• १३ साउन २०८१, आइतबार

ज्येष्ठ नागरिकलाई भत्ता बुझ्न सकस

blog

हुम्ला समाचारदाता

हुम्ला, असोज ५ गते । नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका ज्येष्ठ नागरिकले आर्थिक वर्ष ०७८÷७९ को सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन्। नाम्खा गाउँपालिकाले सो भत्ता सेवाग्राहीको बैङ्क खाता सञ्चालन गरेर राखिदिएको तर ज्येष्ठ नागरिकहरू सिमकोट आउन नसक्दा उनीहरूले भत्ता बुझ्न नसकेका हुन्।

लिमी हल्जीगाउँका कोन्ज्योक निमा तामाङले अघिल्लो आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता हालसम्म नपाएको बताउनुभयो। ७७ वर्षीय लामाले यसअघि गाउँमै कर्मचारी र जनप्रतिनिधि आएर भत्ता वितरण गर्ने गरेको भए पनि यसपालि भने कोही नआएको जानकारी दिनुभयो। भत्ताका पाउने नपाउने बारेमा आफूलाई कुनै जानकारी नभएको बताउँदै उहाँले राज्यले दिएको सुविधा गाउँमै आएर दिने व्यवस्था मिलाइदिन माग गर्नुभयो।

लिमीका वडाध्यक्ष पाल्जोर तामाङले गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता सेवाग्राहीको बैङ्क खातामा गएको भए पनि उहाँहरूले पाउन नसकेको बताउनुभयो। उहाँले ७० ÷८० वर्षका ज्येष्ठ नागरिक सो भत्ता लिन गाउँपालिका केन्द्र याल्वाङ वा सिमकोट आउन नसक्ने भएकाले भत्ता नपाएको जनाउनुभयो। उहाँले सेवाग्राहीको बैङ्क खातामा भत्ता हाल्ने कार्य पारदर्शिताका लागि उपयुक्त भए पनि तीन दिन पैदल हिँडेर बैङ्कमा आउनुपर्ने लिमीका लागि व्यावहारिक नभएको टिप्पणी गर्नुभयो। उहाँले चालू आर्थिक वर्षको पहिलो चौमासिकको भत्ता पाउनुपर्ने बेला भए पनि लिमीका ज्येष्ठ नागरिकले भने अघिल्लो वर्षकै भत्ता नपाउनु दुखद भएको जनाउनुभयो।

गाउँपालिकाका अध्यक्ष प्रेम लामाले लिमीका ज्येष्ठ नागरिक बैङ्कमा आउन नसक्ने भएपछि 

बैङ्कलाई लिमीमै पुगेर सुविधा दिन आग्रह गर्दा बैङ्कले सुरक्षाका कारण जान नसक्ने जनाएपछि हालसम्म भत्ता पाउन नसकेको बताउनुभयो। 

लिमीमा सबै किसिमका सामाजिक सुरक्षा भत्ता पाउने नागरिक २५० जना रहेको गाउँपालिकाको पञ्जीकरण शाखाले जनाएको छ। गाउँपालिकाबाट सेवाग्राहीको बैङ्क खातामा तीन करोड १७ लाख रुपियाँ गएको बताइएको छ।

लिमीका लागि सामाजिक सुरक्षा भत्ता चार करोड १३ लाख रुपियाँ भए पनि मृत्युु भएका र नाम दोहोरिएका नागरिकको नाम हटाएपछि ९६ लाख रुपियाँ फिर्ता गएको शाखाले जनाएको छ। छ महिनासम्म सेवाग्राहीले बैङ्कबाट नझिके गाउँपालिकाको खातामा फिर्ता आउने प्रावधान रहेको गाउँपालिकाको लेखा शाखाले जनाएको छ।