• १३ साउन २०८१, आइतबार

संविधान कार्यान्वयनप्रति प्रदेश सरकारको असन्तुष्टि

blog

मकवानपुर समाचारदाता

हेटौँडा, असोज ४ गते । सातौँ संविधान दिवस मनाइरहँदा बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीले संविधान कार्यान्वयनप्रति असन्तुष्टि जनाउनुभएको छ । सातौँ संविधान दिवस एवं राष्ट्रिय दिवस २०७९ का अवसरमा बागमती प्रदेश सरकारको संविधान दिवस मूल समारोह समितिले सोमबार हेटौँडामा आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री र  आन्तरिक मामिला तथा कानुनमन्त्रीले प्रदेशको एकल अधिकारमाथि समेत सङ्घीय सरकारबाट हस्तक्षेप भएको भन्दै संविधान कार्यान्वयनप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश र स्थानीय तहले पाउनुपर्ने अधिकार नपाएको र अझै व्यवस्थित नभएको बताउँदै सङ्घीय सरकारमा बस्ने र शीर्ष नेताहरूले अधिकार दिन नचाहेको बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले संविधानको मर्म र भावनाअनुसारको तीनै तहबाट काम र संविधान कार्यान्वयन नभएसम्म देशमा अस्थिरता कायम रहने भन्दै बताउँदै शहीदले छाडेको जिम्मेवारीअनुसार काम नगरेमा संविधान र व्यवस्थामाथिको कालो बादल मडारिइरहने छ भन्नुभयो ।

सङ्घीय सरकारले महिला कार्यालय स्थापना गर्ने, प्रदेशको क्षेत्रभित्र रहेको उपत्यकामा यातायात र सुरक्षा सङ्घले लिने गरी कानुनी व्यवस्था गरेको र अधिकार दिन नचाहेको भन्दै मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “सङ्घीय सरकार फराकिलो मन लिएर उभिएको छैन, अधिकार प्रदेश र स्थानीय सरकारलाई दिन चाहेको छैन । दलहरूको एकताले अहिलेको संविधान आएको हो, त्यो एकतालाई अझै जारी राख्नुपर्छ,” उहाँले अगाडि भन्नुभयो, “दलहरूबीच सहकार्य, समन्वय र सौहार्दपूर्ण व्यवहार आवश्यक छ । हाम्रो देश हामी आफैँले बनाउने हो, देश निर्माणका लागि सीप र क्षमता देखाउन सकेका छैनौँ,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका आन्तरिक मामिला तथा कानुनमन्त्री खनालले प्रदेशको एकल अधिकारमा रहेको यातायात र प्रदेशले आफ्नो क्षेत्रभित्र प्रहरी संचरना निर्माण गर्न पाउने अधिकारमाथि सङ्घीय सरकारले कानुन बनाएर मिच्ने काम गरेको भन्दै सङ्घीय सरकारमा मिचाहा प्रवृत्ति रहेको र प्रदेश तथा स्थानीय सरकारको अधिकारमाथि अङ्कुश लगाउने काम भएको बताउनुभयो । 

दलका शीर्ष नेताहरूसमेत संविधान कार्यान्वयनप्रति उदासीन रहेको भन्दै मन्त्री खनालले भन्नुभयो, “संविधान दिवसमा नेताहरूले वक्तव्य निकालेर र केही व्यक्तिलाई सम्मान र पदक बाँडेर संविधानको मर्म र भावना पूरा हुँदैन ।”

संविधान जारी भएपछिको निर्वाचनबाट झन्डै दुई तिहाइको सरकार बन्यो तर टिकेन, संविधानको रक्षक दलबाट नै संविधानमाथि आक्रमण गरियो भन्दै उहाँले सङ्घीय सरकारले संविधानमा भएको प्रदेशको एकल अधिकार हस्तान्तरण नगरेको र साझा अधिकारको कानुन निर्माण गर्दा समन्वय नगरेको बताउनुभयो ।

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थिति रहेको मञ्चको कार्यक्रममा बाजागाजासहित हेटौँडा बजारमा प्रभातफेरी आयोजना गरिएको थियो ।