नेपाल प्रिमियर लिग (एनपिएल) सकिएको साता पुगे पनि चियाचोक, चौतारीमा त्यसको चर्चा सेलाएको छैन । ‘फेस्टिभल अफ हिमालय’ नाम दिइएको एनपिएलप्रति युवाको आकर्षणले देशलाई नै क्रिकेटमय बनायो ।
नेपाली खेलकुदकै महत्वाकाङ्क्षी र सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगितामा निजी क्षेत्र र कर्पोरेट हाउसको एक अर्ब रुपियाँभन्दा बढी लगानी जुटेको थियो । यसले नेपाली अर्थतन्त्र चलायमान बनाउन एउटा आधार बनेको छ । नेपालमा लगानीको आशा जगाएको छ । युवा खेलाडीलाई खेलकुदमै भविष्य खोज्न उत्प्रेरित गर्दै खेल पर्यटनको सम्भावनातिर समेत सङ्केत गरेको छ । स्टार टेलिभिजनबाट एनपिएल लाइभ हुनु अर्को सुखद पक्ष हो । न्युजिल्यान्डका क्रिकेटर जिमी निसमको “संसारका सबैखाले फ्रेन्चाइज लिग खेलेँ तर नेपालको जस्तो दर्शक र आतिथ्यता कहीँ भेटिनँ” भन्ने प्रतिक्रियाले एनपिएल सफलताको आकलन गर्न सकिन्छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आयोजित एनपिएलको विजेता जनकपुर बोल्ट्स बनेको छ । रोमाञ्चक फाइनल खेलमा जनकपुर सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै उपाधि चुम्न सफल भएको थियो ।
एनपिएलको पहिलो उपाधि चुमेपछि जनकपुर बोल्ट्सका मालिक अमित श्रेष्ठ भन्नुहुन्छ, “यसले नेपाली क्रिकेटमा जनकपुरको उपस्थिति बलियो हुने छ ।” श्रेष्ठ भन्नुहुन्छ, “फ्रेन्चाइज लिँदा जुन चुनौती थियो । हामी त्यसलाई स्वीकार गरेर उत्रियौँ तर उपाधिले जनकपुरलाई अर्को पहिचान दिएको छ ।”
एनपिएलको लिग चरणदेखि प्लेअफ, क्वालिफायर र फाइनलसम्म विश्वका १५ देशका ४० भन्दा बढी चर्चित क्रिकेटरको खेलमा दर्शकले उत्तिकै साथ दिए । क्यानको आग्रहमा एनपिएलका आठ वटै फ्रेन्चाइज टिमले मन खोलेर आर्थिक लगानी गरे । एनपिएलका संयोजक एवं क्यानका सचिव पारस खड्का सोचेभन्दा बढी एनपिएल सफल भएपछि उत्साहित हुनुहुन्छ । सचिव खड्का भन्नुहुन्छ, “एनपिएल फ्रेन्चाइज टिमले पहिलो संस्करणमै मन खोलेर लगानी गर्नु नेपाली क्रिकेटका लागि सुखद क्षण हो ।” सचिव खड्का फ्रेन्चाइज टिमले तत्काल मुनाफा लिन नसके पनि रामो सङ्केत देखिएको बताउनुहुन्छ ।
सय करोडको कारोबार
क्यानले एनपिएलमा अनुमानित कारोबार सय करोड (एक अर्ब) माथि गरेको छ । यद्यपि एनपिएलमा आम्दानी, खर्च र लगानी तथा टिकटबाट प्राप्त रकमको यकिन हिसाब सार्वजनिक भएको छैन ।
एनपिएलको टिम खरिद गर्न फ्रेन्चाइजी टिमबिच होडबाजी नै भयो । एउटा फ्रेन्चाइजीले टिम लिन मात्र तीन करोड ५७ लाख रुपियाँसम्म खर्च गरेका थिए । एनपिएल र फ्रेन्चाइजीलाई प्रायोजन गर्न कर्पोरेट हाउस पनि खुलेर अघि सरे । सिद्धार्थ बैङ्कले मात्र एनपिएलको मुख्य प्रायोजकका रूपमा क्यानलाई वार्षिक चार करोड रुपियाँ दिने गरी पाँच वर्षका लागि २० करोड रुपियाँ लगानी सुनिश्चितसहितको सम्झौता गरेको छ । एनपिएलमा एनसेल, नेपाल टेलिकम, अन्य बैङ्क तथा वित्तीय संस्था, अटोलगायत सङ्घसंस्थाको प्रायोजन हिस्सा पनि ठुलो रहेको छ । एनपिएलमा फ्रेन्चाइजी टिमबाट मात्र क्यानले १६ करोड ८८ लाख ९३ हजार रुपियाँ कमाएको थियो । क्यानले एनपिएलको ‘स्ट्राटेजिक एन्ड कमर्सियल राइट्स’ को अधिकार ब्रान्ड डिजिटललाई बोलकबोलमार्फत पाँच करोड ९२ लाख रुपियाँमा बेचेको थियो । एनपिएल अवलोकनका लागि कीर्तिपुरमा करिब एक लाख २० हजार दर्शक झुम्मिएका थिए । क्यानले दर्शक टिकटबाट मात्र करिब पाँच करोड रुपियाँ आम्दानी गरेको छ । एउटा फ्रेन्चाइज टिमले खेलाडीलाई दिने पारिश्रमिक, होटल र बसोबास, खेलका लागि तयारी पोसाकलगायत व्यवस्थापन गर्न सातदेखि १० करोड रुपियाँसम्म खर्च गरेको छ ।
एनपिएलमा टिम लिन सर्वाधिक रकम खर्च गर्नेमा पोखरा एभेन्जर्स अगाडि थियो । सुबोध त्रिपाठी मालिक रहेको पोखराले फ्रेन्चाइज लिन मात्र तीन करोड ५७ लाख रुपियाँ खर्चिएको थियो । काठमाडौँ गुर्खाजले तीन करोड ३३ लाख ३३ हजार ३३९, जनकपुर बोल्ट्सले दुई करोड पाँच लाख र लुम्बिनी लायन्सले एक करोड ८६ लाख रुपियाँ खर्चिएर फ्रेन्चाइज लिएका थियो ।
काठमाडौँ गुर्खाज उपेन्द्र महतो, अरुण सर्राफ र कैलाश सिरोहियाको स्वामित्वमा रहेको छ । त्यस्तै जनकपुर बोल्ट्स अमित श्रेष्ठ र लुम्बिनी लायन्स ईश्वर जिसीको स्वामित्वमा रहेको छ । हरिशचन्द्र न्यौपाने र आयुष न्यौपाने स्वामित्वको चितवन राइनोजले एक करोड ७६ लाख एक हजार रुपियाँ, स्वतन्त्रप्रताप शाह स्वामित्वको सुदूरपश्चिम रोयल्सले एक करोड ६८ लाख ८८ हजार ८८८, पारस लुनिया स्वामित्वको विराटनगर किङ्ग्सले एक करोड ५१ लाख र झनकदत्त खनाल एवं गृहेन्द्र घिमिरे स्वामित्वको कर्णाली याक्सले एक करोड ११ लाख ७० हजार रुपियाँ खर्चिएर फ्रेन्चाइज लिएका थिए । आठ वटा टोलीमा अनुबन्ध भएका नेपाली क्रिकेट खेलाडीले दुई लाखदेखि २० लाख रुपियाँसम्म आकर्षक पारिश्रमिक पाएका थिए । युवा व्यवसायी शिशिर पछाईका अनुसार एनपिएलको समयमा पाँचतारे होटलसहित साना गेस्टहाउस महिनाभर खचाखच भएका थिए । क्रिकेटमा मुख्य कुरा दर्शक हो । नेपालको जस्तो ग्रासरुट दर्शक विश्वमा कहीँ कतै छैन । यो खेलकुदको सम्पत्ति हो । दर्शकको उत्साहमै खेलकुदको व्यापार हुने हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपाली क्रिकेटलाई महत्व दिएको कारण पनि दर्शक नै हो ।
टिम बनाउन करोड लगानी
एनपिएलका लागि प्रत्यके फ्रेन्चाइज टिमले एक करोडभन्दा बढी खर्च गरेका थिए । आठ टिमले सुरुमा ‘अक्सन’ (बोलकबोल) बाट ८० खेलाडीका लागि छ करोड रुपियाँभन्दा बढी खर्च गरेका थिए ।
सुरुमा क्यानले आठ टिमका प्रत्येक मार्की खेलाडीका लागि टिम मालिकले जनही २० लाख रुपियाँ पारिश्रमिक दिने नियम बनाएको थियो । त्यसपछि ‘अक्सन’ मा रहेका ८० खेलाडीका लागि प्रत्येक टिमले ‘ए’ श्रेणीका खेलाडीलाई १० देखि १५ लाख, ‘बी’ लाई पाँचदेखि १० लाख, ‘सी’ श्रेणीले दुईदेखि पाँच लाख र ट्यालेन्ट हन्टबाट आएकालाई दुई लाखदेखि माथि रुपियाँ पारिश्रमिक दिइएको थियो । त्यसबाहेक विदेशी खेलाडीलाई अनुबन्ध गरिएको मूल्यबारे टिम मालिकले खुलाएका छैनन् । कर्णाली याक्सले भारतीय क्रिकेटर शिखर धवनलाई एउटा खेल खेलेको ३० हजार अमेरिकी डलर दिएको उल्लेख गरेको थियो । धवन कर्णालीका लागि चार खेल खेलेर स्वदेश फर्किएका थिए ।
जनकपुर बोल्ट्सका मालिक अमित श्रेष्ठ भन्नुहुन्छ, “एनपिएलले हामी जस्ता लगानीकर्तालाई उत्साहित बनाएको छ ।” उपविजेता सुदूरपश्चिमका मालिक स्वतन्त्रप्रताप शाह खेलकुदमै लागेर भवष्यि बनाउँछु, जीवन स्थापति गर्छु भन्ने सोच राख्नेका लागि एनपिएल राम्रो प्लेटफर्म भएको प्रतिक्रिया व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामी त्यसैमा खुसी छौँ । नेपाली क्रिकेटको विकासका लागि हामीले एउटा इँटा थप्ने प्रयास गरेका हौँ ।”
सर्वाधिक राशिको खेल
लगानी जस्तै एनपिएलका विजेता टिम र खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिएको छ । विजेता जनकपुर बोल्ट्सले सगरमाथाको कालापत्थरबाट ल्याइएको ढुङ्गाजडित रनिङ ट्रफीसँगै एक करोड १० लाख रुपियाँ पाएको छ । यो नेपालको टिम गेममा हालसम्मकै सर्वाधिक राशिको पुरस्कार हो । उपविजेता सुदूरपश्चिमले ५१ लाख, तेस्रो कर्णाली याक्सले २५ लाख र चौथो बनेको चितवन राइनोजले १५ लाख रुपियाँ पाएको छ । अन्ततः एनपिएलको ट्रफी जनकपुर बोल्ट्सले चुम्यो । पहिलो क्वालिफायरसम्म उत्कृष्ट लयमा रहेको सुदूरपश्चिमले मुखमा आएको उपाधि गुमाउन पुग्यो । सुदूरपश्चिमका मालिक स्वतन्त्रप्रताप शाह खेलमा हारजित स्वभाविक भएको बताउनुहुन्छ । एनपिएल फ्रेन्चाइजीहरू लिन होइन केही दिन आएकाले यसमार्फत राम्रा खेलाडी जन्मिऊन् भन्ने उद्देश्य आफ्नो रहेको शाह बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीले अपेक्षा गरेभन्दा धेरै राम्रो भएको छ । देशका लागि केही गरौँ भन्नेका लागि लगानी गर्न थप उत्साहित बनाएको छ ।” अस्ट्रेलियामा क्रिकेट क्लब सञ्चालन गर्दै आएका शाह त्यहाँ जागेको व्रिmकेट व्रmेजले नै आफूलाई एनपिएलसम्म ल्याएको बताउनुहुन्छ ।