीन रोपनी क्षेत्रफलमा रहेको जग्गामा भवन निर्माण भइरहेको छ । हाल भाडामा सञ्चालन हुँदै भवनमा पर्याप्त कोठा नहुँदा राष्ट्रिय परिचय पत्र, पासपोर्टसम्बन्धी सेवा नियमित हुन नसकेको कर्मचारीको गुनासो छ ।

भवन बनेपछि भने प्रशासनले दिने सबै खालका सेवा दिन सहज हुने बताइएको छ । पाल्पाको पूर्वी भेगका बासिन्दालाई मध्यनजर गर्दै २०६३ असार १० गतेदेखि रामपुरमा इलाका प्रशासन कार्यालय सञ्चालनमा छ ।

कार्यालयबाट रामपुर नगरपालिका, निस्दी गाउँपालिका–१ देखि ६ र पूर्वखोला गाउँपालिका–१ सिलुवाका बासिन्दाले सेवा लिइरहेका छन् । जिल्ला सदरमुकाम तानसेन आउनजान दुई/तीन दिन लाग्ने भएकाले यस क्षेत्रका नागरिकलाई सुविधा पुग्ने गरी रामपुरमा प्रशासनले सेवा दिइरहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो ।