• १३ साउन २०८१, आइतबार

घटस्थापनादेखि कोहलपुरमा अर्ग्यानिक खाद्य पसल

blog

खाद्य पसल राख्ने कोहलपुरस्थित हाम्रो कृषि सहकारी संस्था । तस्विर : सिराज खान/नेपालगञ्ज

सिराज खान
नेपालगञ्ज, असोज ३ गते । 
कर्णाली प्रदेशका विभिन्न जिल्लामा पाइने अर्ग्यानिक खाद्य सामग्री दशैँ तिहारका बेला कोहलपुरमै सहज र सरल रूपमा पाइने भएको छ ।

कर्णालीका अर्ग्यानिक खाद्यान्नको माग बाँकेमा अत्यधिक रहेकाले दशैँ तिहारलाई लक्षित गरेर कोहलपुरमा हाम्रो कृषि सहकारी संस्थाले अर्ग्यानिक खाद्य पसल सञ्चालन गर्ने भएको हो ।

संस्थाको कार्यालय परिसरमै सञ्चालन गरिने सो खाद्य पसलमा हुम्ला, जुम्ला, मुगु, डोल्पालगायतका जिल्लामा उत्पादन हुने अर्ग्यानिक खाद्यान्न सुपथ मूल्यमा बिक्री गरिने हाम्रो कृषि सहकारी संस्था कोहलपुरका अध्यक्ष कर्णबहादुर बस्नेतले बताउनुभयो ।

बस्नेतका अनुसार पसलमा कर्णालीका विभिन्न जिल्लामा पाइने चिनो, कागुनो, अचार खाने भाङ्गो, टिम्मुर, घ्यु, घट्टमा पिसेको मकैको पिठो, कोदाको पिठोलगायत  विभिन्न रैथाने जातका चामलहरू मार्सी, जरन फापर, कालो चुक, बेसार आदि उपलब्ध रहने छ ।

दशैँको अवसर पारेर घटस्थापनाका दिन शुभारम्भ हुने सो अर्ग्यानिक पसलमा संस्थाले करिब ५० लाखलागतमा खाद्य सामान राख्न लागेको जनाइएको छ । पछिल्लो समय विषादीयुक्त तथा हाइब्रेड खाद्यान्नले नागरिकहरूको स्वास्थ्यमा गम्भीर असर गरेको अवस्थालाई मध्य नजर गरी अर्ग्यानिक र स्वास्थ्यवर्द्धक खाद्यान्न राख्न लागिएको अध्यक्ष बस्नेतले जनाउनुभयो ।

सहकारीले खाद्यान्नसँगै घुम्ती तरकारी सङ्कलन केन्द्र निर्माण गरी किसानको तरकारी घरैबाट खरिद गरी बजारीकरण गर्ने लक्ष्य समेत रहेको उहाँले जानकारी दिनुभयो ।

सो सहकारीले कृषि सहकारी भूमि व्यवस्था मन्त्रालयको सहयोगमा कोहलपुर ११ विद्युत् रोडदेखि पश्चिमतर्फ तरकारी हाट बजार समेत सञ्चालन गर्ने तयारी गरिरहेको संस्थाले जनाएको छ ।