• २० असोज २०८१, आइतबार

बीमाको पहुँच बढाउन आग्रह

blog

कैलाली, असोज ८ गते । अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम प्रदेशमा बीमाको पहुँच अभिवृद्धि गरिनुपर्ने खाँचो औल्याउनुभएको छ । 

बीमा समितिको सुदूरपश्चिम प्रदेश कार्यालयको शुक्रबार धनगढीमा शुभारम्भ गर्नुहुँदै उहाँले बीमा दाबी, भुक्तानीका कुरामा धेरै गुनासा तथा असन्तुष्टि रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “अहिले नेपालभर समग्रमा बीमाको पहुँच ४१.२ प्रतिशत छ । सुदूरपश्चिम प्रदेशमा १९.१७ प्रतिशत मात्रै छ, यसलाई वृद्धि गरिनुपर्छ ।” देशभरि विभिन्न बीमा कम्पनीका तीन हजार ३६६ शाखा सञ्चालन छन् भने सुदूरपश्चिममा ३२७ मात्रै रहेको उहाँले बताउनुभयो । अहिले बीमा संस्थानले दिएको प्रत्यक्ष बीमा सन्दर्भमा रोजगारी १२ हजार ३१ को सङ्ख्यामा रहेको तर सुदूरपश्चिम प्रदेशमा ६८७ मात्रै छ । यसबाट के देखाउँछ भने सुदूरपश्चिम प्रदेश बीमाको पहुँचबाट टाढा छ, मन्त्री शर्माले भन्नुभयो ।

अर्थमन्त्री शर्माले लगानीको जोखिम न्यूनीकरण गर्ने मुख्य काम बीमाको भएको स्पष्ट पार्दै बीमाद्वारा ठूला विपत्तिको जोखिम पनि न्यूनीकरण गर्न सकिने बताउनुभयो । लगानीकर्र्ता, प्रयोगकर्ता र उत्पादकलाई ढुक्क भएर आफ्नो क्षेत्रमा काम गर्ने वातावरण बनाउने बीमाको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो । कार्यक्रममा प्रदेश सरकार आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले विभिन्न जोखिमको व्यवस्थापनमा बीमाले ठूलो सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, सबै क्षेत्रमा बीमा जानु पनि जरुरी छ । 

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले जोखिम अन्त्य गर्नका लागि बीमालाई व्यापक रूपमा लैजान प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जोखिम न्यूनीकरण गर्ने संयन्त्रका रूपमा बीमालाई लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, यो काम प्रदेश सरकारबाट सुरु गर्नुपर्दछ ।