• १२ पुस २०८१, शुक्रबार

सुशील कोइरालालाई नेपाल रत्नः आश्रित, रेग्मी र जोशीलाई राष्ट्र गौरव पदक

blog

सुशील कोइराला, जीवराज आश्रित, खिलराज रेग्मी र सत्यमोहन जोशी । फाइल तस्बिर

काठमाडौं, असोज  ३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गर्नुभएको छ । कोइराला नेपालको संविधान जारी गर्दा देशको प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा संविधान जारी भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संविधान दिवसका अवसरमा विभिन्न महानुभावहरुलाई मानपदवी अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गर्नुभएको छ । नेपाल रत्न नेपालको सर्वोच्च मानपदवी हो । 

त्यसैगरी, राष्ट्र गौरवबाट राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने [आश्रित], मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मानित गर्ने घोषणा भएको छ ।

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँहरुसहित विभिन्न ९९८ जना महानुभावहरुलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गर्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णय अनुसार राष्ट्रपतिले सो घोषणा गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।