स्वच्छ, सफा र सुन्दर सहरका लागि सहरी पार्कको योगदान निकै महत्वपूर्ण हुन्छ । पार्क अर्थात् उद्यानको महìव बहुआयामिक हुन्छ । पार्कभित्रका रुख बिरुवासहितको हरियाली र शुद्ध वातावरणसँगको सामीप्यले मनलाई शान्त राख्न सहयोग पुर्याउँछ । त्यहाँको खुला स्थानमा हल्का व्यायाम र पैदल हिँडाइले शारीरिक स्वस्थतामा पनि वृद्धि गराउँछ ।
खास गरी ज्येष्ठ नागरिकका लागि विश्राम स्थलका रूपमा पनि पार्कको महत्व हुने गर्दछ । यहाँ आफ्ना सहपाठीसँग अनुभव र दुःखसुखका कुराकानी गरी मनलाई शान्त र हल्का बनाउन सकिन्छ । फुर्सदको समयमा पार्कभित्रको हरियाली वातावरणले मनलाई आनन्द दिन्छ । पार्कभित्रको बसाइले छिमेकी र आफन्तबिच सामीप्य बढाउन, सामाजिक विषयमा छलफल गरी विचार आदानप्रदान गर्न अवसर मिल्दछ । यसले सामाजिक सामीप्यमा वृद्धि गराउन सहयोग पु¥याउँछ ।
त्यसबाहेक पार्कहरू मनोरञ्जन स्थलका रूपमा पनि प्रयोग गरिन्छन् । कुनै पार्कमा खेलकुदका लागि पनि स्थान छुट्याइएको हुन्छ । ‘पिकनिक’ स्थलका रूपमा पनि छुट्टै स्थानको व्यवस्था गरिएको हुन्छ । त्यसै गरी केटाकेटीको मनोरञ्जनका लागि बाल उद्यानको व्यवस्था गरिएको हुन्छ । हरियालीको व्यवस्थापनले पार्कलाई जैविक विविधता संरक्षण स्थलका रूपमा पनि विकसित गरेको देखिन्छ । पार्कभित्र रहेका स्थानीय प्रजातिका रुखबिरुवा र अन्य आकर्षक बोटबिरुवाले जैविक विविधता संरक्षण र हरियालीको जगेर्नासमेत गरेको हुन्छ । पार्कभित्रको हरियालीले पार्कको वातावरण सुन्दर र स्वच्छ राख्नका साथै सहरको वायु प्रदूषणको मात्रा न्यूनीकरण गरेर सहरी वातावरणलाई सुधार गर्नमा सहयोग पु¥याउँछ ।
पार्कमा विभिन्न सुविधा थपी आकर्षक बनाएर सेवा प्रदान र उचित व्यवस्थापन गर्न सके यसले आगन्तुकलाई आकर्षण गर्दछ र आन्तरिक पर्यटनमा सहयोग पु¥याउँछ । यसमा प्रवेश शुल्क लगाएर आम्दानी पनि लिन सकिन्छ र यसैबाट पार्कको व्यवस्थापनमा सहयोग पुग्दछ ।
सहरमा हरियाली
हरियालीको व्यवस्थापन पार्कको महत्वपूर्ण पाटोमध्ये एक हो । नेपालमा हरियालीको सुरुवात कहिलेदेखि भयो भन्ने विषय महत्वपूर्ण छ । नेपालको कुरा गर्दा पहिला काठमाडौँलाई नै नेपाल भन्ने गरिन्थ्यो । काठमाडौँ एउटा पुरानो ऐतिहासिक सहरका रूपमा चिनिन्छ । सहरको विकास सँगसँगै सडक, दरबार, भवन बन्दै गएपछि हरियाली सौन्दर्यताको महत्व पनि बढ्न थाल्यो । विस्तारै आजको काठमाडौँमा हरियालीको स्वरूप लिँदै गयो । काठमाडौँ उपत्यकाका सहरको हरियालीको कुरा गर्दा यसको विकास कसरी र कोबाट भयो भन्ने खासै ऐतिहासिक प्रमाण भेटिँदैनन् । तथापि केही ऐतिहासिक तथ्यले के देखाउँछ भने सडकका विभिन्न स्थानमा हरियालीको सुरुवातको कार्य १४ औँ शताब्दीबाट सुरु भएको देखिन्छ । राजा जयस्थिति मल्लको शासनकालदेखि हरियालीको सुरुवात भएको देखिन्छ । उनले सन् १३८० देखि १३९५ सम्म काठमाडौँमा शासन गरेका थिए । त्यतिबेला खास गरी चौतारा, पाटीपौवातिर पिपलका रुख लगाएका भन्ने देखिन्छ । राजा जयस्थिति मल्लले सडकका रुखहरू काटेमा त्यसबेलाको पाँच रुपियाँ जरिबाना र जेल सजायसम्म तोकेको तथ्य भेटिन्छ । त्यसैले उनी सहरी हरियालीतिर केही चासो राख्दथे भन्ने लाग्दछ ।
त्यसपछि राणा शासनको समयमा काठमाडौँमा हरियालीको सुरुवात भएको देखिन्छ । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायतको भ्रमण गरेपछि त्यहाँको हरियालीले प्रभावित भई त्यहाँबाट केही बिरुवा ल्याएको भन्ने देखिन्छ । त्यसपछि अन्य राणा प्रधानमन्त्रीले पनि बेलायतको भ्रमण गर्ने अवसर पाए । त्यसमध्येमा चन्द्रशमशेर राणा पनि एक थिए । उनको प्रधानमन्त्रित्वकाल (सन् १९०१–१९२९) मा काठमाडौँमा केही सडकको विस्तार भयो । त्यसका साथै नयाँ दरबार पनि बन्दै गए । दरबारभित्रको हरियाली र सौन्दर्य कायम गर्न र सडकको हरियाली बढाउने कार्यको सुरुवात उनीबाटै भएको देखिन्छ । त्यसै क्रममा उनले मन्की पज्जल, कल्की, काँगियो, मसला, लहरे पिपल जस्ता बिरुवा मगाएर दरबारका बगैँचामा र सडकका किनारामा लगाउन लगाए भन्ने इतिहासमा उल्लेख छ ।
त्यसैबेलादेखि काठमाडौँका सडक किनारामा प्राकृतिकबाहेकका बिरुवा लगाई हरियाली र दरबारको सौन्दर्यीकरणका लागि बगैँचा निर्माण गरी बिरुवा लगाउने कार्यको सुरुवात गरेको पाइन्छ । तत्पश्चात् फूल फुल्ने प्रकारका ज्याकारान्डा, असारे फूल पनि भित्रिए ।
त्यसपछि बिस्तारै काठमाडौँ सहरका सडक किनारामा हरियालीको यात्रा सुरु भएको पाइन्छ । लैनचौर, बालाजु, महाराजगञ्ज, बबरमहल, पुल्चोक आदि स्थानमा आयातित प्रजातिका बिरुवा लगाइयो । राणाकालीन समयमा निर्माण गरिएका दरबारमा युरोपियन शैलीमा बगैँचा निर्माण भए । ती बगँैचामा पनि विदेशबाट मगाइएका बिरुवाले सजाइए । सन् १९०८ मा निर्माण भएको सिंहदरबारको बगैँचा यसको एक उदाहरण हो । त्यसपछि सन् १९२० मा केशरशमशेर जबराले केशर महलभित्र निर्माण गरेको ऋतु बगैँचा पनि निकै नाम चलेको बगैँचा थियो ।
नेपालमा पार्कको सुरुवात
नेपालको पहिलो पार्कका रूपमा भूगोल पार्कको नाम आउँछ । १९९० सालको भूकम्पका बेला मृत्यु हुनेको सम्झनामा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर जबराले भूगोल पार्कको निर्माण गर्न लगाएको देखिन्छ । त्यसपछि पञ्चायतकालमा केही पार्कको निर्माण भएको देखिन्छ । तत्कालीन राजा महेन्द्र वीरविव्रmम शाहदेवले २०१९ सालमा रानी रत्नराज्यलक्ष्मी देवी शाहको नाममा रत्नपार्क बनाए । हाल शङ्खधर उद्यानको नाममा यो सञ्चालनमा छ । सहरको केन्द्र भागमा रहेकाले यो पार्क निकै व्यस्त पार्कका रूपमा चिनिन्छ ।
२०२९ सालमा राजा त्रिभुवन वीरविक्रम शाहदेवको नाममा थानकोटमा त्रिभुवन पार्कको निर्माण गरियो । यो पार्क नै काठमाडौँ उपत्यकाको सबैभन्दा ठुलो क्षेत्रफल भएको पार्कमध्ये पर्दछ । यो पार्क खागसरी ‘पिकनिक’ का रूपमा बढी प्रयोग भएको देखिन्छ ता पनि यहाँ अन्य मनोरञ्जन तथा खेलकुदका लागि पनि खुला स्थलको व्यवस्था गरिएको छ । प्राकृतिक हरियाली र वनस्पति विविधता यहाँको अर्को विशेषता हो । काठमाडौँको चोभार एक ऐतिहासिक स्थल हो । मञ्जुश्रीले तरबारद्वारा चोभारको डाँडा काटेर पानीको निकास दिलाइदिएपछि काठमाडौँ सहरको विकास भएको किंवदन्ती छ । त्यसैले यहाँ तिनै मञ्जुश्रीको नामबाट पार्क निर्माण गरिएको छ । ऐतिहासिक चोभार गल्छी, नेपालको पहिलो पुरातात्त्विक झोलङ्गे पुल, जलविनायक मन्दिर यस पार्कका विशेषता हुन् । यस पार्कसँगै जोडिएको जलविनायक सामुदायिक वन उपभोक्ता समितिले निर्माण गरेको पार्कमा मञ्जुश्रीको प्रतिमा स्थापना गरिएको छ ।
बालाजु बाइसधारा उद्यान काठमाडौँभित्रको एक महत्वपूर्ण पार्कका रूपमा चिनिन्छ । यो उद्यानले करिब १६२ रोपनी क्षेत्रफल ओगटेको बताइन्छ ।
यसको इतिहास केलाउँदा राजा प्रताप मल्ललाई बुढानीलकण्ठस्थित विष्णु भगवान्को मूर्तिको दर्शन गर्न नहुने र गरेमा अनिष्ट हुने सपना आएपछि उनले सन् १६६० मा त्यस्तै आकारको बाल नीलकण्ठ भगवान्को मूर्ति यहाँ बनाउन लगाएपछि यस स्थानको नाम बालाजु रहन गएको हो भनिन्छ । पछि राजा जयप्रकाश मल्लले सन् १७३६ तिर पोखरी निर्माण गरी उक्त पोखरीबाट आएको पानीलाई निकास दिन २१ वटा ढुङ्गेधाराको निर्माण गरेको इतिहास छ । त्यसको केही वर्षपछि राजा रणबहादुर शाहले एउटा ठुलो ढुङ्गेधारा थपी बाइसधारा पु¥याएका थिए । त्यसपछि यस स्थानको नाम बालाजु बाइसधारा रहन गएको हो भनिन्छ । चैत शुक्लपक्षको पूर्णिमामा यहाँ नुहाउनाले गोसाइँकुण्ड र मुक्तिनाथमा नुहाए बराबरको पुण्य प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । २०२१ साल ज्येष्ठ २९ गते तत्कालीन राजा महेन्द्र वीर विक्रम शाहदेवको ४५ औँ शुभ जन्मोत्सवका अवसरमा तत्कालीन प्रधानमन्त्री तुल्सी गिरीले बालाजु बाइसधारा उद्यानको उद्घाटन गरेका थिए । बगैँचाको स्वरूप, झरना र विभिन्न आकारका पोखरी यहाँका आकर्षक संरचना हुन् । त्यसका साथै यहाँ पौडी पोखरी (स्विमिङ पुल) को पनि सुविधा छ । नागार्जुन वनको फेदमा रहेकाले यहाँ हरियाली र वानस्पतिक विविधताले पनि आगन्तुकको मन लोभ्याउने गरेको देखिन्छ । पाँच दशकअघिको यो गीतले पनि सो क्षेत्र आन्तरिक पर्यटनको प्रमुख गन्तव्य थियो भन्ने थाहा हुन्छ :
बालाजुमाथि हो नि नारान साइँली र माइलीको ताँती
एउटी आउँछु भन्थी रेसमी चुल्ठो बाटी
काठमाडौँमा पछिल्ला समय पार्क, आइल्यान्ड बन्ने क्रम बढ्दो छ । कतिपय पार्क र आइल्यान्डको उचित व्यवस्थापन नहुँदा मासिएका पनि छन् । नदी उकासमा बनाइएका कतिपय पार्क बाढीले पुर्दै पनि आएको छ । युएन पार्क, राष्ट्रिय सहिद स्मारक तथा शान्ति पार्क, शङ्ख पार्क, शङ्खमूल पार्क, शङ्खमूल योगा पार्क आदि छन् । शङ्खको आकर्षक मूर्तिसहितको शङ्खमूल पार्क, नेपाली गैरआवासीय सङ्घको सहयोगमा बनेको छ । अन्य पार्कमा स्वयम्भू बुद्ध पार्क, नक्साल नारायणचौरको नन्दकिशोर बगैँचा (नारायणचौर पार्क), ओमशान्ति पार्क, भृकुटीमण्डप उद्यान, स्विट्जरल्यान्ड पार्क, श्री सत्य साई बागमती उद्यान, कालिका पार्क, रानीवन पार्क, मनोहरा रिभर पार्क, नेपाल झन्डा पार्क, लोकतान्त्रिक सहिद वन उद्यान (काग उद्यान), अर्धनारेश्वर फिकल पार्क, नगरकोटको बुद्ध शान्ति पार्क, भक्तपुरको सहिद स्मृति पार्क पनि छन् । त्यस्तै गरी दिवङ्गत नेताका नाममा मदन भण्डारी स्मृति पार्क, गणेशमान सिहं पार्क, मनमोहन पार्क, बिपी पार्क आदि पार्क पनि निर्माण भएका छन् ।
अन्यत्रका पार्क
सहरीकरणका लागि निर्माण कार्य पनि तीव्र रूपमा हुँदै जानु र सहरमा रहने बासिन्दाको सङ्ख्यामा वृद्धि हुँदै जानु, सुख सुविधाका लागि सवारीसाधनको सङ्ख्यामा वृद्धि हुनु जस्ता कारणले सहरको वायु र वातावरणमा प्रदूषणको मात्रामा वृद्धि हुन गई मानव समुदायका लागि शुद्ध हावा तथा प्रदूषणरहित वातावरणको व्यवस्था गर्न निकै जटिल हुनु स्वाभाविकै हो । तसर्थ यसलाई न्यूनीकरण गर्न सहरमा पार्कको व्यवस्था हुनु आवश्यक देखिन्छ । त्यसै कारण पनि राजधानी सहर काठमाडौँमा बहुसङ्ख्यामा पार्क निर्माण गरिएका छन् । अन्य सहरमा पनि धेरै पार्क निर्माण गरिएका छन् । पूर्वमा इटहरीको तालतलैया पार्क, धरानको ब्रिटिस गोर्खा स्मृति पार्क, ओशो पार्कलगायत जनकपुरधामको श्रीराम पार्क, हेटौँडाको सहिद स्मारक पार्क, पोखराको वसुन्धरा पार्क, भैरहवाको दरखसवा पार्क, बुटवलको मणिमुकुन्द सेन पार्क, मिलन पार्क र हिल पार्क, दाङ घोराहीको त्रिभुवन पार्क, नेपालगन्जको महेन्द्र पार्क, सुर्खेतको बुलबुले उद्यान, टीकापुरको टीकापुर पार्क र महेन्द्रनगरको भीमदत्त पार्क आदि प्रमुख पार्क छन् ।