• १३ साउन २०८१, आइतबार

खलङ्गा सडक पहिरोको जोखिममा

blog

सदरमुकाम खलङ्गाको शान्तिचौतारादेखि ठाँटीबजारसम्मको जोखिमपूर्ण सडक। तस्बिर : वासुदेव शर्मा

खलङ्गा समाचारदाता 

जाजरकोट, असोज ६ गते । जाजरकोटको सदरमुकाम खलङ्गा बजारको सडकखण्ड पहिरोको उच्च जोखिममा छ। सदरमुकामको मूलद्वार शान्तिचौतारा, ठाँटीबजारसम्मको सडकखण्ड पहिरोको उच्च जोखिममा रहेको हो। 

शान्तिचौतारादेखि थाप्लेचौरसम्म बजार रहेको छ भने भेरी नगरपालिकाको प्रशासनिक केन्द्र थाप्लेचौरमा छ। शान्तिचौतारा हुँदै कालीमाटी, तल्लुबगर डोल्पासम्म यही मोटरबाटो प्रयोगमा छ। विगत केही वर्षअगाडि शान्तिचौतारा, कालेगाउँसम्मको करिब पाँच किलोमिटर सडक कालोपत्रे गरिएको थियो। कालोपत्रे गरेको पाँच वर्ष नबित्दै सडक वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ।

कालोपत्रेको जिम्मा लिएको कम्पनीले नाला नबनाउँदा घर र बर्सातको  पानी निकास नभएपछि सडकबाट यत्रतत्र बग्दा पहिरो गएको हो। अविरल झरी आउन थाल्यो भने सडकछेउका सर्वसाधारण कहाँ, कति बेला पहिरो जान्छ भन्नेर चिन्तित हुने गरेका छन्। मुख्य बजार क्षेत्रको बाटोमा मोटरसाइकल, मालवाहक ट्रक, यात्रुवाहक साना तथा ठूला गाडी आउँदा साइड दिन गाह्रो हुन्छ। यस्तो अवस्थामा खुला ठाउँ लिएर केही बेर पर्खिई साइड दिनुपर्छ। गाउँबस्तीबाट सरकारी कार्यालयमा सेवा लिन आएका सर्वसाधारण पैदल हिँड्दा हिलोमा लडिने त्रासले पाइला चालिरहेका हुन्छन्।

भेरी नगरपालिकाले पहिरो मर्मतका लागि सम्बन्धित निकायसमक्ष पहल नगर्दा सडक जीर्ण बन्दै गएको स्थानीयको भनाइ छ। सदरमुकामको मुख्य ठाँटीबजार नेपाल रेडक्रस सोसाइटी तलको भाग पहिरोको उच्च जोखिममा छ। विगत दुई वर्षदेखि त्यस क्षेत्रमा पहिरो जाँदा लामो समय बाटो बन्द हुने गरेको छ। भेरी नगरपालिकाको केही रकमबाट ग्याबिन लगाएर बाटो सञ्चालन भए पनि जोखिम कायमै छ। भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले ठूलो पहिरो भएकाले तत्कालका लागि यातायात सञ्चालन गर्न गतवर्ष नगरपालिकाको थोरै बजेटबाट ग्याबिन लगाएर बाटो खुलाएको बताउनुभयो। “सडक डिभिजनसँग गुनासो राखेका छौँ,” प्रमुख प्रशासकीय अधिकृत घर्तीले भन्नुभयो। 

सदरमुकाम खलङ्गा क्षेत्रका सडक उच्च जोखिममा परे पनि सरोकारवाला निकायबाट पहल भएको छैन। हिलाम्मे बाटोका कारण मोटरसाइकलमा यात्रा गर्नेलाई सकस हुने गरेको छ। भेरी नगरपालिका–४ का दीपेन्द्र सुनारले सरोकारवाला निकायले शान्तिचौतारादेखि ठाँटी बजारसम्मको बाटो स्तरोन्नतिको कामलाई छिटो अगाडि नबढाउने हो भने ठूलो दुर्घटना हुनसक्ने बताउनुभयो।