• १३ असोज २०८१, आइतबार

यस कार्यकालमा अभूतपूर्व काम भयो : सभामुख सापकोटा

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज १ गते । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको यस कार्यकालमा राष्ट्रियताका सवालमा अभूतपूर्व काम भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आज शनिबार बसेको संसद् अधिवेशनको अन्तिम बैठकमा सभामुख सापकोटाले सो कुरा बताउनुभएको हो । 

विभिन्न आरोह अवरोह, उल्लेखनीय मोडहरू पार गर्दै, कतिपय विषयमा इतिहास रच्दै, कैयौँ अहम् विषयलाई निष्कर्षमा लगेर काम गरिएको उहाँले बैठकमा जानकारी गराउनुभयो । “यस अवधिमा सङ्घीय संसद्, प्रतिनिधि सभालाई जीवन्त र जनमुखी बनाउने अठोटका साथ गरिएका पहल र प्रयत्नहरूमा माननीय सदस्यहरूबाट प्राप्त विश्वास र सहयोगका लागि विशेष आभार व्यक्त गर्दछु” उहाँले भन्नुभयो । 

“प्रतिनिधिसभाको यस कार्यकालमा हामीले राष्ट्रियताका सवालमा अभूतपूर्व कार्य गरेका छौँ । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा जारी गर्ने सन्दर्भमा सङ्घीय संसद्, प्रतिनिधि सभामा दलहरुबीच देखिएको अभूतपूर्व एकताको प्रदर्शन सदा स्मरणीय रहने छ” उहाँले भन्नुभयो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड १९ का कारण उत्पन्न सङ्कटका बेलामा समेत तोकिएका जनस्वास्थ्यका मापदण्डहरू पालना गर्दै बैठक सञ्चालन गरी जनताका सवालहरूमा काम गरेको उहाँले बताउनुभयो ।   

सभामुखको अध्यक्षतामा बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा उपस्थिति, सक्रिय सहभागिताका लागि उहाँले सांसदहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । सङ्घीय संसद् र सातवटै प्रदेशका प्रदेशसभा सञ्चालन सम्बन्धी अनुभव आदान प्रदान एवं अन्तरक्रिया र ती कार्यक्रमबाट आएका निष्कर्षले संसद्लाई थप जीवन्त र जनमुखी बनाउन सहयोग पुगेको उहाँले विश्वास व्यक्त गर्नुभयो ।