• १३ साउन २०८१, आइतबार

सबै नेपालीले नागरिकता पाउनुपर्छ : मन्त्री चौधरी

blog

नेपाल थामी समाज दोलखा शाखाको छैटौं अधिवेशनलाई सम्बोधन गर्नुहुँदै शहरी विकासमन्त्री मेटमणि चौधरी। तस्बिर : सुजन काफ्ले

सुजन काफ्ले                                                

चरीकोट, असोज ८ गते । सहरी विकास मन्त्री मेटमणि चौधरीले सबै नेपालीले नागरिकता पाउनुपर्ने बताउनुभएको छ।

नेपाल थामी समाज दोलखा शाखाको छैटौँ अधिवेशनलाई सम्बोधन गर्नुहुँदै चौधरीले सो कुरा बताउनुभएको हो। पछिल्लो समयको राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध असन्तुष्टि व्यक्त गर्नुहुँदै उहाँले नागरिकता समस्या विशेष गरेर तराईका जिल्लामा रहेको बताउनुभयो। 

दाइको नागरिकता छ भाइको छैन, कसैको स्नातक पास छ, नागरिकता छैन यस्ता लाखौँ नेपालीको समस्या रहेको बताउँदै उहाँले नेपालको विकासमा योगदान गर्ने सबै जनाले नागरिकता पाउनुपर्ने बताउनुभयो। 

राष्ट्रपतिकै कारण आज नागरिकता विधेयक सर्वोच्च अदालत पुगेको र अदालतले नेपाली जनताको पक्षमा फैसला गर्नेमा आफू ढुक्क रहेको उहाँको भनाइ छ। 

नेपालको लोकतन्त्र प्रजातन्त्र प्राप्ति गर्नका लागि थामी समुदायको  अपरिहार्य योगदान रहेको बताउँदै उहाँले अहिले राजनीतिमा थामी समुदायको कमजोर उपस्थिति रहे पनि आगामी दिनमा त्यस्तो नहुने बताउनुभयो।

उहाँले थामी समाजका युवाले सबै राजनीतिक दलमा प्रभाव जमाउनु पर्ने आजको आवश्यकता रहेको बताउँदै आफू अगुवा बनेर अगाडि बढ्दै सामाजिक समस्याको उजागर गर्नुपर्ने बताउनुभयो।

थामी समुदायको शिक्षा क्षेत्रमा मात्र नभएर राजनीतिक क्षेत्रमा पनि जागरण आउनु पर्ने उहाँको भनाइ छ। नेपालमा जेठो छोराले मात्र राज्य चलाउने चलनको अन्त्य गरेर  राजनीतिक दलले नेतृत्वमा  पुगेको तर अहिले मुलुक सञ्चालन गर्न राजनीति दल असफल भएको उहाँले बताउनुभयो। 

राजनीतिक दल फेरि पनि मिल्नुको विकल्प नरहेको बताउँदै उहाँले सबै मिलेर मात्र देशको परिवर्तन सम्भव रहेको बताउनुभयो। दोलखामा थामी समाजको कार्यालय बनाउने प्रतिबद्धता जनाउँदै उहाँले जग्गाको व्यवस्थापन गरेर मन्त्रालय आउन आग्रह गर्नुभयो। नेपाल थामी समाज दोलखाले छैटौँ अधिवेशनले  नयाँ नेतृत्वसमेत चयन गर्नेछ।