विजयकुमार साह
ढल्केवर, असोज ७ गते । धनुषाको ढल्केवरमा सुविधा सम्पन्न आँखा अस्पतालको उद्घाटन भएको छ । नवनिर्मित रेयुकाई एईको मसनागा आँखा अस्पतालको उद्घाटन शुक्रबार एक समारोहबीच अमेरिकन सामाजिक संस्था डुली इन्टर्मेडका अध्यक्ष स्टक हेमिल्टनले गर्नुभएको हो ।
बनेपास्थित रेयुकाई एईको मसुनागा आँखा अस्पतालले शाखाको रूपमा ढल्केवरमा अस्पताल निर्माण गरी सञ्चालनमा ल्याएको छ । अमेरिकन सामाजिक संस्था डुली इन्टर्मेडको आर्थिक सहयोगमा आँखा अस्पताल निर्माण गरिएको रेयुकाई एईको मसुनागा आँखा अस्पतालका अध्यक्ष मधु आचार्यले बताउनुभयो ।
आँखा रोगका सबै उपचार यहीँबाट गर्न सकिने बताउँदै अध्यक्ष आचार्यले आँखा उपचार गर्न चाहिने अत्याधुनिक उपकरण उपलब्ध रहेको जानकारी दिनुभयो । ढल्केवरमा आँखा अस्पताल सञ्चालनमा आएपछि धनुषा, महोत्तरीलगायत मधेश प्रदेश र भारतीय नागरिकले समेत सहज उपचार सेवा पाउने विश्वास गरिएको छ ।
अस्पताल निर्माण कार्य सम्पन्न गरी गत फागुन महिनादेखि नै सेवा दिँदैआएको छ । अहिलेसम्म एक हजार ६६० जनाको निःशुल्क मोतीबिन्दुको शल्यक्रिया र सात हजारभन्दा बढीको आँखाका बिरामीको निःशुल्क उपचार गरिएको बनेपास्थित रेयुकाई एईको आँखा अस्पतालका महासचिव हिरामणि शर्माले बताउनुभयो ।
आँखाका बिरामीलाई सहज उपचार सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको अस्पतालमा नेत्ररोग विशेषज्ञ टोलीद्वारा आँखाका उपचार सेवा प्रदान गरिने उहाँले जानकारी दिनुभयो । तीन वर्ष अगाडि डोली इन्टर्मेड इन्टरनेशनल न्युयोर्कका अध्यक्ष स्टक हेमिल्टनले सो आँखा अस्पतालको शिलान्यास गर्नुभएको थियो ।
सो आँखा अस्पताल निर्माण गर्न ढल्केवरका समाजसेवी राजाराम महतोले ६ कट्ठा जग्गा दान दिनुभएको थियो । गाउँठाउँमै अस्पताल बनेपछि उपचारमा सहज हुने विश्वास स्थानीयले गरेका छन् ।